शहीद परिवारसँग अनैतिक सम्बन्धको आरोपमा कारबाहीमा परेकाहरूले गलत प्रचार गरे : सांसद दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सिन्धुली क्षेत्र नम्बर २ का सांसद राजन दाहालले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गरिएको भ्रामक प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनअघि सार्वजनिक भएपछि सांसद दाहाल प्रचण्डको पक्षमा उभिएका थिए। त्यसपछि शर्मा समर्थकहरूले दाहालविरुद्ध विभिन्न टिप्पणी गरेका थिए। दाहालले यस्ता आधारहीन र भ्रामक प्रचारप्रति आपत्ति जनाएका हुन्।
उनले विगतको घटनालाई नबुझी कतिपयले आधारहीन सामग्रीलाई समाचारको रूपमा प्रस्तुत गरेको भन्दै आलोचना गरेका छन्। जनयुद्धकालमा आत्मसमर्पण गरेको आरोप लगाउँदै उनका विरोधीहरूले सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेका छन्।
सांसद दाहालका अनुसार, माओवादी जनयुद्धका बेला वि.सं. २०५३ माघ १ मा सिन्धुलीगढी प्रहरी चौकी आक्रमणको विषयमा हातहतियार खरखजाना मुद्दामा उनी सिन्धुली, काठमाडौं र वीरगञ्ज जेलमा सजाय भोगेर २०५५ चैत २७ मा दुई वर्षको जेल सजाय र ६ हजार जरिवाना तिरेर आफ्ना बुबा लिलानाथ दाहालको रोहबरमा थुनामुक्त भएका थिए। त्यसपछि उनले पार्टीले दिएको जिम्मेवारीमा खटिएर काम गरेका थिए। तर, यो घटनालाई अहिले आएर उनका विरोधीहरूले आत्मसमर्पणको रूपमा तोडमोड गरी हल्ला फैलाएको उनको भनाइ छ।
दाहालले हाल पार्टी अनुशासन उल्लंघन र शहीद परिवारसँग अनैतिक सम्बन्धको आरोपमा कारबाहीमा परेका केही व्यक्तिहरूले पुरानो घटनालाई तोडमोड गरी सामाजिक सञ्जालमा भ्रामक स्टाटस लेखेर आफूलाई बदनाम गर्ने प्रयास गरेको बताए। उनले यस्ता स्टाटसलाई आधार बनाएर केहीले समाचार बनाएकोमा गम्भीर आपत्ति जनाएका छन्।
सांसद दाहालले भने, “यो मुद्दासँग मेरो कुनै प्रत्यक्ष सम्बन्ध छैन। यस्ता भ्रामक प्रचारप्रति मेरो गम्भीर आपत्ति छ। सबैलाई सत्य बुझ्न र यस्ता भ्रममा नपर्न अनुरोध गर्छु।”
षड्यन्त्रकारीहरूको कुरूप प्रचारको भण्डाफोर
नेकपा (माओवादी केन्द्र) का नेता तथा सिन्धुली क्षेत्र नं. २ का सांसद राजन दाहालमाथि हालै सामाजिक सञ्जाल र केही मिडियामा लगाइएका आरोपहरूलाई लिएर सर्वत्र बिरोध सुरु भएको छ । माओवादी जनयुद्धको गौरवमय इतिहास र सामाजिक न्यायको संघर्षमाथि अपमानजनक प्रहार गरेको भन्दै सर्वत्र आलोचना भइरहेको हो । यस्ता कुप्रचारहरूले क्रान्तिकारी नेताहरूको चरित्र हत्या गरी जनयुद्धले स्थापित गरेको समानता र न्यायको आधार कमजोर पार्ने प्रयास गरेको, यसले युगकै अपमान गरेको प्रतिक्रियाहरु सार्वजनिक भएका छन् ।
माओवादी जनयुद्धको ऐतिहासिक योगदान
माओवादी जनयुद्ध (२०५२–२०६३) ले नेपालको सामाजिक, आर्थिक र राजनीतिक परिदृश्यमा अभूतपूर्व परिवर्तन ल्यायो। यस आन्दोलनले जातीय, क्षेत्रीय, लैङ्गिक र भाषिक विभेदमाथि निर्मम प्रहार गर्दै शताब्दीयौँदेखि शोषित र उपेक्षित समुदायलाई आवाज दियो। जनयुद्धले सामन्ती शासक वर्गको एकलौटी वर्चस्वलाई चुनौती दिँदै उत्पीडित वर्गलाई सशक्त बनायो र गणतन्त्र, समावेशिता तथा सामाजिक न्यायको आधार तयार गर्यो।
शुरुवाती चरणमा जनवादी कारबाहीमार्फत सामाजिक अपराध र शोषण नियन्त्रण गर्ने प्रयास भयो भने, पछि संसदमार्फत ती परिवर्तनलाई वैधानिकता प्रदान गरियो। यदि जनयुद्ध भएको थिएन भने, नेपालमा सामन्ती बिगबिगी यथावत् रहने थियो। भौतिक विकास सीमित सहर र शक्तिशाली वर्गसम्म मात्र सीमित हुने थियो भने ग्रामीण तथा दुर्गम क्षेत्र उपेक्षित नै रहने थिए।
२०५९ साल जेठ ४ गतेको एउटा कहालि लाग्दो घटना । त्रियुगा नगरपालिका—तत्कालीन वडा नं. ६ (हाल २), खैजनपुरमा बिनोद प्रसाद पोखरेल र खड्गबहादुर राउतलाई संयुक्त सुरक्षा फौजले समाजकै अगाडि अपहरण गरी अज्ञात स्थानमा हत्या गरेको घटनाले यस्तो दमनकारी यथार्थलाई प्रष्ट पार्दछ । राज्य (हत्यारा)ले पीडित परिवारलाई हरतरहले आतंकित गराई उनीहरूको मनोबल तोड्ने प्रयास गर्यो, तर अपराधीहरू सजायको भागीदार बनेनन् । यो त हजारौ मध्यको एउटा घटना मात्र थियो ।
भ्रामक आरोपहरूबारे राजन दाहाल
माओवादी जनयुद्धका एक समर्पित योद्धा राजन दाहाल, जसले सामाजिक न्याय र समानताका लागि आफ्नो जीवन समर्पित गरेका छन्, आज सामन्ती सोच राख्ने शक्तिहरूबाट तुच्छ र भ्रामक आरोपहरूको सिकार बनेका छन्। सामाजिक सञ्जाल र केही मिडियामा उनलाई आत्मसमर्पण गरेको र शहीद परिवारसँग अनैतिक सम्बन्ध राखेको जस्ता कपोलकल्पित आरोपहरू लगाइएको छ।
२०५३ माघ १ मा सिन्धुलीगढी प्रहरी चौकीमाथिको आक्रमणसम्बन्धी मुद्दामा उनी २ वर्ष जेलमा रहे, र २०५५ मा ६ हजार जरिवाना तिरेर रिहा भएका थिए। तर आज त्यही घटनालाई तोडमोड गर्दै आत्मसमर्पणको रूपमा प्रचार गरिएको छ।
षड्यन्त्रको नियत
यी भ्रामक आरोपहरूले देखाउँछ कि सामन्ती शक्तिहरू जनयुद्धको इतिहासलाई धमिल्याउन खोजिरहेका छन्। दाहालजस्ता नेतामाथि चरित्र हत्या गर्नु भनेको सामाजिक न्याय र समानताको विरासतमाथि प्रहार गर्नु हो।
राजन दाहालको आह्वान
“म सबै सचेत नागरिकहरू, माओवादी आन्दोलनका समर्थकहरू तथा सामाजिक न्यायका पक्षधरहरूलाई यस्ता भ्रामक प्रचारको पछि नलाग्न र सत्य बुझ्न आग्रह गर्दछु।”
हामीले सामन्ती शक्तिहरूको यो कुरूप षड्यन्त्रलाई भण्डाफोर गर्नुपर्छ र जनयुद्धले ल्याएको समानता, न्याय र सशक्तीकरणको विरासतलाई जोगाउनुपर्छ।
सत्यको जय होस्, सामाजिक न्यायको विजय होस्! — राजन दाहाल (सांसद, सिन्धुली क्षेत्र नं. २)
” “राजन दाहाल र जनयुद्ध”