स्थानीयले निःशुल्क जग्गा दिएपछि गल्छी–४ को वडा कार्यालय आफ्नै भवनमा सर्ने तयारी
नेपालको इतिहासमा पहिलो पटक वि.सं. २०७२ साल असोज ३ गते संविधानसभामार्फत नेपाली जनताका लागि नेपाली जनता नै पूर्ण सार्वभौम रहने तथा जनतामै सम्पूर्ण शक्ति निहित हुने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको थियो।
तर संघीयता कार्यान्वयनमा आएको यतिका वर्ष बितिसक्दा पनि गल्छी गाउँपालिका–४ नं. वडाको आफ्नै जग्गामा वडा कार्यालय भवन निर्माण हुन नसक्नुमा विभिन्न कारणहरू रहेका थिए।
जनताको लामो प्रयासपछि वडा कार्यालय स्थानान्तरणको प्रक्रिया अघि बढेको छ। स्थानीय बासिन्दा तथा जग्गादाताहरूको सहमति र सिफारिसका आधारमा गल्छी गाउँपालिका–४ नं. वडा कार्यालय आफ्नै भवनमा सर्ने बाटो खुलेको हो।
वडा कार्यालयका लागि निःशुल्क रूपमा जग्गा उपलब्ध हुने र भवन निर्माणका लागि गाउँपालिकाले बजेट व्यवस्थापन गर्ने सहमति भएपछि हाल अदुवाबारीमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको वडा कार्यालय चिरौदी भन्ज्याङमा सार्ने प्रक्रिया अघि बढेको छ।
अदुवाबारीस्थित कार्यालय बहुसंख्यक नागरिकका लागि अपायक रहँदै आएको थियो। साथै, उपयुक्त जग्गाको अभाव र सर्वपक्षीय सहमति नहुँदा लामो समयसम्म ठोस निर्णय हुन सकेको थिएन।
अब भने स्थानीय नागरिकहरूले आफ्नो निजी जग्गा निःशुल्क दान गरेपछि अदुवाबारीबाट चिरौदी भन्ज्याङमा आफ्नै भवन निर्माण गरी वडा कार्यालय स्थापना गर्ने बाटो खुलेको छ।
स्थानीय बासिन्दा रामकृष्ण खड्का र विष्णु खड्काले जनही ८/८ आना तथा होमबहादुर खड्काले २ रोपनी जग्गा प्रदान गरेपछि कुल ३ रोपनी क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण हुने तयारी गरिएको छ।
यस सम्बन्धमा जग्गादाता, वडा समिति र स्थानीय बासिन्दाहरूको संयुक्त सहमति तथा वडाको सिफारिसका आधारमा गाउँ कार्यपालिकाले चिरौदी भन्ज्याङमा भवन निर्माण प्रक्रिया अघि बढाएको बताइएको छ।
देबेन्द्र अधिकारी, हरिकृष्ण अधिकारी, सुमन भण्डारी लगायतका युवा अभियन्ताहरूले जनताको माग पूरा गराउन नियमित संघर्ष,सहकार्य र सहजिकरण गर्दै आएका थिए । निरन्तरको संघर्ष र समन्वयमार्फत वडा कार्यालयको आफ्नै भवन निर्माणमा मात्र हैन सर्वपक्षिय सहमतिको साझा स्थानमा कार्यालय स्थापनाका लागि योगदान गर्न पाएकोमा उनिहरुले खुशी व्यक्त गरेका थिए ।
यद्यपि, यत्रो संघर्ष र सहजताका बाबजुद आफ्नै भवन निर्माणमा किन यस्तो ढिलासुस्ती भयो भन्ने लगायतका विषयमा थप जानकारी लिन गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा र वडा नं. ४ का वडा अध्यक्ष राजु अधिकारीसँग आधिकारिक फोनमार्फत सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर, दुवै जनासँग हाम्रो सम्पर्क हुन सकेन।
सार संक्षिप्त
माघ ५ गते: तीन जना स्थानीयले निःशुल्क जग्गा दिने सहमति गरेका।
माघ १४ गते: वडा समितिबाट निर्णय पारित।
माघ २२ गते: जग्गा व्यवस्थापन भएको जानकारीसहित गाउँपालिकामा पत्र पठाइएको।
२०८२ चैत्र ५ गते: वडा समितिको निर्णय र गाउँसभामा पेशका लागि सिफारिस।
यसरी विभिन्न चरणहरू पार गर्दै स्थानीय नागरिकहरूको सक्रियतामा आफ्नै वडा कार्यालय आफ्नै स्थानमा निर्माण गर्ने प्रक्रिया अघि बढेको छ।



