“आईजीपी दानबहादुरको साथी हुँ, उनले लगाइदिएको हत्कडीले मलाई खुसी दियो” – पत्रकार किशोर श्रेष्ठ
यति भन्न हिचकिचाहट छैन कि अहिलेका प्रहरी प्रमुख दानबहादुर कार्की मेरा स्कुले सहपाठी हुन्। तर हिजो शीतल निवासमा राष्ट्रपतिले बोलाउनुभएको संविधान दिवसको जमघटजस्तो भेलामा आक्कलझुक्कल भेट हुनुबाहेक फोनसमेत उठाउँदैनन्। जसरी सत्ताको आलोचना गरेबापत ‘जनआस्था’सहित अन्य मिडियामाथि धरपकड गर्न महिनौँअगाडि दिइएको मौखिक आदेश तामेल गर्न मानेनन्, त्यसरी नै सत्ता सम्हालेकै दिन आजसम्म पनि अप्रकाशित गौरीबहादुर कार्की आयोगको रिपोर्टका आधारमा भन्दै पुरानो दलका नेताहरूको ‘सेलेक्टिभ’ गिरफ्तारीमा जान उचित नहुने प्रस्ट धारणा राखेर यसबाट आदेशकर्ताहरूलाई नै समस्या पर्न सक्छ है भनी निष्पक्ष सल्लाह दिने हक्की हाकिम पनि हुन्।
“आईजीपी दानबहादुर कार्कीले व्यावसायिक निष्पक्षता देखाउँदै साथीभाइको नाताभन्दा माथि उठेर राज्यको नियन्त्रणमा लिइएका सबै जना बराबर हुन् भन्ने मान्यता स्थापित गरिदिए। समाचार लेखेकै आधारमा पत्रकार गिरफ्तार गर्ने र सञ्चार सामग्री जफत गर्ने कार्यविरुद्ध अदालतले संविधानको रक्षा गर्दै प्रेस स्वतन्त्रताको अधिकारलाई अझ बलियो बनाएको छ।”
अहिले पनि सरकारलाई चाहेको भए साथीलाई नसमाती भगाउन सक्थे, हत्कडी नलगाऊ भन्न सक्थे; तर उनले बिल्कुलै पक्षधरता देखाएनन् र राज्यको नियन्त्रणमा लिइएका सबै जना बराबरी हुन् भन्ने मान्यता स्थापित गरिदिए। पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा माथिको आदेश मान्दै राति झन्डै ५५ जना सादा पोसाकका प्रहरी मलाई पक्रन खटाइदिए। लगातार दुई राति मेरो घर र कार्यालयमा घण्टौँसम्म सूचना सामग्री (ल्यापटप, सीसीटीभी, सीपीयू, मोबाइल) जफत गर्न अनुमति प्रदान गरे।
उनलाई यी सबैथोक गर्न बाध्य तुल्याएर के मिल्यो शासकहरूलाई? के तिनले ‘जनआस्था’को सूचना स्रोत पत्ता लगाउन सके? ‘जनआस्था’को कलमलाई निरुत्साहित गराउन सके? उल्टै आफैँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार सङ्गठनहरूको चर्को खबरदारीमा परे। समाचार लेखेकै बापत कुनै पनि पत्रकारलाई गिरफ्तार र सञ्चार सामग्री जफत गर्न नपाइने संवैधानिक प्रावधान सर्वोच्च, उच्च र जिल्ला तीनै तहका अदालतले सम्झाइदिनुपर्ने तहमा पुगे। दानको सुझाव नै थियो- “मेरो बाल्यकालको साथी हुनुको दोषबापत किशोरलाई थपिथपी मुद्दा थोपर्न सक्नुहुन्छ, तर अदालतले त्यसमा हस्तक्षेप गर्ने सम्भावना प्रबल छ।”
मैले, मेरो परिवार र हाम्रो संस्थागत टिमले यसबीच केही दिन शारीरिक र मानसिक दुःख पायौँ होला, तर यसले सिङ्गो प्रेस जगतको संवैधानिक अधिकारलाई झन् बलियोसँग स्थापित गरिदिएको छ। यस मानेमा हामीलाई खुसी लागेको छ। साथीले पक्षपाती प्रहरी प्रमुख होइन; इमानदार, कर्तव्यनिष्ठ, पेशागत रूपमा खरो र अब्बल आईजीपीका रूपमा समाज र मेरो व्यक्तिगत तर्फबाट अझ उच्च सम्मान पाएको छ।
स्मरण रहोस्, दान कवि हुन्, गीतकार हुन्, कमलो मनका, भुइँ तहबाट उठेका मान्छे हुन्। म ९ कक्षा पढ्दापढ्दै व्यवस्था परिवर्तनको आन्दोलनमा नख्खु जेल पर्दा उनी सामाजिक असमानता र बेथितिविरुद्ध आवाज उठाउने क्रममा प्रहरीद्वारा खोरमा थुनिएर थिल्थिलो हुने गरी कुटिएका ललितपुर माध्यमिक विद्यालयका लजालु छात्र पनि हुन्। कहिल्यै कुनै दलमा नलागी विशुद्ध पोलिसिङमा भिजेका, इन्टरपोलमा खटिएर आफ्नो योग्यता र क्षमता देखाइसकेका उनलाई यस्तो विपद्मा खटिनुपर्ने बेला गलत आरोपमा हुर्मत लिएर, धम्क्याएर, बेइज्जत गरेर मान्यज्यूहरूले कर्तव्यच्युत बनाउन खोज्नुहुन्नथ्यो।
(किशोर श्रेष्ठको फेसबुकबाट साभार)