यो तस्बीर तत्कालीन राजा त्रिभुवनको राज्याभिषेकको बेलाको हो। तस्बीरमा राज्यरजौटा, चौतरिया, साहेबज्यू लगायत छन्। यहाँ हातमा पन्जासहित सैन्य पोशाकमा सजिएर बसेका गोरखा माहिला साहेबज्यू नरेन्द्रविक्रम शाहका जेठा छोरा साहेबज्यू रेतेन्द्रविक्रम शाह हुन्, जसलाई ‘जुनाराजा’ भनिन्थ्यो।
त्रिभुवन जन्मेको झोकमा आफैलाई लोप्पा खुवाउने साहेबज्यू ‘जुनाराजा’
इतिहासकार पुरुषोत्तमशमशेरका अनुसार तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहका जीवित तीन रानीमध्ये कसैतर्फबाट पनि छोरा जन्मेका थिएनन्, छोरीहरूमात्रै जन्मेका थिए। त्यसैले छोरीमात्रै जन्मेको अवस्थामा “कदाचित् छोरा नजन्मेमा राजा पृथ्वीको निधनपछि राजगद्दीमा गोर्खा माहिला साहेबज्यू नरेन्द्रविक्रम शाहको जेठा छोरा साहेबज्यू रेतेन्द्रविक्रम शाह ‘जुनाराजा’ लाई राजसिंहासनमा राख्नुपर्ला” भनी प्रधानमन्त्री चन्द्रशमशेरले सबैसमक्ष मौखिक रूपमा भनेका थिए।
तर केही महिनापछि राजा पृथ्वीकी रानी लक्ष्मीदिव्येश्वरीलाई प्रसूति व्यथा लाग्यो। १९६३ आषाढ १७ गतेका दिन सबै राजदरबारको बैठकमा भेला भए। साहेबज्यू रेतेन्द्रविक्रम ‘जुनाराजा’ पनि उपस्थित भए। सबै जना त्यहाँ भेला भएको केही समयपछि श्री ५ वली अहद अर्थात् ‘गद्दीको हकदार’ (त्रिभुवन) को जन्म भयो भनी सबैलाई सूचित गरियो। त्यसपछि साहेबज्यू रेतेन्द्रविक्रम ‘जुनाराजा’ सन्किँदै २०–२५ पटक आफ्नै मुखमा आफैँले ‘ला तँलाई, ला तँलाई’ भन्दै लोप्पा खुवाउन पुगेका थिए।
रतन भण्डारीको सङ्कलन