Mahesh Bartaula
एमालेका युवा नेता, संसदीय दलका पूर्व मुख्य सचेतक महेश बर्तौलासँग ‘कालो किताब’का लागि पत्रकार सुमोद पोखरेलले गरेको कुराकानीको सारसङ्क्षेप:
महेश बर्तौला एमालेको युवा नेता हुनुहुन्छ। शालीन र भद्रताको एउटा पर्याय पनि हुनुहुन्छ। तपाईँ प्रतिबद्धतापूर्वक आफ्ना शब्द र विचारहरू राख्दै आउनुभएको छ, यो तपाईंको पहिचान हो।
अहिले पछिल्लो समय रास्वपाको सरकार बनेसँगै एकातिर आशा जागेको सन्दर्भ छ भने अर्कातिर निराशा र आशङ्का पनि उत्तिकै व्याप्त छन्। अहिले न्यायालयको सन्दर्भमा विभिन्न कोणहरूबाट प्रश्नहरू उठे। प्रहरी प्रधान कार्यालय नै त्यहाँ जोडिएको विषय छ। प्रधानमन्त्रीको सचिवालय समेत जोडियो भन्ने कुरा छ र यी सबैलाई गोजीमा हालेर हिँड्ने भनिएका एकजना इनम सापकोटा अहिले चर्चामा छन्। यद्यपि उनीमाथि अनुसन्धान राज्यले गरिरहेको विषय छ। यी समग्र विषयवस्तुहरू मैदानमा प्रश्नका रूपमा आउनुको पछाडि राज्यकै निकायहरूबाट सार्वजनिक गरिएका प्रमाणहरू र अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाणहरूलाई आधार बनाइएको छ। सबैभन्दा पहिले यी विषयहरूलाई समग्रतामा कसरी हेर्नुहुन्छ?
महेश बर्तौला: पहिलो कुरा त समाजमा विभिन्न खालका मानिसहरू हुन्छन्। विभिन्न स्वार्थ राखेर हिँड्ने स्वार्थी समूहहरू हुन्छन्। स्वार्थ समूहहरूले राज्यका सबै एकाइ र अङ्गहरूमा आफ्नो प्रभाव राख्ने प्रयत्न गर्छन्, ताकि आफ्ना मिसन र स्वार्थहरू त्यसमार्फत पूरा गर्न सकियोस्। चाहे त्यो राजनीतिक वृत्तमा होस्, गैर-राजनीतिक प्रशासनिक वृत्तमा होस्, न्यायिक वृत्तमा होस् वा सुरक्षा निकायमा होस्, सबै ठाउँहरूमा त्यस्ता समूहहरूले आफ्ना धन्दा र प्रभावका शृङ्खला विस्तार गर्ने प्रयत्न गरेका हुन्छन्। त्यो विश्वव्यापी रूपमा हुन्छ, हाम्रो नेपाली समाजमा मात्र होइन।
यस्ता पक्षहरूबाट जोगिनु र एउटा सीमा निर्माण गर्नु सम्बन्धित राज्यका सबै एकाइहरू वा अधिकारीहरूको कर्तव्य हुन्छ। त्यसमा उनीहरू सचेत हुनुपर्छ। सचेत नहुँदाका परिणामहरू अनेक स्वार्थ पालेर अगाडि बढ्ने व्यक्तिहरूले राजनीतिक, प्रशासनिक, सुरक्षा वा न्यायालयमा पहुँच निर्माण गर्छन्। अहिले जे देखिएको छ, यो चित्र सुखद कुरा होइन। तर यस्ता विषयहरूले स्वाभाविक रूपमा सिङ्गो राज्यका अवयव र अधिकारीहरू सचेत हुने एउटा सकारात्मक पक्ष पनि छ।
तथापि यस्ता व्यक्तिहरू, सामान्यतया उमेरका हिसाबले ३० वर्षको एउटा युवा, उसको उमेर र कनेक्सन (नेक्सस) को अनुपातमा निकै ठूलो अन्तर देखिन्छ। यो पाटोमा राज्यका अङ्ग र अधिकारीहरू सचेत हुनुपर्छ। सचेत नहुँदाका परिणामहरू केही छचल्किएका हुन् भन्ने लाग्छ। कतिपय मानिसहरूको नियत नै खराब हुन्छ। पद, शक्ति र सामर्थ्यलाई आफ्नो हितअनुकूल दुरुपयोग गर्ने प्रयत्न हुन्छ। त्यस्ता व्यक्तिहरूलाई कहिलेकाहीँ यस्ता स्वार्थ समूहहरूले सहज पहुँचमा ल्याउन सक्ने हुन्छ।
सतहमा आएका विषयहरूमा तथ्य र प्रमाणका आधारमा कहीँ कतै दोषी भेटिएको छ भने कानुनबमोजिम कारबाही गरिनु जरुरी छ। स्वार्थ समूहहरूको चंगुलबाट देशको राजनीति र समाज जोगिनुपर्छ। यस्ता प्रवृत्तिहरूलाई निमिट्यान्न पार्न सामूहिक र साझा प्रयत्न गरिनुपर्छ।
बिचौलिया, न्यायालय र सुरक्षा निकायको मर्यादा
प्रश्न: अब न्यायाधीशहरूका केही अभिव्यक्तिहरू बाहिर आएको सन्दर्भ छ। ‘प्रधानमन्त्रीका मान्छे भनेर हामीले निकटता बढायौँ’ भनिरहँदा, त्यो मान्छे प्रधानमन्त्रीको हो कि होइन, राज्यको आधिकारिक व्यक्ति हो कि होइन भन्ने कुरा त आधिकारिक च्यानलबाट स्थापित हुने होला। अनधिकृत व्यक्तिसँग सम्बन्ध विस्तार गर्न न्यायाधीशहरू लालायित हुन्छन् भने यसको पछाडि के हुन सक्छ?
महेश बर्तौला: यसमा खोजबिन गर्ने निकायहरूले खोजबिन गरून्। व्यक्तिगत रूपमा प्रश्नहरू के उठेका छन्, संवाद के भएका छन् भन्ने विषयमा आधिकारिक धारणा निर्माण गर्ने पात्र म होइन। तथापि, जे कुराहरू दृश्यमा आइरहेका छन्, यो सुखद होइन। राज्यका सबै निकायहरूप्रतिको भरोसा समाप्त हुने खालका क्रियाकलापहरू यसले देखाउँछ। केही बिचौलिया र स्वार्थ समूहहरूले सेनापति, न्यायालय, कर्मचारीतन्त्र, प्रधानमन्त्री, मन्त्री र सांसदहरूसम्म कनेक्सन बनाएको देखिनु साधारण कुरा होइन।
यो परिस्थिति डरलाग्दो छ। यसबाट हाम्रो समाज, राजनीति र प्रणालीलाई जोगाउनुपर्छ। जिम्मेवारीमा रहेका अधिकारीहरू जिम्मेवार बन्नुपर्छ।
नेकपा एमालेको दृष्टिकोण र राष्ट्रियताको विषय
प्रश्न: नेकपा एमालेलाई अलिकति फरक वा वैकल्पिक शक्तिका रूपमा पनि हेरिएको सन्दर्भ छ। यस समय यस्ता विषयहरू आउँदा एमालेको तुरुन्तै आफ्ना धारणा आउनुपर्ने होइन?
महेश बर्तौला: हामी त स्थापित कानुन र संविधानबमोजिम राज्यका निकायहरूले आफ्नो दायित्व निष्पक्ष रूपमा निर्वाह गर्नुपर्छ भन्छौँ। त्यसमा कुनै दबाब, आग्रह वा पूर्वाग्रह हुनुहुँदैन। निष्पक्ष छानबिनका लागि एमाले सधैँ उभिएको छ।
एमाले देश र जनतालाई लाभ हुन्छ कि हानि हुन्छ भन्ने ठाउँबाट बोल्छ। अहिलेका सत्तारूढ दलका नेताहरू, सरकारका मन्त्री र प्रधानमन्त्रीका अभिव्यक्ति तथा क्रियाकलापहरू देशहित अनुकूल छैनन्। राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको विपक्षमा अभिव्यक्ति दिने र विदेशीहरूलाई खुसी पार्न जेसुकै हर्कत गर्ने काम भइरहेको छ।
प्रधानमन्त्रीज्यूले संसद्मा बोलेका कतिपय अभिव्यक्तिको स्पष्टीकरण दिनुभएको छैन। “नेपालले भारतको जमिन मिचेको छ” भन्ने किसिमका अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु दुःखद हो, जबकि भारत स्वयंले पनि त्यसो भन्न सक्दैन। देशको प्रधानमन्त्रीले भारतलाई खुसी बनाउन त्यसो भन्नु कुन स्वार्थ हो?
त्यस्तै, Monroe Doctrine को प्रसङ्ग जोडेर नेपाललाई अर्को छिमेकीको प्रभाव क्षेत्रका रूपमा प्रस्तुत गर्ने काम मन्त्रीहरूबाट भएको छ। नेपाल एउटा स्वतन्त्र र सार्वभौम देश हो, यो कसैको प्रभाव क्षेत्रमा रहेको देश होइन। हामी नेपालको भूमिलाई कुनै पनि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले छिमेकीविरुद्ध प्रयोग गर्न दिँदैनौँ।
कर्मचारीतन्त्र, सुरक्षाकर्मी र उद्योगी-व्यवसायीको निराशा
प्रश्न: नागरिकहरूले त सुशासन र समृद्धिको अपेक्षा गरेर नयाँ शक्तिलाई भोट दिएका थिए नि?
महेश बर्तौला: हिजो निर्वाचनका बेला ३५ वर्ष दलहरूले केही गरेनन्, नेताहरू असफल र बेइमान हुन् भन्ने भाष्य सिर्जना गरियो। लोकतन्त्र र नागरिक अधिकारका लागि लडेका दलहरूलाई बदनाम गरियो। अहिले त्यो शृङ्खला कर्मचारीतन्त्र (Bureaucracy) र सुरक्षा निकायतिर मोडिएको छ।
कर्मचारीहरूलाई आतङ्कित पारिएको छ। ५५ वर्षमै अवकाश दिने कुरा गरेर अनुभवलाई काम नलाग्ने बनाइँदै छ। प्रहरीका प्रमुखहरूलाई हरेक दिन मिडियामार्फत बदनाम गर्ने र आतङ्कित पार्ने काम भएको छ। उद्योगी र व्यवसायीहरू त्रसित छन्। दुई-तिहाइको सरकार हुँदा पनि लगानीको वातावरण बनेको छैन। देशमा निराशाको कालो बादल मडारिइरहेको छ।
विगतका घटना, छानबिन आयोग र भ्रमहरू
प्रश्न: २३-२४ गतेका घटना र त्यसपछिका विषयहरूमा?
महेश बर्तौला: २३-२४ गतेका घटनामा तत्कालीन सरकार र एमालेलाई एकपक्षीय रूपमा दोषी देखाउने प्रयास गरियो। तर, आन्दोलनलाई बीचमै हाइज्याक गरिएको थियो। गौरीबहादुर कार्की नेतृत्वको आयोगका कुराहरू सुन्दा पनि परिणाम के आउँछ भन्ने कुरा पहिले नै निश्चित जस्तै थियो।
गोली कसले चलायो, निधारमा कसले हान्यो भन्ने कुरा आयोगको प्रतिवेदनले पनि स्पष्ट पार्न सकेको छैन। तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिएको स्पष्ट पारिसक्नुभएको छ। यस्ता घटनाको निष्पक्ष खोजी हुनुपर्छ, तर राजनीतिक प्रतिशोध साध्नका लागि मात्रै काम गरियो।
सरकारको कार्यशैली र संसद्को उपेक्षा
प्रश्न: सरकारले त पाँच वर्षका लागि म्यान्डेट पाएको छ, एमालेको आग्रह के छ?
महेश बर्तौला: सरकारलाई पाँच वर्षको म्यान्डेट छ, राम्रो काम गरोस्। महँगी नियन्त्रण गरोस्, रोजगारी सिर्जना गरोस्। तर, प्रधानमन्त्रीज्यूले संसद्लाई उपेक्षा गरिरहनुभएको छ। संसद्मा विधेयक ल्याएर कानुन बनाउनुको साटो अध्यादेशको बाटो रोज्नुभएको छ। ८-९ महिनामा १३ वटा अध्यादेश जारी गरियो। मन्त्रालयहरूमा सल्लाहकारहरूको फौज खडा गरेर कर्मचारीतन्त्रलाई पङ्गु बनाइएको छ। मिडिया र पत्रकारहरूलाई धम्क्याउने काम भइरहेको छ। यो लोकतान्त्रिक आचरण होइन।
एमालेको आन्तरिक एकता र भावी कार्ययोजना
प्रश्न: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा पुनरागमन र एमालेको आन्तरिक अवस्थाबारे के भन्नुहुन्छ?
महेश बर्तौला: पूर्वराष्ट्रपतिज्यूको पार्टी राजनीतिमा पुनरागमनका विषयमा व्यापक छलफल भएर सर्वसम्मत रूपमा उहाँलाई वरिष्ठ र सम्मानित नेताका रूपमा स्वीकार गरिएको छ। उहाँ हाम्रो अभिभावक हुनुहुन्छ। एमालेभित्र कुनै मतभेद वा गुटबन्दी छैन।
पार्टी अब आगामी स्थानीय तहको निर्वाचन केन्द्रित भएर अगाडि बढ्दै छ। मंसिर २ र ३ गते राष्ट्रिय भेला, मंसिर २६ गते देशभरका वडाहरूमा अधिवेशन, र पुस ४ गते पालिकाहरूमा अधिवेशन गर्दै छौँ। हामी जनताका बीचमा गएर आफ्ना कमजोरी सुधार्दै जनताको सेवा गर्ने प्रण गर्दछौँ।
नेतृत्व निर्माण र व्यक्तिगत भूमिका
प्रश्न: तपाईं मुख्य सचेतक भइसकेको मान्छे, युवा नेतृत्वका रूपमा पदाधिकारीमा तपाईंको दाबी देखिएन नि?
महेश बर्तौला: कम्युनिस्ट पार्टीमा नेतृत्व निर्माणको आफ्नै शृङ्खला र विकासका चरणहरू हुन्छन्। मलाई कुनै पद चाहिन्छ नै भन्ने हिसाबले मात्र हेरिनु हुँदैन। पदमा हुनु वा नहुनुले मान्छेको भूमिकाको मापन गर्दैन। उपयुक्त समय आएपछि जनता र पार्टीको आवश्यकता अनुसार नेतृत्व गर्ने दिन पनि आउँछ। अहिले म केन्द्रीय सदस्यका रूपमा सक्रियतापूर्वक जिम्मेवारी सम्हालिरहेको छु।
व्यस्तताका बाबजुद समय दिनुभयो, यसका लागि धेरै धेरै धन्यवाद।
महेश बर्तौला: हस, धेरै धेरै धन्यवाद, नमस्कार।
