काठमाडौँ। माओवादी जनयुद्धका एक सेनानी, पूर्वमन्त्री तथा नेपालि कम्युनिस्ट पार्टीका नेता गोपाल किराँती ‘साइला’ ले पार्टीको राष्ट्रिय जागरण अभियानबारे आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले पार्टीले जारी गरेको अभियानमा सम्पूर्ण कमरेडहरूलाई मतभेद र गुनासोलाई चिर्दै दृढतापूर्वक लाग्न विशेष अपिल गरेका छन्।
अभियान सुरु भएपछि उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै नेता किराँतीले भनेका छन्- “उपरोक्त अभियान जारी भएपछि धेरै कमरेडहरूले भन्नु स्वाभाविक हो कि पहिचानको मुद्दा र जातव्यवस्था उन्मूलनसहित समाजवादी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीतिमा यो अभियान गर्न पाएको भए कति राम्रो हुन्थ्यो? कमरेडहरूको टिप्पणीमा हामी शतप्रतिशत समर्थन गर्दछौँ कि हाम्रो पनि धारणा र भावना एकदमै त्यही हो।”
तर मार्क्सवादी सिद्धान्त र इतिहासको नियमलाई स्मरण गराउँदै उनले थप प्रस्ट्याएका छन्, “परन्तु, मार्क्सवादले भन्छ— इतिहासका निर्माता महान् जनसमुदाय हुन्। त्यस अन्तर्गत पार्टीका जनसमुदाय भनेका पार्टी सदस्यहरू हुन्। आफू पनि एक जना पार्टी सदस्य हुनुको हैसियतले गम्भीर अनुरोध छ कि जे जस्ता योजनाका साथ अभियान जारी भएको छ, यसमा दृढतापूर्वक लागेर परिणाम हासिल गरौं।”
वर्तमान समयमा विचारप्रधान राजनीति अपरिहार्य रहेको औँल्याउँदै नेता किराँतीको भनाइ छ, “उप्रान्त, मार्क्सवाद-लेनिनवाद भनेको देशमा रहेका सबै खाले अन्याय र उत्पीडनविरुद्ध लड्ने अखण्डनीय विज्ञान हो भन्ने प्रष्ट बुझाइमा विचारप्रधान राजनीति स्थापित गरौं र यो गर्नैपर्छ। तब पार्टीका सदस्य जनसमुदायले संघीय लोकतान्त्रिक गणतन्त्रको गुणात्मक विकास र हठात् कार्यान्वयनको जमर्को उठानको इतिहास रचना गर्न सकिन्छ।”
दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा समाजवादी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीति आजको मुख्य आवश्यकता भएको बताएका छन्। उनले भनेका छन्, ” हामीलाई लाग्दछ, जसरी सामन्ती राजतन्त्रविरुद्ध पुँजीवादी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीतिले संविधानसभा हुँदै यहाँसम्म ल्यायो, ठीक त्यसरी नै हालको दलाल पुँजीवादीतन्त्रविरुद्ध समाजवादी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीति एकदमै जरुरी भइसकेको छ। जसले संविधानको समाजवादी संशोधन कार्यसूची (एजेन्डा) मा समाजवादी ध्रुवीकरण बढाउन सकियोस्। तब मात्र मजदुर-किसान वर्गीय, लैंगिक, जातजातीय मुक्तिसहित नयाँ राष्ट्रिय एकीकरणको ढोका खोल्न सकिन्छ।”
सम्पूर्ण पार्टीपंक्तिलाई आ-आफ्नो ठाउँबाट अभियानलाई सफल बनाउन आह्वान गर्दै नेता किराँतीले जोड दिएका छन्, “अतः आ-आफ्नो ठाउँमा डटेर पार्टी अभियानका योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गरौं र सँगसँगै नयाँ विचार निर्माणमा छलफल, अध्ययन र जोडदार बहस सृष्टि गरौं।”