मजदुर, गरिब तथा पिछडिएका वर्ग–समुदायको हक–हित र उत्थानका लागि सीमित व्यक्ति र परिवारमा मात्र सम्पूर्ण सम्पत्तिको बेलगाम केन्द्रीकरण हुने व्यवस्थालाई नियन्त्रण गरी समानता कायम गर्ने उद्देश्यले स्थापित कम्युनिस्ट पार्टी, र पूँजीपति वर्गको हितमा नीति बनाएर औद्योगिकीकरणको एजेन्डा बोकेको नेपाली कांग्रेस—यी दुई पार्टी नै नेपालको समग्र विकासको सन्तुलन कायम गर्ने बलिया आधार हुन्।
यस अर्थमा यी पार्टीहरू एउटै सिक्काका दुई पाटा जस्तै हुन्। अर्थात्, यी दुवै पार्टी जनता स्वयंबाट बनेका र जनताकै हितका लागि काम गर्न स्थापित राजनीतिक शक्ति हुन्।
यसबीच शासक घरानाद्वारा पूर्व–शासकहरूको स्वार्थ पूरा गर्न, स्पष्ट वैचारिक आधारविनै स्थापित, रूढिवादी संभ्रान्त–कुलीन तन्त्रको हिमायती राप्रपाको चर्चा गरिरहनु आवश्यक नै छैन।
तर कांग्रेस र कम्युनिस्ट पार्टीका कार्यकर्ता तथा मतदाता समूहले समयमै नियमित र वस्तुगत खबरदारी गर्न नसक्दाको परिणामस्वरूप एमाले र कांग्रेसको झण्डै दुई–तिहाइको सरकारसमेत नेपालका लागि अभिशाप सावित भयो। यही परिस्थितिमा “वैकल्पिक राजनीति” को वकालत गर्ने दलहरू उदाए—तर कसरी?
चोरहरूलाई “चोरी गर्न पाइने व्यवस्था ल्याइदिन्छु” भन्ने आश्वासन दिएर आकर्षित गरियो।
बलात्कारीलाई “बलात्कार गर्नु तिम्रो अधिकार हो” भन्ने खालको सोचलाई समर्थन जुटाइयो।
कुलीन र सामन्त वर्गका लागि सामन्ती व्यवस्थाको वकालत गरियो।
यसको प्रमाण स्पष्ट छ।
एलिट र कुलीन वर्गलाई खुसी पार्न भनियो—
“हामी संघीयता खारेज गराउँछौँ। गरिब, महिला, दलित, मधेसी, अपाङ्गलगायतलाई दिइएको आरक्षण र अधिकार खारेज गराउँछौँ।”
तर उही समयमा दलित र गरिब वर्गलाई लोभ्याउन भनियो—
“हामी संघीयता र समावेशिताप्रति प्रतिबद्ध छौँ।”
यसर्थ, राप्रपाभन्दा यिनीहरू फरक कहाँ देखिए?
नेपालमा पुराना पार्टीहरूको कामको गति र गुणस्तरमाथि प्रश्न उठ्नु स्वाभाविक हो। तर जेन–जी विद्रोहबाट पाठ सिक्दै, त्यसले उठाएका एजेन्डालाई सम्बोधन नगरी अब राजनीति सम्भव छैन।
क्रान्ति र सुधारका एजेन्डालाई सबैभन्दा बढी माओवादी पृष्ठभूमिका नेता र पार्टीहरूले आत्मसात् गरे—चाहे माफी मागेर होस् वा प्रतिबद्धतासहित अन्य तरिकाबाट। यसमा प्रचण्ड र विप्लव अगाडि देखिए।
त्यसपछि नेपाली कांग्रेसभित्रै विद्रोह गर्दै गगनकुमार थापाले सुधारको आवाज उठाए। एमाले नेतृत्वले भने जेन–जी आन्दोलनलाई आपराधिकरण गर्दै आफ्नो कमजोरी स्वीकार नगरे पनि, उक्त आन्दोलनका मागप्रति सकारात्मक देखिने संकेत दिएको छ।
जे भए पनि, यी सबै पार्टीहरू नेपालका स्थापित राजनीतिक दल हुन्। तिनीहरू निश्चित राजनीतिक विचारधाराबाट निर्देशित छन्। त्यसैले तिनको विगत, वर्तमान र भविष्यको यात्रा तुलनात्मक रूपमा स्पष्ट छ।
तर तिनलाई जिम्मेवार रूपमा खबरदारी गर्नुपर्ने कार्यकर्ता र मतदाताहरू चुक्दा नेपालको राजनीति क्रमशः दूषित हुँदै गएको विश्लेषण पनि उत्तिकै सत्य हो।