२०६४ यताको एक-डेढ दशकसम्म कांग्रेस, एमालेका नेताले मतदाता आकर्षित गर्नका लागि भाषण गर्दा अधिक बोल्ने गर्दथे, “युद्धमा रहेको माओवादीलाई घिसारेर वार्तामा ल्यायौँ र शान्ति सम्झौतामार्फत संसद्मा ल्याएको हामीले हो; नत्र ज्ञानेन्द्र शाहका सेनाले १७ हजार मात्र होइन, सबै माओवादी मारेर सिध्याइदिन्थ्यो, जसरी तमिल टाइगर मारेरै सिध्यायो।”
पछिपछि माओवादीले भन्ने गर्थ्यो, “कांग्रेस, एमाले, राप्रपा जस्ता जब्बर राजावादीहरूसँग १० वर्ष युद्ध लडेर हामीले गणतन्त्र ल्याएका हौँ। नत्र यिनीहरू आज पनि दस पुस्तासम्मका चौतारिया, साहेबज्यू, भारदार जस्ता राजखलकको गोडामा तेल लगाएर रानी-राजकुमारीको फरिया धुँदै देश चलाइरहेका हुन्थे। आज जनताको कठघरामा उभिएर जवाफ दिनुपर्ने राजनीतिक व्यवस्था यिनीहरूलाई मन परेको छैन।”
ठ्याक्कै शब्द यिनै नभए पनि सारमा यस्तै कुरा हुन्थे। तर, आज समय बदलिएको छ। कसैले कसैको चक्कर लगाउनु पर्दैन— सार्वभौम नेपाली जनता नै निर्णायक छन्।
★ कभर स्टोरी
-
❖
कोसी–गण्डकको पीडा र हवाई रुटको सर्त: बालेन शाहको भारत भ्रमणमा नेपाल चुक्न सक्ने मुख्य जोखिमहरू के हुन्? -
❖
बालेन्द्र जाँदा किन दिल्ली गएनन् किसुनजी र झलनाथ? नेपाल–भारत सम्बन्धमा ‘इज्जत’ को राजनीति र प्रोटोकलको भित्री कथा -
❖
स्वागतको प्रोटोकल कि रणनीतिक सन्देश? बालेन शाहको भारत भ्रमण र नेपाल–भारत सम्बन्धको मनोविज्ञान -
❖
असमान सन्धिको विरासत र स्वाभिमानको प्रश्न: नयाँदिल्ली यात्रामा प्रधानमन्त्री बालेन शाहसामु रहेका चुनौतीहरू -
❖
बालेन शाहको भारत भ्रमण: स्वागतको प्रोटोकल, विगतका सन्धि–सम्झौताको भार र आन्तरिक राजनीति -
❖
प्रधानमन्त्री बालेन शाहको नयाँदिल्ली यात्रा: के नेपाल विगतका असमान सम्झौताको इतिहासबाट जोगिएला? -
❖
नेपाल–भारत सम्बन्धको भित्री राजनीति: बालेन शाहको दिल्ली भ्रमण र विमानस्थल प्रोटोकलको अर्थ
स्वागतको प्रोटोकल, सन्धि–सम्झौताको भार र नेपाल–भारत सम्बन्धको भित्री राजनीति
बालेन शाहको नयाँदिल्ली यात्रा, विगतका असमान सम्झौताको विरासत र आन्तरिक राजनीतिको मनोविज्ञान
नेपालमा भारतीय हस्तक्षेप, षड्यन्त्र वा ज्यादतीविरुद्ध जनअसन्तुष्टि चुलिँदा जुन दल वा नेता सत्तामा हुन्छ, उसलाई “भारत निकट” वा “भारत परस्त” भनेर प्रचार गर्ने प्रवृत्ति नौलो होइन। भारतीय थिंक–ट्यांक, कूटनीतिज्ञ, राजनीतिज्ञ, सुरक्षा अधिकारीदेखि विभिन्न माध्यमबाट परिचालित पात्रहरूले समेत समय–समयमा यही भाष्यलाई उपयोग गर्दै आएको देखिन्छ। तर, रास्वपाबाहेकका अन्य दल र नेतृत्वविरुद्ध यही हतियार प्रयोग हुँदै आएको सन्दर्भमा प्रधानमन्त्री बालेन शाहको भ्रमणमा भने विमानस्थलको स्वागत दृश्यलाई नै राजनीतिक बहस र आलोचनाको हतियार बनाइएको छ।
नेपाली प्रधानमन्त्रीहरू औपचारिक वा राजकीय भ्रमणमा नयाँदिल्ली पुग्दा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा कसले स्वागत गर्छ भन्ने विषय केवल सामान्य औपचारिकता मात्र होइन; यसले दुई देशबीचको कूटनीतिक सन्देश, तत्कालीन राजनीतिक समीकरण र रणनीतिक मानसिक दबाबमा पारी आफ्नो निहित स्वार्थमा सहमत गराउन मनोवैज्ञानिक दबाब पैदा गर्ने भित्री मनसायलाई समेत प्रतिबिम्बित गर्छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद स्वागतका लागि पुगेको सन्दर्भले फेरि एकपटक विगतका भ्रमणहरू, तिनको कूटनीतिक अर्थ र नेपालको आन्तरिक राजनीतिमा त्यसले पार्ने मनोवैज्ञानिक प्रभावबारे गम्भीर बहस छेडेको छ।
बालेन शाहको भारत भ्रमण: नेपाल कहाँ चुक्ने हो र दिल्लीले के लुट्ने हो भन्ने त्रास!
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर काठमाडौँको कूटनीतिक तथा जनवृत्तमा उत्साहसँगै गम्भीर संशय र त्रास पनि देखिएको छ। छोटो अवधिको भ्रमण भए पनि यसमा ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, व्यापार, जलवायु परिवर्तन र सीमासम्बन्धी विषयहरू एजेन्डामा छलफल चलिरहँदा नेपालको तयारी र सौदाबाजी क्षमतामाथि नेपाली जनतालाई सधैँ चिन्ता छ।
विगतका ऐतिहासिक निर्णय र सम्झौताहरूको भार आजसम्म पनि नेपालले भोग्दै आएको छ। राजा त्रिभुवन र मोहनशमशेरका पालामा भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि होस् वा २००७ सालमा दिल्ली पुगेर गरिएका सहमति—त्यसयता राजा महेन्द्रदेखि वीरेन्द्रको शासनकालसम्म भएका सप्तकोसी, गण्डकीदेखि महाकालीसम्मका अनेकौँ सम्झौताहरूले नेपालको स्वायत्तता र स्रोत परिचालनमा दीर्घकालीन असर पारेको छ। विशेषगरी राजा महेन्द्रको पालामा कालापानी र लिम्पियाधुरा क्षेत्रमा भारतीय फौजको उपस्थितिबारे किन आँखा चिम्लिए भन्ने प्रश्न आजसम्म अनुत्तरित छ। त्यस्तै, सन् १९६५ को हतियारसम्बन्धी सम्झौताले नेपाललाई सुरक्षा तथा सैन्य सामग्रीमा परनिर्भरताको पासोमा पारेको तर्क पनि उठ्ने गर्छ।
सन्धि–सम्झौताको ऐतिहासिक तथ्य र जलस्रोतको प्रश्न
नेपाल–भारतबीचका जलस्रोत र पूर्वाधारसम्बन्धी सम्झौताहरूमा नेपालले पाउनुपर्ने न्यायोचित हिस्सा र दीर्घकालीन अधिकारको प्रश्न सधैँ पेचिलो रहँदै आएको छ:
कोसी र गण्डक (नारायणी) सम्झौता: वि.सं. २०११ (सन् १९५४) को कोसी सम्झौता र वि.सं. २०१६ (सन् १९५९) को गण्डक सम्झौतामा भारतले नियन्त्रण, तटबन्ध र नहर प्रणालीमा बलियो पकड राखेको, तर डुबान, कटान र स्थानीय बासिन्दाले भोग्नुपरेको क्षतिपूर्ति तथा लाभको बाँडफाँटमा नेपाल सधैँ पछि परेको गुनासो रहँदै आएको छ।
टनकपुर र एकीकृत महाकाली सन्धि: २०४८ सालको टनकपुर सम्झौता र २०५२ सालको एकीकृत महाकाली सन्धिले महाकाली नदीको पानी, बिजुली र शारदा बाँधको पुरानो संरचनादेखि पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासम्मका विषयमा स्पष्ट र विवादरहित कार्यान्वयनको बाटो खोल्न नसक्दा दशकौँदेखि लाभ अड्किएको छ।
सहायक नदी र जलप्रवाहको सीमा: नदीका सहायक शाखाहरूमा समेत तल्लो तटीय जलप्रवाह (भारतका लागि) घट्ने गरी संरचना बनाउन नपाइने खालका सर्त वा अभ्यासले नेपालको आन्तरिक सिँचाइ, खानेपानी र जलविद्युत् विकासमा अवरोध मात्र होइन, एक सार्वभौम राष्ट्रको जीवनमा कल्पनै गर्न नसकिने गरी विगतका शासक र सम्झौताकर्ताहरूको भूमिकामाथि तीव्र आलोचना हुने गरेको छ।
हाम्रा नदीको पानी, जलविद्युत् र जलचरको वास्तविक मूल्यको हिसाब खोइ भन्ने प्रश्न पनि उत्तिकै गम्भीर छ। विगतका ती त्रुटिबाट कसरी सिक्ने र जोगिने भन्ने विषयमा प्रधानमन्त्री बालेन शाहको विवेक, पूर्वतयारी र ऐतिहासिक चेतना निर्णायक बन्नुपर्ने देखिन्छ।
यो भ्रमणमा नेपाल चुक्न सक्ने सम्भावित जोखिमहरू
ऊर्जा, जलस्रोत र पूर्वाधारमा असमान सर्तको जोखिम: पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर, विद्युत् व्यापार, प्रसारण लाइन र पेट्रोलियम पूर्वाधारजस्ता संवेदनशील सम्झौता वा समझदारी गर्दा नेपालले दीर्घकालीन लाभ–हानिको स्पष्ट हिसाब नराखे स्रोत र नियन्त्रणको सन्तुलन खल्बलिन सक्ने त्रास रहन्छ। विशेषगरी नदी बेसिन र जलस्रोतका विषयमा अस्पष्ट वा हतारमा गरिएका प्रतिबद्धताले भविष्यमा नेपालको स्वायत्तता संकुचित पार्ने भय इतिहासदेखि नै विद्यमान छ।
सीमा, हवाई रुट र रणनीतिक सर्तमा सम्झौताको आशंका: सीमा समस्या र भैरहवा (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) लगायतका हवाई रुटजस्ता विषयमा ठोस प्रतिबद्धता नआउने, अथवा “संवादबाट समाधान गर्ने” सामान्य वाक्यमा सीमित भई अन्य व्यावसायिक वा कूटनीतिक लाभमा मात्रै ध्यान केन्द्रित हुने हो कि भन्ने चिन्ता छ। त्यसमाथि नेपालको सार्वभौम हकमा पर्ने सामान्य हवाई रुटको बदलामा नेपालको आकाशमा भारतीय सैन्य विमान उड्न पाउनुपर्ने वा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्नेजस्ता संवेदनशील सर्तहरू जोडिने हुन् कि भन्ने आशंका पनि सचेत वृत्तमा देखिन्छ।
कूटनीतिक तयारी, संस्थागत समन्वय र पारदर्शिताको अभाव: परम्परागत कूटनीतिक परामर्श, पूर्वतयारी र संस्थागत संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन नगर्दा वा हतारोमा सहमति जुटाउँदा नेपालको राष्ट्रिय स्वार्थ कमजोर पर्न सक्ने आशंका विश्लेषक र नागरिकमाझ छ।
“लुट” को त्रास र यथार्थको कसी: आम जनमानसमा देखिने “भारतले के लुट्ने हो” भन्ने त्रास केवल हल्ला मात्र होइन; विगतका कैयौँ सन्धि–सम्झौता, सीमा विवाद र ढिलासुस्तीपूर्ण परियोजनाहरूले जन्माएको ऐतिहासिक अविश्वासको उपज हो। तर, यो त्रासलाई चिर्न भावनात्मक आक्रोशभन्दा बलियो प्राविधिक तयारी, स्पष्ट कानुनी तथा आर्थिक सर्त र पारदर्शी कूटनीति अपरिहार्य हुन्छ।
दिल्ली नपुगेका प्रधानमन्त्रीहरू: त्याग, संघर्ष र सत्ता समीकरणको कसी
नेपालको संसदीय र गणतान्त्रिक इतिहासमा यस्ता प्रधानमन्त्रीहरू पनि रहे, जसले आफ्नो कार्यकालभरि भारतको औपचारिक भ्रमण गरेनन्। तर, ती सबैको पृष्ठभूमि एउटै थिएन—कसैको पछाडि आजीवन त्याग र निष्ठाको राजनीति थियो भने खिलराज भने विशेष राजनीतिक घटनाक्रम र शक्ति सन्तुलनको उपज थिए:
कृष्णप्रसाद भट्टराई: २०४७ को अन्तरिम सरकार तथा २०५६ को कार्यकाल (२०५६ को कार्यकालमा दिल्ली भ्रमण भएन)। आन्तरिक राजनीतिक अस्थिरता र आफ्नै दलभित्रको खिचातानीका कारण कार्यकाल छोटिनु। आजीवन जेलनेल, निष्ठा, त्याग र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष; पदलोलुपता र बाह्य चाकरीबाट सदैव टाढा रहेका नेता।
झलनाथ खनाल: वि.सं. २०६७ माघ – २०६८ भदौ (करिब ७ महिना)। संविधानसभाको म्याद थप, शान्ति प्रक्रियाको विवाद र गठबन्धनभित्रको असहयोगका कारण औपचारिक निम्तो र भ्रमणको वातावरण नबन्नु। पञ्चायतविरोधी आन्दोलन र वामपन्थी राजनीतिमा लामो भूमिगत संघर्ष गरेका नेता; यद्यपि प्रधानमन्त्रीको पद भने तत्कालीन माओवादी–एमालेको आकस्मिक समीकरणबाट प्राप्त भएको थियो।
खिलराज रेग्मी: वि.सं. २०६९ चैत – २०७० माघ (मन्त्रिपरिषद् अध्यक्ष)। दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउने सीमित कार्यादेश र गैरदलीय चुनावी सरकारको प्रकृति। न जनआन्दोलनको त्याग न त राजनीतिक संघर्ष—दलीय असफलता र शक्ति केन्द्रहरूको सहमतिमा प्रधानन्यायाधीशको कुर्सीबाट सिधै कार्यपालिका प्रमुख बनाइएका पात्र।
यसैगरी, गणतन्त्र स्थापनापछिको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा प्रचण्डले सुरुमा भारतको साटो चीन (बेइजिङ ओलम्पिक समापन समारोह) को भ्रमण रोज्दा काठमाडौँको सत्ता राजनीतिमा तीव्र तरंग पैदा भएको थियो। स्वदेश फर्कँदा बालुवाटारवरिपरि देखिएको कूटनीतिक तथा राजनीतिक घेराबन्दी र सत्ता समीकरणको दबाबबीच उनले लगत्तै भारत भ्रमणमा जाने घोषणा गर्नुपरेको यथार्थले नेपालको राजनीतिमा बाह्य प्रभाव र आन्तरिक कमजोरीको गहिराइलाई छर्लङ्ग पार्छ।
“इज्जत” को राजनीति र विगतका विमानस्थल प्रोटोकल
नेपाल–भारत सम्बन्धको सबैभन्दा संवेदनशील पाटो दिल्लीको व्यवहारलाई नेपाली समाज र राजनीतिले ग्रहण गर्ने तरिका हो। विमानस्थलमा को आयो वा कस्तो व्यवहार भयो भन्ने कुरालाई आधार बनाएर नेताको “इज्जत” बढेको वा घटेको निष्कर्ष निकाल्ने प्रवृत्ति नेपाली जनमानसमा गहिरोसँग गढेको छ। भारतले कुन नेतालाई कति महत्त्व दिँदा वा नदिँदा नेपाली जनताले आफ्नै नेतृत्वलाई होच्याउँछन् र रमाउँछन् भन्ने मनोविज्ञान दिल्लीले राम्ररी बुझेको छ।
विगतका भ्रमणहरूमा देखिएको तहगत भिन्नताले पनि यही कूटनीतिक संकेत दिन्छ:
सन् २००६ मा गिरिजाप्रसाद कोइरालालाई तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह आफैँ एरोब्रिजसम्म पुगेर स्वागत गर्नुलाई नेपालको राजनीतिक परिवर्तनप्रति दिइएको विशेष महत्त्वका रूपमा हेरियो।
सन् २०१६ मा नाकाबन्दीपछिको तनावपूर्ण माहोलमा केपी शर्मा ओली पुग्दा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज आफैँ स्वागतमा पुग्नु सम्बन्ध सुधारको संकेत थियो; पछि प्रचण्ड र देउवाका भ्रमणमा पनि स्वराज तथा ओलीको दोस्रो कार्यकालमा गृहमन्त्री राजनाथ सिंह स्वागतमा खटिए।
धेरैजसो भ्रमणमा भने राज्यमन्त्रीहरू (जस्तै: देउवालाई सन् २००२ मा राजीव प्रताप रूडी र २०२२ मा अजय भट्ट; प्रचण्डलाई सन् २००८ मा शकिल अहमद र २०२३ मा मीनाक्षी लेखी; माधवकुमार नेपाललाई सन् २००९ मा परनीत कौर) ले स्वागत गरे भने सन् २०११ मा बाबुराम भट्टराईको भ्रमणमा मन्त्रीस्तरको उपस्थिति नरही शिष्टाचार प्रमुख रूचिरा कम्बोजसहितका अधिकारीले स्वागत गरेका थिए।
भारतीय रणनीतिक खेल, नेपालमा क्रान्तिकारीहरूको विगत, वर्तमान र भविष्य: सत्ता, घेराबन्दी र स्वाभिमानको हाल
नेपाली राजनीतिमा परिवर्तन र न्यायको आवाज उठाउने क्रान्तिकारी शक्तिहरू सधैँ दोहोरो दबाबमा पर्दै आएका छन्—आन्तरिक सत्ताको प्रतिकूलता र दक्षिणको रणनीतिक चासो। वामपन्थी तथा माओवादी विचारधारा बोकेकै कारण भारतले नेपालमा माओवादीलाई मुख्य चुनौतीका रूपमा हेर्दै आयो। जनयुद्धकालमा तत्कालीन सत्तालाई सैन्य सामग्री र तालिम उपलब्ध गराए पनि पूर्वाधार, विज्ञान र आत्मनिर्भरतामा भारतको लगानी कहिल्यै देखिएन।
संघर्ष, भाष्य र घेराबन्दीको शृंखला: नेपालमा जब कुनै शक्तिले असमान सन्धि र हस्तक्षेपविरुद्ध अडान लिन्छ, तब त्यसलाई कमजोर पार्न भाष्य निर्माणको खेल सुरु हुन्छ। ‘माओवादीलाई भारतले पालेको हो’ भन्ने प्रचार कसको परिचालनमा र कुन स्वार्थमा रचियो भन्ने प्रश्न आज पनि गम्भीर छ। हिजो माओवादीमाथि दबाब र घेराबन्दीको जो चक्र चल्यो, आज त्यसको छाया अरू दल र नयाँ शक्तितिर पनि सरेको देखिन्छ—एमालेमाथि देखिएको असहजता होस् वा रास्वपा र बालेन शाहप्रतिको कूटनीतिक आँकलन।
गुलामीको रोग र खुला सीमाको संवेदनशीलता: बाह्य शक्तिलाई रिझाएर सत्ता टिकाउने प्रवृत्तिले स्वाभिमानलाई कमजोर बनाउँछ। चाहे योगी आदित्यनाथको जयजयकार होस् वा लिमी लाप्चामा भारतको स्तुतिगान—यस्ता व्यवहारले परनिर्भरताको मानसिकतालाई मात्र बढाउँछन्। अर्कोतर्फ, खुला सीमाको संवेदनशीलता, विगतका अवैध हतियारको चर्चा र अनियन्त्रित आवागमन रोक्न नसक्ने कमजोर सीमा संरचनाले नेपालको सुरक्षा सतर्कता अझ बढाउनुपर्ने देखाउँछ।
इतिहासको जग र स्वाभिमानको बाटो: दस वर्षे द्वन्द्वमा हजारौँको बलिदान, जनआन्दोलन २०६२/६३ र २०६४ को जनमतले प्रमाणित गर्छ कि क्रान्तिकारी आन्दोलनको जग बाह्य संरक्षण नभई नेपालकै आन्तरिक असमानता र संघर्षमा थियो। आओबादी जनयुद्धको प्रेरणा र सहयोगमा भारतमा चलिरहेको कम्युनिस्ट, नक्सलवादी आन्दोलन बढ्न सक्ने त्रास र क्षेत्रीय स्वार्थले त्यो समय कहिले ज्ञानेन्द्र र कांग्रेस-राप्रपा-एमाले समिकरणलाई सघायो कहिले तर्सायो । कहिले माओबदिलाई युद्ध छोडेर संसदिय राजनितिमा जान बाध्य गरायो या सघायो । यस्को अर्थ उस्ले नेपालको मायाले सदासयता देखाएको नभएर नेपालमा चलिरहेको क्रान्तिले भारतमा उर्जा पैदा गर्न सक्ने त्रास नै हो । भारतले यस्ता नीति तय गरेको ईतिहास संझिदै अब पनि भारतको स्तुतिगान वा घेराबन्दीमा अल्झिने होइन; सचेत जनता, स्पष्ट राष्ट्रिय रणनीति र आत्मनिर्भर स्वाभिमानमै नेपालको भविष्य सुरक्षित छ।