प्रम बालेन्द्रलाई स्वागतका लागि राज्यमन्त्री पठाएको दिल्लीको कूटनीतिले उसको नेपाल नीति झल्काएको छ ।
काठमाडौं, ६ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।
नेपाल एयरलायन्सको नियमित उडानमार्फत नयाँ दिल्ली अवतरण गरेका प्रधानमन्त्री शाहलाई स्वागत गर्न राज्यमन्त्री स्तरको उपस्थिति देखिनुलाई भारतको परम्परागत ‘नेपाल नीति’, ‘मिचाहा नियत’ तथा हेपाहा प्रवृत्तिका रूपमा हेरिएको छ । जबकि उनी नेपाल आउँदा नेपालले स्वागतमा कुनै कसर बाँकी राखेको थिएन । छिमेकी मुलुकका कार्यकारी प्रमुखलाई निमन्त्रणा दिएर बोलाएपछि विमानस्थलमा गरिएको स्वागतको स्तरलाई लिएर कूटनीतिक मर्यादा र संवेदनशीलतामाथि प्रश्न उठाइएको हो । यद्यपि, स्वागतका क्रममा राज्यमन्त्री प्रसादले भ्रमणले दुई देशको सम्बन्धमा अझै ऊर्जा थप्ने प्रतिक्रिया दिएका छन् ।
भ्रमणको तालिका र उच्चस्तरीय भेटघाट
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल पुगेका छन् । आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले बालेन बसेको होटल पुगेर उनीसँग शिष्टाचार भेट गरे । आजका लागि प्रधानमन्त्रीको अन्य औपचारिक भेटघाट राखिएको छैन ।
भोलि अर्थात् मंसिर ७ गते भने भ्रमणको मुख्य कूटनीतिक तथा औपचारिक कार्यक्रमहरू हुनेछन्:
• बिहान १०:०० बजे: राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण ।
• हैदरावाद हाउसमा वार्ता: भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता ।
• मध्याह्न १२:२५ बजे: सहमति तथा सम्झौता (एमओयू) आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन ।
• अपराह्न ३:१५ बजे: राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट ।
• अपराह्न ४:५० बजे: नयाँ दिल्लीबाट स्वदेश प्रस्थान ।
एजेन्डा, अपेक्षा र विमर्श
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, सरकारी अधिकारी, व्यवसायी र पत्रकारसहित ३४ जना सहभागी छन् भने निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा जोडिएको छ ।
भारतीय विदेश मन्त्रालय र नेपाली पक्षका अनुसार मोदीसँगको भेटवार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, हवाई रुट तथा सहकार्यका विभिन्न क्षेत्रमा छलफल र सम्झौताको तयारी छ । साथै सम्पर्क सञ्जाल र ऊर्जासम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तालिका पनि छ ।
एकातिर रास्वपालगायतका पक्षले भ्रमणले विश्वास र साझेदारी बढाउने अपेक्षा व्यक्त गरेका छन् भने अर्कोतिर कालापानी–सुस्ता सीमा विषय, कृषि निर्यातमा देखिने अवरोध, हवाई रुट तथा द्विपक्षीय सघन वार्तामा प्रमुख विषयहरू टुंगिने–नटुंगिने विषयमा चासो बढेको छ । यसैबीच, भ्रमणकै सन्दर्भमा प्रस्थानका क्रममा विमानस्थलमा दुई मन्त्रीबाट सुरक्षा प्रोटोकल उल्लंघन भएको विषयसमेत चर्चामा आएको छ ।
मोदीको निमन्त्रणामा दिल्ली पुगेका प्रधानमन्त्रीलाई विमानस्थलमा राज्यमन्त्रीले स्वागत गरेको घटनाले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने भनिएको भ्रमणको सुरुवातमै कूटनीतिक व्यवहार र समान हैसियतको प्रश्नलाई सतहमा ल्याइदिएको छ ।
यद्यपि, भारतीय पक्षले यो भ्रमणलाई आफ्नो हित र नेपालको अहितमा उपयोग गर्न सक्ने तथा विगतका भारतीय अवरोध र व्यवधान हटाउने विषयलाई छलफलमै प्रवेश गर्न नदिने जस्ता कूटनीतिक खेल खेल्न सक्ने सम्भावना भने अधिक छ ।