अर्थमन्त्रीको दिल्ली अभिव्यक्तिप्रति राजेश हमालको आपत्ति: ‘सार्वभौमसत्ता र परराष्ट्र नीतिको निर्लज्ज उपहास’
काठमाडौँ। भारत भ्रमणका क्रममा नेपालको परराष्ट्र नीति र छिमेकी सम्बन्धलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला महानायक राजेश हमालले पनि कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले अर्थमन्त्रीको पछिल्लो कदमले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय गरिमा र लामो समयदेखिको सैद्धान्तिक परराष्ट्र नीतिमा आँच पुर्याएको टिप्पणी गरेका छन्।
राजेश हमालले अङ्ग्रेजीमा पोस्ट गरेको धारणाको नेपाली अनुवाद यस प्रकार रहेको छ:
“अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जनादेशको सीमा नाघेको देखिन्छ, जसले नेपालको लामो समयदेखिको सैद्धान्तिक परराष्ट्र नीतिको जगलाई नै विकृत बनाउने जोखिम निम्त्याएको छ। यस्तो चापुलुसीपूर्ण वा चाटुकारितापूर्ण रवैयाले हाम्रो सार्वभौमसत्ताको गरिमालाई आँच पुर्याउने मात्र होइन, नेपाल र भारतबीच दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको लामो समयदेखिको सम्बन्धको समेत उपहास गर्दछ।
नेपालको परराष्ट्र नीति निरन्तर रूपमा राष्ट्रिय सार्वभौमसत्ता, गरिमा र दीर्घकालीन सिद्धान्तहरूको विषय रहँदै आएको छ र यो व्यक्तिगत विवेक वा राजनीतिक दाउपेचको विषय बन्नु हुँदैन। कुनै पनि पदमा रहेका व्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साखलाई कमजोर बनाउने खालका अभिव्यक्ति वा सर्तहरूमार्फत यी आधारशिलाहरूमा सम्झौता गर्नु हुँदैन।
नेपाल-भारत सम्बन्ध सधैँ भूगोल, इतिहास, संस्कृति र जनता-जनताबीचको सम्बन्धमा गहिरोसँग जोडिएको छ। यो सम्बन्धलाई सुदृढ बनाउनु स्वाभाविक र आवश्यक दुवै छ। हाम्रा सम्बन्धका यी पक्षहरूले हामीलाई अन्य कुनै दुई राष्ट्रहरूभन्दा फरक तरिकाले नजिक ल्याउँछन्। त्यसैले, यस देशको नागरिकको नाताले हाम्रा प्रमुख छिमेकीहरूसँग अझ बलियो सम्बन्ध निर्माण गर्ने हरेक इमानदार प्रयासलाई हामीले स्वागत गर्नुपर्छ भन्नेमा म दृढ विश्वास गर्दछु। तर साथसाथै हाम्रा प्रतिनिधिहरूले सुझबुझपूर्ण कूटनीतिक विवेकको प्रयोग गरून् र हाम्रो राष्ट्रिय दृष्टिकोणलाई यसले पाउने योग्य गरिमा र सन्तुलनका साथ प्रस्तुत गरून् भन्ने अपेक्षा हामी राख्दछौँ।
नेपाल-भारत सम्बन्ध ऐतिहासिक रूपमा अति नै महत्त्वपूर्ण र रणनीतिक रूपमा यति धेरै संवेदनशील छ कि यसलाई व्यक्तिगत चाकरीका भावभङ्गी वा सर्वसाधारणमा उपहास निम्त्याउने खालका अभिव्यक्तिहरूमा सीमित गर्न सकिँदैन… हाम्रा मजबुत रूपमा जोडिएका सम्बन्धसँगै सुल्झन बाँकी सीमा विवाद र आर्थिक निर्भरतासहितका हाम्रा आफ्नै ऐतिहासिक अनुभवहरू पनि गाँसिएका छन्। वर्तमान सरकारले सस्तो वक्तव्यबाजी र देखावटी कुराभन्दा पनि स्थापित कूटनीतिक माध्यम, प्रमाण र सौहार्दपूर्ण संवादमार्फत स्पष्टता र निरन्तरताका साथ आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु विशेष रूपमा महत्त्वपूर्ण छ।
हाम्रा छिमेकीहरूसँगको मित्रता र हाम्रो सार्वभौमसत्ताप्रतिको निष्ठा आपसमा बाझिने उद्देश्यहरू होइनन्। यी एकअर्काका पूरक जिम्मेवारीहरू हुन्। नेपाल एक भरपर्दो साझेदार बन्न सक्छ र बनेको पनि छ, किनकि यो आफ्नो पहिचानप्रति विश्वस्त र आफ्नो राष्ट्रिय हितप्रति स्पष्ट भएको एक स्वतन्त्र राष्ट्र हो।”
कुनै पनि राजनीतिक नेतृत्व वा जिम्मेवार पदमा बसेका व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ वा क्षणिक राजनीतिक लाभका लागि मुलुकको असंलग्न र अडिग परराष्ट्र नीतिलाई हल्का रूपमा प्रस्तुत गर्न नहुने जोड हमालको छ। उनले सीमा विवाद तथा आर्थिक निर्भरता जस्ता गम्भीर विषयहरूलाई भावनात्मक वा देखावटी बोलीभन्दा पनि परिपक्व कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।