काठमाडौँ। जनआस्था साप्ताहिकका सम्पादक एवम् प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको आरोपमा प्रहरीले पक्राउ गरेपछि राजनीति र सञ्चार क्षेत्रमा ठूलो तरङ्ग पैदा भएको छ। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार तथा मातहतको प्रहरी प्रशासनद्वारा गरिएको उक्त पक्राउप्रति पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गहिरो चिन्ता व्यक्त गर्दै कडा आपत्ति जनाउनुभएको छ।
पत्रकार श्रेष्ठलाई बुधवार साँझ ललितपुरस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले पक्राउ गरेको हो। दिपिका सिंह नाम गरेकी एक युबतिले दिएको उजुरीका आधारमा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरमा अनुसन्धान गर्न उनलाई हिरासतमा राखिएको बताईएको छ । चौधरी थरका एक रास्वपा सांसदसँग जोडिएको समाचार र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीलाई लिएर श्रेष्ठविरुद्ध उजुरी परेको बताईएको छ । यद्यपि, उपसभामुख रुबीकुमारी ठाकुरले समेत जनआस्था डटकममा प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालमा उजुरी दिएर पत्रकार माथी थप दबाब पैदा गरेको पृष्ठभूमिमा यो घटनालाई केवल व्यक्तिगत उजुरी मात्र नभई समग्र प्रेसलाई नियन्त्रण र कमजोर पार्ने षड्यन्त्रका रूपमा हेरिएको छ।
स्वतन्त्र प्रेस, लोकतन्त्र र प्रचण्डको निष्ठा:
लोकतन्त्र, मानव अधिकार र सुशासनका क्षेत्रमा काम गर्ने नागरिकहरुले मात्र हैन नेपाल पत्रकार महासङ्घले समेत समाचार लेखेकै आधारमा एक स्थापित मिडियाका सम्पादकलाई पक्राउ गरिनुलाई स्वतन्त्र र जिम्मेवार प्रेसको अवधारणामाथिको प्रहार मान्दै निरन्तर विरोध जनाइरहेका छन्। मिडियामा आएका सामग्रीमा चित्त नबुझे नियमन गर्ने निश्चित विधि र प्रक्रिया हुँदाहुदै राज्यशक्ति प्रयोग गरी धरपकड गरिनुले लोकतान्त्रिक मूल्य-मान्यताको खिल्ली उडाएको छ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मुख्य नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्ड सधैँ गणतन्त्रको संस्थागत विकास, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आउनुभएको छ। आलोचनालाई सधैँ सकारात्मक ऊर्जाका रूपमा ग्रहण गर्ने र लोकतन्त्र एवम् निष्पक्ष पत्रकारिताविना कुनै पनि सरकारले सही दिशा लिन सक्दैन भन्ने स्पष्ट मान्यता उहाँको छ।
सकारात्मक कदमको प्रशंसादेखि निरङ्कुश शैलीको विरोधसम्म:
विगतमा बालेन सरकारले चालेका जनमुखी र राष्ट्रिय हितका कदमहरूको प्रचण्डले सधैँ खुला हृदयले समर्थन र प्रशंसा गर्नुभएको थियो। उदाहरणका लागि, सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी गर्दा खुसी व्यक्त गर्दै उहाँले भन्नुभएको थियो:
“नेपाल सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेको सुन्दा खुसी लागेको छ। यसका लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। यो पहलबाट कपडा उपभोगमा रहेको हाम्रो आयातनिर्भरता कम हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु। मैले सरकारको नेतृत्व गर्दा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको थियो। त्यसैका आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायतका उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको विदितै छ। सघन गृहकार्य गरेर अघि सारिए पनि सरकारबाट बाहिरिएसँगै रोकिएको यो प्रक्रिया पुनः अघि बढ्नु सुखद कुरा हो… सरकारलाई यस प्रक्रियालाई परिणाममुखी ढङ्गले अघि बढाउन आग्रह गर्दछु।”
मुलुकमा उत्पादन बढाउने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सरकारका राम्रा काममा यसरी रचनात्मक सहयोग पुर्याउँदै आउनुभएका प्रचण्ड, बालेन सरकारले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक विधिलाई पन्छाएर निरङ्कुश शैलीमा सञ्चारकर्मीमाथि धरपकड गर्न थालेपछि भने एकाएक निराश र आक्रोशित बन्नुभएको छ। विधिको शासन र गणतन्त्रको मर्मविपरीत राज्य संयन्त्रको दुरुपयोग भएपछि उहाँ सरकारको यो कदमविरुद्ध प्रस्ट रूपमा उभिनुभएको हो।
प्रचण्डको भनाई जस्ताको तस्तै:
“नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो।
उहाँलाई तत्काल रिहाइको माग गर्दछु।”


