Dr Sudesh Gyawali
औषधि विज्ञान, गुणस्तर र बिरामीको मनोविज्ञान: प्राध्यापक डा. सुदेश ज्ञवालीसँगको विशेष संवाद
▶ Video Interview (भिडियो अन्तर्वार्ता हेर्नुहोस्)
यो संवाद नेपाल मेडिकल कलेजका फार्माकोलोजी विभागका प्रमुख, प्राध्यापक डा. सुदेश ज्ञवालीसँग लिइएको अन्तर्वार्ता हो। उहाँ यसै विषयका विज्ञ, शोधकर्ता (पीएचडी) तथा प्राध्यापक हुनुहुन्छ। औषधिको नामकरण, गुणस्तर, ब्रान्ड र जेनेरिकबीचको भिन्नता, ‘सोच र स्वास्थ्य’ बीचको सम्बन्ध तथा डाक्टर-बिरामी सम्बन्धमा आधारित रहेर गरिएको यो विस्तृत कुराकानीको सम्पादित रूपः
पत्रकार: सर, यहाँलाई यस कार्यक्रममा हार्दिक स्वागत छ।
डा. सुदेश ज्ञवाली: नमस्कार।
पत्रकार: तपाईं लामो समयदेखि चिकित्सा शास्त्र अन्तर्गत औषधि विज्ञान (फार्माकोलोजी) विषयमा प्राध्यापन गर्दै आउनुभएको छ। आफ्नो व्यावसायिक यात्राबारे संक्षिप्तमा बताइदिनु न।
डा. सुदेश ज्ञवाली: सुरुमा मैले अस्पताल फार्मेसीमा काम गरेँ। त्यसपछि वि.सं. २०६३ (सन् २००३) देखि नेपाल मेडिकल कलेजको फार्माकोलोजी विभागमा आबद्ध भएर ट्यूटरको रूपमा काम गर्दै हाल प्राध्यापक (प्रोफेसर) को रूपमा कार्यरत छु।
१. औषधिको नामकरण, जेनेरिक र ब्रान्डबीचको भिन्नता
पत्रकार: आम जनमानसमा चिकित्सकले लेख्ने औषधि र बिरामीले सेवन गर्ने औषधिको नामलाई लिएर प्रायः अन्योल देखिने गरेको छ। औषधिको नामकरण (Nomenclature) कसरी गरिन्छ र यसका प्रकारहरू के-के हुन्?
डा. सुदेश ज्ञवाली: औषधि विज्ञानको पढाइमा हामी औषधिका मुख्यतया तीनवटा नामहरू हुन्छन् भनी पढाउँछौँ:
1. केमिकल नेम (Chemical Name): औषधिको कच्चा पदार्थ र उत्पादनको गुणस्तर नियन्त्रण गर्दा प्रयोग हुने रासायनिक नाम। यो प्याकेजिङमा देखिँदैन।
2. जेनेरिक नेम (Generic Name): औषधिको आधिकारिक र वैज्ञानिक नाम। यो जुनसुकै औषधिको प्याकेटमा सानो अक्षरमा भए पनि अनिवार्य रूपमा उल्लेख गरिएको हुन्छ।
3. ब्रान्ड नेम (Brand Name): उत्पादक कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि राख्ने व्यावसायिक नाम, जुन ठूला अक्षरमा लेखिएको हुन्छ।
उदाहरणका लागि: ‘चाउचाउ’ जेनेरिक नाम जस्तै हो भने ‘वाइवाइ’, ‘प्रीति’, ‘मायोस्’ वा ‘करेन्ट’ ब्रान्ड नेम हुन्।
पत्रकार: चिकित्सकहरूले जेनेरिक नामको सट्टा ब्रान्ड नेम मात्र लेख्दा बिरामीलाई कस्ता व्यावहारिक समस्याहरू सिर्जना हुन्छन्?
डा. सुदेश ज्ञवाली: ब्रान्ड नेमले कहिलेकाहीँ गम्भीर भ्रम सिर्जना गर्छ। मेडिकल भाषामा यसलाई ‘साउन्ड अलाइक, लुक अलाइक’ (सुन्दा र हेर्दा उस्तै लाग्ने) भनिन्छ, जसले गर्दा औषधि पहिचानमा गल्ती हुन सक्छ।
एउटा उदाहरण दिन्छूँ: नेपालमा एउटा निश्चित ब्रान्डको औषधि सेवन गर्ने एकजना बिरामी कामको सिलसिलामा भारतको लखनऊ जाँदा सोही नामको औषधि पाउनुभएन। पछि औषधिको खोलमा भएको जेनेरिक नाम हेरेर मात्रै उहाँले त्यस्तै काम गर्ने अर्को ब्रान्डको औषधि फेला पार्नुभयो।
सबै देशमा सबै ब्रान्ड पाइँदैनन्। जस्तैः ज्वरोको औषधिको जेनेरिक नाम प्यारासिटामोल (Paracetamol) हो। नेपालमा यसलाई शाही औषधि लिमिटेडले ‘सिटामोल’ नामले बनायो, त्यसैले यो सिटामोलको रूपमा लोकप्रिय भयो। नेपालकै अर्को कम्पनीले यसलाई ‘निको’ नाम दिन सक्छ। तर भारतमा गएर ‘निको’ माग्दा पाइँदैन, ‘प्यारासिटामोल’ माग्नुपर्छ। तसर्थ, जेनेरिक नाम नै सर्वव्यापी हुन्छ।
२. औषधिको छनोट, गुणस्तर र बजारको प्रभाव
पत्रकार: बिरामी फार्मेसीमा जाँदा चिकित्सकले लेखेको ब्रान्ड नभएर अर्को ब्रान्ड दिने चलन छ। चिकित्सकहरूले नै निश्चित ब्रान्ड नै सिफारिस गर्नुको पछाडि के कारण हुन्छ?
डा. सुदेश ज्ञवाली: विकासोमुख देशहरूमा चिकित्सकहरू कुनै विशेष कम्पनीको गुणस्तरमा विश्वास गरेर ब्रान्ड लेख्ने गर्छन्। तर यहाँ मुख्य समस्या के हो भने— औषधि छनोट गर्ने मानिस चिकित्सक हुन्, तर पैसा तिर्ने मानिस बिरामी हुन्।
यदि चिकित्सकले कुनै व्यावसायिक प्रभावमा परेर ब्रान्ड लेख्नुहुन्छ भने त्यो गलत हो। अर्कोतर्फ, फार्मेसी सञ्चालकले बढी नाफा पाइने ब्रान्ड बेच्न खोज्दा पनि बिरामी मर्कामा पर्न सक्छन्। वास्तवमा, बजारमा पाइने हरेक औषधि गुणस्तरीय छ भनी सुनिश्चित गर्ने पहिलो दायित्व औषधि व्यवस्था विभाग (DDA) लगायत राज्यका निकायहरूको हो।
३. औषधिको तीन तत्त्व र ‘सोच र स्वास्थ्य’ बीचको सम्बन्ध
पत्रकार: तपाईंले आफ्नो शिक्षणमा ‘औषधि तीनवटा तत्त्व मिलेर बनेको हुन्छ’ भन्नुहुन्छ, यो अवधारणा के हो?
डा. सुदेश ज्ञवाली: म मेरा विद्यार्थीहरूलाई सधैँ भन्छी— औषधिमा मुख्यतया तीनवटा कुरा हुन्छन्:
1. केमिकल (Chemical Element): औषधिको मुख्य रासायनिक घटक (जस्तै: प्यारासिटामोल वा पेन्टोप्राजोल)।
2. सूचना (Information): औषधिको सही मात्रा (Dose) र खाने तरिका (जस्तै: ४० एमजी, खानाअगाडि वा पछाडि खाने)। मात्रा धेरै भए विष बन्छ, थोरै भए काम गर्दैन।
3. विश्वास (Faith/Mindset): बिरामीले कति विश्वासपूर्वक त्यो औषधि सेवन गर्छ भन्ने कुरा।
पत्रकार: बिरामीको ‘सोच’ वा ‘विश्वास’ ले शारीरिक स्वास्थ्य र औषधिको असरमा कस्तो प्रभाव पार्छ?
डा. सुदेश ज्ञवाली: मानिसको सोचले शरीरमा प्रत्यक्ष हर्मोनल परिवर्तन ल्याउँछ। यसका केही उदाहरणहरू हेरौँ:
– पहिलो दृष्टान्त (मानसिक डर र हर्मोन): म एकपटक अँध्यारो स्टोररुममा छिर्दा भ्रमवश डोरीलाई सर्प देखेर डराएँ। मेरो दिमागको सोच्ने प्रक्रियासँगै शरीरमा एड्रिनालिन (Adrenaline) र कोर्टिकोस्टेरोइड (Corticosteroid) जस्ता हर्मोनहरू निस्कीय, मुटुको धड्कन बढ्यो र पसिना आयो। तर छोराले टर्च बालेर हेर्दा त्यो डोरी मात्रै थियो, जसले गर्दा छोरा हसायो र उसको शरीरमा ‘ह्याप्पी हर्मोन’ इन्डर्फिन निस्कियो। वस्तु एउटै (डोरी) थियो, तर सोचाइको आधारमा दुई बाबु-छोराको शारीरिक प्रतिक्रिया बिलकुल फरक भयो।
– दोस्रो दृष्टान्त (प्लेसिबो र नोसिबो इफेक्ट): चिकित्सा विज्ञानमा प्लेसिबो इफेक्ट (Placebo Effect) र नोसिबो इफेक्ट (Nocebo Effect) भन्ने हुन्छ। बिरामीलाई केही रोग नभए पनि पानीको सामान्य इन्जेक्सन (Water for Injection) दिएर ‘यो निकै प्रभावकारी औषधि हो’ भन्दा ऊ निको हुन्छ भने त्यो प्लेसिबो इफेक्ट हो। यसैगरी, नकारात्मक सोचका कारण सामान्य पिठोको पाउडर खाँदा पनि बान्ता हुनु नोसिबो इफेक्ट हो।
४. चिकित्सा कला (Art of Medicine) र डाक्टर-बिरामी सम्बन्ध
पत्रकार: सरकारी अस्पतालका चिकित्सकहरूको व्यवहारप्रति आम नागरिकको गुनासो र निजी अस्पतालप्रतिको विश्वास बढी हुनुको कारण के हो?
डा. सुदेश ज्ञवाली: आधुनिक चिकित्सा शास्त्रका पिता मानिने विलियम ओस्लरले भनेका छन्— “Medicine is an Art and Science” (चिकित्सा विज्ञान पनि हो र कला पनि)। पछिल्लो समय प्रविधिको विकाससँगै विज्ञान (Science) त धेरै अगाडि बढ्यो, तर बिरामीसँग गरिने संवाद र आत्मीयताको कला (Art) केही हदसम्म हराउँदै गयो।
एउटा भनाइ छ: “A good physician treats the disease; a great physician treats the patient who has the disease” (साधारण डाक्टरले रोगको उपचार गर्छ, तर महान डाक्टरले रोगीको समग्र अवस्था बुझेर उपचार गर्छ)।
रोग (Disease) भनेको भौतिक शारीरिक समस्या हो भने इलनेस (Illness) भनेको त्यससँग जोडिएको बिरामीको मानसिक तथा भावनात्मक पीडा हो। जस्तै, हात काट्दा कोही सामान्य रूपमा लिएर बेसार लगाउँछन्, कोही टिटनासको सुई लगाउन पुग्छन् भने कोही अत्यधिक अत्तालिएर इमर्जेन्सी पुग्छन्। समस्या एउटै भए पनि बिरामीको मानसिक प्रतिक्रिया फरक हुन्छ। चिकित्सकले केवल रिपोर्ट मात्र हेरेर मेसिन जसरी काम गर्नु ‘इन्जिनियरिङ’ हो, जुन काम भोलि आर्टिफिसियल इन्टेलिजेन्स (AI) ले पनि गर्न सक्छ। महान चिकित्सक बन्नका लागि बिरामीको मनोविज्ञान र भावना बुझ्न अति आवश्यक छ।
५. पूर्वीय दर्शन, परम्परा र आधुनिक पोषण विज्ञान
पत्रकार: हाम्रा परम्परागत चलनहरू (जस्तै परीक्षा वा शुभकार्यमा जाँदा दही र साग खुवाउने) को वैज्ञानिक आधार के हो?
डा. सुदेश ज्ञवाली: विद्यार्थी हुँदा म पनि यी कुरालाई अन्धविश्वास ठान्थें, तर पछि आधुनिक विज्ञानले यसको वैज्ञानिक सत्यता प्रमाणित गर्यो।
हाम्रो आन्द्राभित्र ट्रिलियनौँ सूक्ष्म जीवाणुहरू (Microorganisms) हुन्छन्, जसलाई दुई भागमा बाँडिएको छ:
1. शरीरलाई चाहिने उपयोगी कीटाणु (Good Bacteria / Normal Flora)
2. नचाहिने हानिकारक कीटाणु (Bad Bacteria / Pathogenic Flora)
यी दुईबीच सधैँ आन्द्रामा द्वन्द्व चलिरहन्छ। हानिकारक कीटाणुले जितेमा झाडापखाला जस्ता रोग लाग्छन्। यसलाई सन्तुलनमा राख्ने तरिकाहरू:
– प्रोबायोटिक्स (Probiotics): दही, मोही वा दूधजस्ता कुरा खाँदा पाइने ल्याक्टोब्यासिलस (Lactobacillus) जस्ता उपयोगी ब्याक्टेरियाले हानिकारक कीटाणुलाई परास्त गर्छन्।
– प्रिबायोटिक्स (Prebiotics): हरियो सागपात र रेसायुक्त (Fibrous) खानाले उपयोगी ब्याक्टेरियालाई बलियो बनाउँछ।
हाम्रा पुर्खाहरूले कतै बाहिर जाँदा वा पेट बिग्रने सम्भावना हुँदा दही र साग खाएर जाने चलन बसाएका थिए, जसको वैज्ञानिक अर्थ अहिले पुष्टि भएको छ। तसर्थ, पुर्खाहरूका परम्परागत ज्ञानलाई अन्धविश्वास भनेर तुरुन्त तिरस्कार गर्नु हुँदैन।
६. न्युट्रास्युटिकल्स (Nutraceuticals) र बजारको भ्रम
पत्रकार: बजारमा अहिले ‘न्युट्रास्युटिकल्स’ (Nutraceuticals) को प्रयोग र चर्चा धेरै छ, यो खासमा के हो?
डा. सुदेश ज्ञवाली: देशको विकाससँगै स्वास्थ्यका समस्याहरू पनि फेरिँदै जान्छन्। न्युट्रास्युटिकल्स भनेको औषधि होइन, यो खाद्य पूरक (Dietary Supplement) हो। यसका खोलमा स्पष्ट रूपमा “Not for Medicinal Use” (औषधिसम्बन्धी प्रयोगका लागि होइन) भनेर लेखिएको हुन्छ।
उदाहरण: पिसाबमा संक्रमण (UTI) हुँदा मुख्य औषधि १३ रुपैयाँको एन्टिबायोटिक हुन्छ, तर त्यससँगै ५१ रुपैयाँ पर्ने ‘क्रैनबेरी जुस’ वा सोही प्रकृतिको खाद्य पूरक न्युट्रास्युटिकल्सको रूपमा लेखिदिने चलन छ। महँगो भएकाले बिरामीलाई त्यो नै मुख्य प्रभावकारी औषधि हो भन्ने भ्रम हुन्छ, जबकि त्यो औषधि नभई खाद्य पूरक मात्र हो।
पोखराको एक घटनामा एकजना सेवाग्राही “काठमाडौँका डाक्टरले लेखेको औषधि पोखराभरि कतै पाइएन” भन्दै आक्रोशित भएर आउनुभएको थियो। उहाँले देखाएको बट्टामा न्युट्रास्युटिकल्स भनी लेखिएको थियो र त्यसमा ‘Not for Medicinal Use’ स्पष्ट उल्लेख थियो। यो औषधि नभई आहारविद् (Dietitian) को सल्लाहमा खाने कुरा हो भनेर बुझाएपछि उहाँ शान्त हुनुभयो। यस विषयमा औषधि व्यवस्था विभाग र सम्बन्धित निकायहरू थप सचेत हुनुपर्छ।
७. निष्कर्ष र अनुभवको महत्त्व
पत्रकार: चिकित्सकहरूले हजारौँ ब्रान्डहरू कसरी याद राख्छन् र औषधि सिफारिस गर्दा उनीहरूले के आधारमा निर्णय गर्छन्?
डा. सुदेश ज्ञवाली: एमबीबीएसको सुरुवाती वर्षहरूमा हामी विद्यार्थीलाई जेनेरिक नाम नै पढाउँछौं। तर क्लिनिकल प्रक्टिसमा उत्रेपछि सिनियरहरूको सिकाइ, बजारको अनुभव र आफ्नै चिकित्सकीय अनुभवका आधारमा चिकित्सकहरूले प्रभावकारी ब्रान्डहरू छनोट गर्ने गर्छन्।
चिकित्सा क्षेत्रमा इभिडेन्स-बेस्ड मेडिसिन (Evidence-Based Medicine) को ठूलो महत्व हुन्छ। महाभारतमै पनि जब भीष्म पितामह शरशैयामा हुनुहुन्थ्यो, तब श्रीकृष्णले पाण्डवहरूलाई उहाँबाट ज्ञान लिन पठाउनु भएको थियो। भीष्म पितामहले “साक्षात् ज्ञानस्वरूप श्रीकृष्ण हुँदाहुँदै मैले सिकायने के छ र?” भन्दा श्रीकृष्णले भन्नुभएको थियो— “तपाईंको साद्धान्तिक ज्ञानभन्दा धेरै ठुलो तपाईंको जीवनको प्रत्यक्ष अनुभव छ, र अनुभवबाट प्राप्त हुने ज्ञान विशिष्ट हुन्छ।”
तसर्थ, चिकित्सकले किताबी ज्ञानसँगै आफ्नो अनुभव, औषधिको प्रभावकारिता र बिरामीको मनोभावनालाई समेटेर खुला मनले सेवा दिनुपर्छ।
पत्रकार: आफ्नो व्यस्तताका बीच यो लामो र महत्त्वपूर्ण संवादका लागि यहाँलाई धेरै-धेरै धन्यवाद।
डा. सुदेश ज्ञवाली: हजुरलाई पनि धेरै धन्यवाद! हाम्रा हजुरआमाहरूले कथा सुनाएपछि ‘भन्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला’ भन्नुहुन्थ्यो। सुन्ने काम ठूलो र धैर्यको हुने हुनाले तपाईंले मलाई सुनको माला दिनुभयो, त्यसका लागि धेरै-धेरै धन्यवाद।
