काठमाडौँ, उदयानन्द स्मारक प्रतिष्ठानले महाकाब्यकार एवं समालोचक डा. शैलेन्दुप्रकाश नेपाललाई ‘आदिमहाकवि उदयानन्द पुरस्कार’ र नियात्राकार गीता रेग्मीलाई ‘रामेश्वर-इन्द्रछायादेवी प्रतिभा पुरस्कार’द्वारा सम्मानित गरेको छ।
प्रतिष्ठानका संस्थापक सदस्य र वर्तमान उपाध्यक्ष सन्तनु अर्यालले स्वागत मन्तव्य राख्दै भन्नुभयो, “साहित्य मानव समाजको विकासको सूचक हो। विगत साढे तीन दशकदेखि यस प्रतिष्ठानले नेपाली साहित्य क्षेत्रमा क्रियाशील स्रष्टाहरूलाई प्रोत्साहन गर्दै आएको छ।” यस प्रतिष्ठानबाट हालसम्म १९ जना स्रष्टाहरू सम्मानित भएको उपाध्यक्ष सन्तनुले बताउनुभयो।
कार्यक्रमको संयोजन विनोदचन्द्र शर्मा (पोखरेल)ले गर्नुभएको थियो। प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसीप्रसाद भट्टराई र सभापति डा. प्रकाशप्रसाद अर्ज्यालले संयुक्त रूपमा सम्मानित स्रष्टा डा. नेपाल र रेग्मीलाई क्रमशः नगद पुरस्कार रु. २५,०००/- र रु. १०,०००/- सहित सम्मानपत्र प्रदान गर्नुभयो।
प्रमुख अतिथि डा. भट्टराईले सम्बोधनका क्रममा आदिमहाकवि उदयानन्दको योगदानको प्रचार-प्रसार अपर्याप्त रहेको उल्लेख गर्दै उहाँको सम्मानमा निरन्तर गोष्ठी, सेमिनार र विमर्श सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सभापति डा. अर्ज्यालले विगतलाई सम्झिँदै भन्नुभयो, “स्व. रामेश्वरप्रसाद अर्ज्यालको सक्रियतामा ऐतिहासिक स्रष्टा, राष्ट्रिय गौरवका धरोहर उदयानन्दको सम्मानमा प्रतिष्ठानले विगतदेखि नै साहित्यिक कार्यक्रम गर्दै आएको छ।”
सम्मानित स्रष्टा डा. नेपालले आफ्ना पिताले प्राप्त गरेको यो पुरस्कार आज आफूले समेत ग्रहण गर्न पाउँदा साथीभाइ, अग्रज र शुभेच्छुकहरूको माया, ममता र आशीर्वादले गौरवान्वित भएको बताउनुभयो। अर्की सम्मानित स्रष्टा रेग्मीले यो पुरस्कारले आफूमा थप जिम्मेवारी बोध भएको विचार व्यक्त गर्नुभयो। पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मीले सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्राज्ञ विष्णु प्रभात सापकोटाले उदयानन्दद्वारा लिखित कृतिहरुको खोजी, संकलन र महाकाव्य प्रकाशन कार्यमा अतुलनीय योगदान गर्नुभएको भन्दै स्व. ज्ञानमणि नेपालको योगदानको प्रशंसा गर्नुभयो। उहाँले थप भन्नुभयो, “सयौँ वर्ष अगाडिका दस्तावेजहरू समेत कौशीतोसखानामा सुरक्षित फेला परेकाले आदिमहाकवि उदयानन्दको महाकाव्य प्रकाशन गर्न सम्भव भयो।” यसर्थ नेपाल सरकार पनि धन्यवादको हकदार छ। आदिमहाकवि उदयानन्द अर्ज्याललाई यथाशीघ्र राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै प्राज्ञ सापकोटाले उदयानन्दका कृतिको सङ्कलन तथा प्रकाशनमा नेपाल प्रज्ञा-प्रतिष्ठानले गरेको कामको प्रशंसा गर्नुभयो। डा. केदार न्यौपानेले अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन गरेकी समिना खनालले मेडिकल डाक्टर श्रीमती स्वर्गीय विमला अर्याल र यश प्रतिष्ठानका अध्यक्ष प्रकाश अर्ज्यालसँगको स्मृतिबाट हराएको पुरानो सम्बन्धलाई आजको कार्यक्रमले पुनः स्थापित गर्ने संयोग जुराएको भन्दै पुराना घटनाहरूलाई स्मरण गर्दा उपस्थित सबैलाई आश्चर्यचकित बनाएको थियो।
आदिमहाकवि उदयानन्द अर्ज्यालको २७१औँ जन्मजयन्तीको अवसरमा आयोजित यस स्रष्टा सम्मान कार्यक्रमको अन्त्यमा डा. प्रकाश अर्ज्यालले सबैलाई धन्यवाद दिँदै सभा विसर्जन गर्नुभयो।