प्रा.डा.युवराज संग्रौला
नेपाल: विकास कि विस्तार?
घरमा सोफा फेरियो। टेलिभिजन र कोठाको रङ पनि फेरियो। सबै कुरा चिटिक्क देखियो। नातेदार र साथीहरू आएर भन्छन्, "निकै विकास भएछ।" तर, यो जे भयो, त्यो विकास होइन, केवल "विस्तार वा वृद्धि" मात्र हो। विकास भनेको जीवन पद्धतिमा रूपान्तरण हो, जहाँ उत्पादन, उत्पादकत्व र जीवन भोगाइको सहजता निर्माण हुन्छ। सुख र खुसी प्रकट हुन्छ। निराशाको अवस्था नष्ट हुँदै जान्छ र नकारात्मकतालाई सकारात्मकताले उछिन्छ। आध्यात्मिक परिवर्तन हुन्छ। यस्तो अवस्थाले "आधुनिक" भन्ने विशेषण पाउँछ, तर यही अवस्थामा इतिहासको विमर्श, संस्कृतिको पुनर्जागरण र सभ्यताको मूर्तता देख्न सकिन्छ। समाज समस्याको समाधानका लागि सक्षम हुन्छ।
तर, जब विकास "विस्तार र वृद्धि" मा सीमित हुन्छ, त्यसले एकातिर समाजलाई नवउपनिवेशको अधीनमा धकेल्छ भने अर्कातिर समाज भ्रष्ट, वातावरण ध्वस्त र मानसिकता अनैतिक तथा अपराधी बन्दै जान्छ। अब आफैं सोच्नुहोस्, नेपाल विकासको बाटोमा छ कि विस्तारको? तथ्यहरू यस्ता छन्:
- विकासको नाममा पहाडहरू मेयरका भतिज-डोजरले खनिरहँदा पहाड भत्किँदै छन्। बाढीको प्रकोप ह्वात्तै बढेको छ। पहाडमा पानीका मुहान सुकेका छन्। जंगल मासेर प्लटिङ भइरहेको छ। जमिनको व्यवस्थापन नष्ट हुँदैछ, र भूमि प्रशासन भ्रष्टाचारको दलदल बन्दैछ। भूकम्पको जोखिमलाई बेवास्ता गर्दै घरहरू बनिरहेका छन्। भविष्यमा मानवीय क्षतिको ठूलो त्रासदी बेहोर्नुपर्ने हुन सक्छ। वातावरण ध्वस्त हुँदैछ, र मानिसको प्रवृत्ति स्वार्थी बन्दैछ। यो स्वार्थलाई समाज र देशको कुनै चिन्ता छैन। यदि विकासमा प्रविधि र विज्ञानमात्र हावी भयो, र चिन्तनलाई बेवास्ता गरियो भने, हामीले देशलाई "सामाजिक र पर्यावरणीय रछ्यान" बनाउने छौं।
- देशको ऋणभार लगभग २८ खर्ब पुगेको छ। वार्षिक ४०-५० अर्ब ऋण सेवामा खर्च हुन्छ। नागरिकको उत्पादनमा आधारित आम्दानी छैन। पूँजीवादी वा नवउदारवादी उपभोक्तावादले मानिसलाई "वस्तु (कमोडिटी)" मा परिणत गरेको छ। आम्दानी विदेशी जागिर वा श्रमज्यालामा सीमित छ। बजार आयातित उपभोक्तावादी वस्तुको प्रभुत्वमा छ। मानिसको तलबी वा ज्यालादारी आम्दानीको ९४% उपभोगमा सकिन्छ। शिक्षा र स्वास्थ्यको खर्चले मानिसलाई गरिबीतर्फ धकेलिरहेको छ। तैपनि, विकासको नाममा मानिसको तडकभडक बढिरहेको छ। गाडी, घडी र विलासिताका सामान हुनेहरूको संख्या बढेको छ, तर ती सबै वित्तीय पूँजीवादी बैंकहरूको आम्दानी बनेका छन्।
- समाज सांस्कृतिक विचलनको शिकार भएको छ। देशभक्तिलाई सङ्कीर्णता, सांस्कृतिक धरोहरलाई अन्धविश्वास, मातृभाषालाई काठे बोली, नेपाली खानालाई पाखे खाना, संस्था बनाउनेलाई खाते र अश्लीलतालाई अधिकार ठानिएको छ। समाजमा नकारात्मकता बेचेर धनी हुने साहुहरूको वर्चस्व छ।
- शिक्षाले चेतनालाई समाप्त पारेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) थोपरेर पश्चिमी मान्यताले "हामी र तिमी" भनेर विभाजन गर्छ, र त्यही मान्यताको दास बनाइरहेको छ। राजनीतिमा यही दासत्व संरक्षण गर्ने नेतृत्व खोजिरहेको छ। यसले विचार र राजनीतिक-आर्थिक दर्शनको कत्लेआम गरिरहेको छ।
अहिले नेपाली समाज विसर्जनको बाटोमा छ। नवउपनिवेशको बाटोमा दौडिरहेको छ। आर्थिक समृद्धिबाट विचलित भएर विदेशी बजारको प्रभुत्वको दास बन्दैछ। अतः
उत्पादन र उत्पादकत्वको पुनर्निर्माणका लागि चेतनाको निर्माण, उत्पादन र उत्पादकत्व प्रवर्द्धन गर्ने व्यावसायिक शिक्षा, राष्ट्रको भूगोल र भूराजनीतिसापेक्ष भौतिक निर्माण, कृषि उत्पादनमा आत्मनिर्भरता, स्थानीय स्रोतमा आधारित औद्योगिक विकास, ग्रामीण आयआर्जनका लागि यातायात, बस्ती विकास, लघु ऊर्जा परियोजना, शिक्षा र बजार निर्माणका एकीकृत नीतिमा आधारित विकासको राजनीतिले मात्र देशलाई अगाडि लैजान सक्छ। अर्थात्, विचारमा आधारित नागरिक सर्वोच्चता आजको आवश्यकता हो। राजनीतिका नाममा अराजकता र भ्रष्टाचारविरुद्ध नयाँ विचारको खेती नै अबको राजनीतिक बाटो हो। तर, देशमा अहिले पनि पार्टी खोल्ने उद्योग चलेको छ। बाटोमा हिँड्ने हरेक मानिसको एउटा पार्टी छ।