प्रा.डा.सङ्ग्रौलाको अवकाश संगै प्रश्नहरू
नेपालको शैक्षिक विकास तल्लिन , आत्मविश्वास र बौद्धिक तर्कका धनी, तथ्य र प्रमाणको समन्वयसहित प्रस्तुत हुन सक्ने कूटनीतिक क्षेत्रमा एक अमर नक्षत्रको रूपमा चम्किएका प्रा.डा. युवराज सङ्ग्रौलाले २०८२ असार ३१ मा काठमाडौँ स्कूल अफ ल (केएसएल) बाट औपचारिक अवकाश लिनुभएको छ। उहाँसँगै अन्य ७ जना प्राध्यापक र प्रशासकीय कर्मचारीले पनि अवकाश लिनु भएको छ ।
प्रा.डा. सङ्ग्रौलाको असाधारण व्यक्तित्व, बौद्धिकता, राष्ट्रप्रेम, कूटनीतिक क्षमता र नेपालको शैक्षिक तथा सामाजिक परिदृश्यमा उनको अमिट योगदानको स्मरणले मात्र उनको सम्मान हुन्छ कि हुँदैन? यो प्रश्नको जवाफ नयाँ पुस्ताले दिनेछ। विश्वप्रसिद्ध प्राध्यापक, लेखक, विचारक, राष्ट्रवादी विद्वान, इतिहासविद् र कानुनविद्का रूपमा ख्यातिप्राप्त सङ्ग्रौलाको जीवन र कार्यले नेपालको गौरवलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याएको यथार्थलाई शत्रुले पनि लुकाउन सक्नेछैन। उनको अवकाशले केवल केएसएलका भावी पुस्ताले मात्र होइन, राष्ट्रले नै अभाव महसुस गर्नेछ। यो घटनाका कथा–व्यथासहित प्रा.डा. युवराज सङ्ग्रौलाको आरोह र अवरोहको कथा पढ्नुहोस्।
प्रारम्भिक जीवन: सपना र सङ्कल्प
वि.सं. २०१६ मा पाँचथरको सुभाङमा जन्मनुभएका प्रा.डा. युवराज सङ्ग्रौलाको जन्म केवल एक व्यक्तिको आगमन मात्र थिएन, यो नेपालको कानुनी शिक्षा र बौद्धिक क्षेत्रमा नयाँ युगको प्रारम्भको सङ्केत थियो। कानुन र अपराधशास्त्रमा उच्च शिक्षा हासिल गर्नुभएका प्रा.डा. सङ्ग्रौलाले विदेशका थुप्रै अवसरहरूलाई त्यागेर स्वदेशमै केही गर्ने अठोट गर्नुभयो। विश्वका प्रतिष्ठित कैयौँ विश्वविद्यालयमा प्राध्यापन गर्ने, बिस्वका सम्पन्न रास्ट्रहरुमा आवासिय सुबिधा लिने र मोटो परिश्रमिक लिने अवसरलाई त्यागेर स्वदेश फर्केर राष्ट्र निर्माणमा समर्पित भएका सङ्ग्रौलाको सङ्कल्पले उनलाई ३८ वर्षसम्म प्राध्यापनको पवित्र कर्ममा समर्पित गरायो। उनको जीवनको मूलमन्त्र थियो—राष्ट्र र नागरिकको भलोलाई मार्गदर्शक सिद्धान्त बनाएर अघि बढ्नु। भौतिक सुख र लालचको पछाडि कहिल्यै नलाग्ने उनको अटल चरित्रले उनलाई एक प्रखर, स्पष्टवादी र साहसी वक्ताको रूपमा स्थापित गरायो।
सङ्ग्रौलाको जीवन दर्शन सभ्यता, संस्कृति र रैथाने उत्पादनमा आधारित समुन्नत नेपालको परिकल्पनामा केन्द्रित थियो। उनले सधैँ स्वदेशी स्रोत र सम्भावनालाई प्राथमिकता दिँदै आत्मनिर्भर नेपालको सपना देखे। बिद्वानहरुले सत्य र उन्नतिको मार्गमा हिड्ने हो । भ्रम र झुक्यानमा परेका जनतालाई बुझाएर सहि मार्ग देखाउने हो । यसर्थ इमान्दार बिद्वानहरुले दुनिया बदल्ने हो नकि झुक्यान र भ्रममा परेका आम जनताको पछि दौडिने । यो दृष्टिकोणले उनलाई केवल एक विद्वान मात्र होइन, बरु एक दूरदर्शी नेतृत्वकर्ता र सामाज परिवर्तनको सङ्वाहक बनायो।
काठमाडौँ स्कूल अफ ल: बौद्धिक क्रान्तिको जग
काठमाडौँ स्कूल अफ ल (केएसएल) प्रा.डा. सङ्ग्रौलाको सपना, सङ्घर्ष र निरन्तरताको जीवन्त साक्षी पनि हो। नौ जनाको सकृयतामा स्थापित यो संस्था नेपालको कानुनी शिक्षाको क्षेत्रमा कोसेढुङ्गा सावित भएको छ। सङ्ग्रौलाले केएसएलको कार्यकारी निर्देशकको रूपमा नेतृत्व प्रदान गर्दै संस्थालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बनाउनुभयो। वाहाँको मार्गदर्शनमा केएसएलले मौलिक कानुनी शिक्षाको अवधारणा विकास गर्यो, जसले नेपालको शैक्षिक परिदृश्यमा नयाँ आयाम थप्यो।
केएसएल केवल एक शैक्षिक संस्था मात्र होइन, बरु बौद्धिकता, अनुसन्धान र सामाजिक उत्तरदायित्वको प्रतीक हो। सङ्ग्रौलाले सामुदायिक कलेजको परिकल्पना गरेर शैक्षिक क्षेत्रमा समावेशिता र उत्कृष्टताको नमुना प्रस्तुत गर्नुभयो। वाहाँको नेतृत्वले केएसएललाई अभिभावकत्व प्रदान गर्यो, जसले विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाई सधैँ प्रेरित गर्यो। केएसएलको २५ वर्षे इतिहासमा उनको योगदान अमर रहनेछ। वाहाँको समुहले स्थापना गरेको यो संस्थाले हजारौँ विद्यार्थीहरूलाई कानुनी शिक्षा प्रदान गर्दै नेपालको न्यायिक र प्रशासकीय क्षेत्रमा सक्षम नेतृत्व उत्पादन गरेको छ। यस अर्थमा डा. संग्रौलाको योगदानको स्मरण र शैक्षिक संस्थाको उपलब्धिलाई लिएर खुसी महशुस हुनु स्वभाविक रह्यो भने अब उनको नेतृत्व नरहनुले पीडा र अभाव खड्किरहने छ ।
अन्तरास्ट्रिय मञ्चमा नेपालको गौरव
प्रा.डा. सङ्ग्रौलाको बौद्धिकता र कूटनीतिक क्षमता वाहाँको व्यक्तित्वको सर्वाधिक विशिष्ट पक्ष हो। परराष्ट्र र कूटनीतिक मामिलामा वाहाँले ऐतिहासिक तथ्य, कानुनी आधार, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र प्रमाणहरूको आधारमा आफ्ना काउन्टरपार्टसँग सशक्त र तथ्यपरक बहस बिशेष मननिय छ। उनको यो क्षमताले नेपालको अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठा उकास्न महत्त्वपूर्ण भूमिका खेलेको तथ्यहरु अझै चर्चा हुनेगरेको छ। चाहे त्यो अन्तर्राष्ट्रिय सम्मेलन होस् वा कूटनीतिक वार्ता, वाहाँले सधैँ नेपालको हितलाई केन्द्रमा राखेर साहसपूर्वक आफ्नो तर्क प्रस्तुत गर्दै आउनु भएको छ।
संग्रौलाको प्रखर वक्तृत्व र तथ्य र प्रमाणमा आधारित तर्क गर्ने शैलीले उनलाई एक दुर्लभ व्यक्तित्वको पहिचान स्थापित गराएको छ। सार्क बिस्वबिध्यालय स्थापनाकाल ताका इण्डियन पक्षको बिस्तारवादी-हेपाहा हर्कतलाई उनले ऐतिहासिक तथ्यहरू, अन्तर्राष्ट्रिय महासन्धिहरू र कानुनी आधारहरूको गहिरो अध्ययनका काउण्टर दिएका थिए । प्रा.डा. संग्रौलाले विभिन्न फोरमहरुमा नेपालको पक्षलाई विश्वसामु सशक्त रूपमा प्रस्तुत गर्दै आएका छन् । उनको यो कूटनीतिक सक्षमताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, सम्मान र विश्वसनीयता प्रदान बढाएको छ । सङ्ग्रौलाले कूटनीतिक वार्ताहरूमा सधैँ सत्य र न्यायको पक्षमा अडिग रहँदै नेपालको स्वाभिमान संग कहिल्यै संझौता गरेनन् । उनको यो योगदानले उनलाई एक सच्चा राष्ट्रवादी विद्वानको रूपमा स्थापित गरायो।
बौद्धिकता र लेखन
प्रा.डा. सङ्ग्रौला केवल एक प्राध्यापक र कूटनीतिज्ञ मात्र होइनन्, बरु एक विश्वप्रसिद्ध लेखक र विचारक पनि हुन्। उनले लेखेका पुस्तकहरू, लेखहरू र अनुसन्धानहरूले कानुनी शिक्षा, इतिहास र सामाजिक दर्शनको क्षेत्रमा नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन् । उनको लेखनमा राष्ट्रप्रेम, सामाजिक न्याय, समानता र सांस्कृतिक संरक्षणको भावना गहिरोसँग झल्किन्छ। उनले सधैँ रैथाने उत्पादन र स्वदेशी स्रोतको उपयोगमा जोड दिदै आएका छन् । जसले नेपालको आर्थिक र सामाजिक उन्नयनका लागि मार्गदर्शन प्रदान गरेको छ।
डा.संग्रौलाको लेखनले नेपालको बौद्धिक समुदायलाई मात्र होइन, अन्तर्राष्ट्रिय विद्वानहरूलाई समेत प्रभावित गरेको छ। उनको विचार र दृष्टिकोणले नेपालको सभ्यता, संस्कृति र इतिहासलाई विश्वसामु उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । वाहाँको लेखनमा तर्क,तथ्य र साहित्यिक सौन्दर्यको संयोजन छ, जसले वाहाँलाई एक असाधारण विचारकको रूपमा स्थापित गरेको छ।
सामाजिक चुनौती र साहसी व्यक्तित्व
प्रा.डा. सङ्ग्रौलाको ख्याति र प्रतिष्ठाले केही व्यक्तिहरूलाई असहज बनायो। उनको स्पष्टवादी स्वभाव र सत्यको पक्षमा अडिग रहने चरित्रले उनलाई केही समूहको आलोचनाको निशानामा राख्यो। २०८१ असार ३० मा हिमालयन विकास परिषद्को कार्यक्रममा सहभागी विद्वान वक्ताहरूले सङ्ग्रौलाविरुद्ध यौनिक हिंसाको काल्पनिक आरोप लगाएर उनलाई बदनाम गर्ने प्रयास भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका थिए। यो घटनाले नेपाली समाजको एक दुखद पक्षलाई उजागर मात्र गरेन कि बौद्धिक र राष्ट्रवादी व्यक्तित्वहरूलाई झुटा आरोपहरूमार्फत कसरी कमजोर पार्ने प्रयास गरिन्छ भन्ने तथ्यहरु पक्ताहरुले पेस गरेका थिए।
चौतर्फी घेराबन्दी र षणयन्त्रका बावजुद यस्तो प्रतिकूल परिस्थितिमा समेत सङ्ग्रौलाले आफ्नो अटल चरित्र र साहसलाई कायम राखेको प्रती बक्ताहरुले खुसी ब्यक्त गरेका थिए । पूर्वसैनिक जनरल प्रेम सिंह बस्नेतले यस्ता झुटा आरोपहरूलाई बेवास्ता गर्दै सङ्ग्रौलालाई राष्ट्रहितमा अझ सशक्त रूपमा लाग्न सुझाए। यो सुझावले सङ्ग्रौलाको कार्यप्रति समाजको गहिरो विश्वास र सम्मानलाई झल्काउँछ। प्रा डा संग्रौलाले यस्ता चुनौतीहरूलाई पन्छाउँदै सधैँ राष्ट्र र नागरिकको भलो चिताई निस्वार्थ काम गरिरहने बताएका थिए।
अवकाश प्राप्त व्यक्तिहरूबारे
प्रा.डा. सङ्ग्रौलासँगै अवकाश लिएका अन्य थप ७ जनाको पनि केएसएलको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान छ। ३१ गते बाट अवकाश लिएका ती व्यक्तिहरूमा प्रा. प्रकाश केसी, प्रा. हङकङ राना, प्रा.डा. कुमार इङनाम, डा. गणेश भट्टराई, विश्वमणि पोखरेल, हरिशरण खत्री र सुधा केसी रहेका छन्। उनिहरूले केएसएलको शैक्षिक, प्रशासकीय र सांस्कृतिक क्षेत्रको विकासमा गरेको योगदान भने जीवन्त रहने छ।
- प्रा. प्रकाश केसी: केएसएलका संस्थापकमध्ये एक हुन्, प्रा. केसी। मानवअधिकारको क्षेत्रमा सक्रिय ४२ वर्षदेखि वकालत र प्राध्यापनमा सक्रिय रहँदै आएका केसीले हङकङ युनिभर्सिटीबाट एलएलएम गर्नुभएको छ।
- प्रा. हङकङ राना: एकेडेमिक इन्चार्जको रूपमा पाठ्यक्रम डिजाइन र शैक्षिक नेतृत्वमा रहेका प्रा. हङकङ रानाको यश कलेजमा उत्तिकै ठूलो योगदान छ। करिब ३७ वर्षको अध्यापन अनुभव छ।
- प्रा.डा. कुमार इङनाम: विश्व व्यापार र कानुनमा विद्यावारिधि गर्नुभएका प्रा.डा. इङनामले इलाममा एलएलएम कार्यक्रम सञ्चालनमा निर्णायक भूमिका खेलेका थिए। लेखकसमेत रहेका इङनामको अनुपस्थितिले केएसएललाई अभाव महसुस गराउनेछ।
- डा. गणेश भट्टराई: फौजदारी कानुनमा विद्यावारिधि गर्नुभएका डा. गणेश भट्टराईले क्रिमिनल ल, क्रिमिनोलोजी र फरेन्सिक साइन्स अध्यापन गर्दै आएका थिए।
- विश्वमणि पोखरेल: काठमाडौँ स्कूल अफ ल बाटै एलएलएम गर्नुभएका सह–प्राध्यापक पोखरेलले प्राध्यापनका अतिरिक्त सङ्गीत र कलाकारितामा संयोजकको भूमिका निर्वाह गर्दै आउनुभएको थियो।
- हरिशरण खत्री: कलेजका परिष्ट प्रशासक खत्रीले पनि अवकाश लिनुभएको छ।
- सुधा केसी: समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी सुधा केसीले पनि अवकाश लिनुभएको छ।
विश्लेषण: सङ्ग्रौलाको विरासत र भविष्यको प्रभाव
प्रा.डा. सङ्ग्रौलाको अवकाशले केएसेलको मात्र हैन समग्र नेपालकै शैक्षिक र बौद्धिक क्षेत्रमा ठूलो रिक्तता छोडेको छ। तर, उनको अटल विरासतले भविष्यका पुस्तालाई सधैँ प्रेरित गर्नेछ। केएसएलको स्थापना, कानुनी शिक्षाको नवीन अवधारणा, कूटनीतिक प्रभुत्व र राष्ट्रप्रेम उनको जीवनको पर्याय हुन्। उनको साहसी र स्पष्टवादी स्वभावले नेपाली समाजलाई सत्य र न्यायको पक्षमा बोल्न प्रोत्साहित गर्दै आएको छ भने यहि कारणले उनलाई कहिले काहीँ सजाय दिने गरेको छ।
यसर्थ अमुक व्यक्तिलाई उकासेर उनकोविरुद्ध लगाइएका झुटा आरोपहरूले नेपाली समाजको एक कमजोर पक्षलाई उजागर गर्छ, तर उनको अटल चरित्र र समाजको समर्थनले यस्ता चुनौतीहरूलाई परास्त गरेको डा. सङ्ग्रौलालाई नजिकबाट चिन्नेहरू बताउँछन्। उनले देखाएको बाटोले नेपाललाई समुन्नत, आत्मनिर्भर र सम्मानित राष्ट्र बनाउने सपनालाई जीवित राख्ने छ।
प्रा.डा. युवराज सङ्ग्रौला एक यस्ता व्यक्तित्व हुन्, जसले आफ्नो बौद्धिकता, साहस र राष्ट्रप्रेमले नेपालको शैक्षिक, कूटनीतिक र सामाजिक परिदृश्यमा अमर छाप छोडेका छन्। सार्क विश्वविद्यालय स्थापनाकालमा उनको भूमिका र नेपाली पक्षको प्रस्तुतिले दिल्लीको विस्तारवादी सत्ताको समूहमा हलचल नै ल्याएको थियो। काठमाडौँ स्कूल अफ ल को स्थापना, कानुनी शिक्षाको क्रान्तिकारी अवधारणा र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव वृद्धि उनको जीवनको आधारस्तम्भ हुन्। उनको अवकाशले एक युगको समापन भएको त हैन ? संग्रौला भन्छन “आज सम्मको कलेजका सिमित बिध्यार्थिलाई पढाउने जिम्मेवारी हटेपनि समग्र नेपाली समाजलाई सत्यको बाटो देखाउने जिम्मेवारी थपिएको छ।” यसर्थ उनको विचार, दृष्टिकोण र योगदानले नेपालको भविष्यलाई सधैँ प्रेरित गर्नेछ। उनले देखाएको बाटोले हामीलाई सत्य, न्याय र राष्ट्रहितका लागि अटल रहन प्रेरणा दिनेछ।
यस्ता दिग्गज र बौद्धिक मात्र होइन, राष्ट्रप्रति समर्पित व्यक्तित्वको योगदान र लगनले स्थापित गैर–नाफामूलक संस्थाका हरेक विद्यार्थीले शैक्षिक ज्ञानसँगै निष्ठा, राष्ट्रप्रेम, समर्पण, इमानदारी र सुसंस्कार प्राप्त गरेका छन्। कलेजको शैक्षिक वातावरण बलियो रूपमा स्थापित भइसकेको छ। अबको नयाँ पुस्ताले यसलाई अझ सिखरमा पुर्याउने अभिभारा लिएको छ। “म र मेरा पुस्ता, जसले यो कलेज स्थापनाका लागि लगानी गर्यो, त्याग स्वीकार्यो र आरोह–अवरोहका समयमा आफ्नै सन्तान र परिवारलाई भन्दा बढी माया गर्यो, र आजको स्थानमा ल्याई पुर्यायो, अनि विश्वभरि प्रतिष्ठित कलेजको दर्जा दिलायो, अवकाश लिँदैमा टाढिएको अर्थमा नलिनु, हामी सधैँ यो कलेजको भलोमा अनवरत तल्लीन रहनेछौँ,” डा. सङ्ग्रौलाले भन्नुभयो। “यसर्थ, केएसएल कलेजमा हिजो जस्तै भोलि पनि हाम्रो लगानी र योगदान कायम रहनेछ, कुरा यति मात्र फरक हो कि हाम्रो भूमिका, रूप र तरिका मात्र बदलिएको छ,” प्रा.डा. सङ्ग्रौलाले थप्नुभयो।
प्रा. डा. युवराज संग्रौलाले २०८२ असार ३१ मा काठमाडौँ स्कूल अफ ल (केएसएल) बाट औपचारिक अवकाश लिनुभएपछि केएसएल मात्र नभई समग्र नेपालको शैक्षिक क्षेत्रमा रिक्तता छोडेको कुरा विद्यार्थी र कर्मचारीहरूले बताएका छन्। यद्यपि, भूमिगत रूपमा काम गरिरहेका डा. संग्रौलाविरुद्ध षड्यन्त्र गर्नेहरू उत्साहित हुनु स्वाभाविक हो। तथापि, उनको यो अवकाश उमेर हदका कारण भएको बताइएको छ। यसकारण, डा. संग्रौलासहित अन्य प्राध्यापक र कर्मचारीको अवकाशको विषय आज कोहीका लागि हाँसोको कारण बनेको छ भने कोहीका लागि आँसुको। उनको योगदानले नेपाली समाजमा अमर छाप छोडेको छ।
कालतलाई पेशा मानिन्छ, र यो मान्यताअनुसार कुनै पनि मुद्दामा जोसुकैको पक्षमा वकालत गर्नु वकिलहरूको धर्म हो। तर प्रा. डा. युवराज संग्रौला भने मोटो पारिश्रमिकको लोभमा जोसुकैको पक्षमा वकालत गर्नु उचित ठान्दैनन्। यही सिद्धान्तका कारण उनले ठूलो आर्थिक अवसरलाई त्यागेर आफताव आलमको पक्षमा वकालत गर्न अस्वीकार गरी पीडितको पक्षमा उभिन रुचाए।
डा. संग्रौलाको हरेक विषयमा फरक र सिद्धान्तनिष्ठ दृष्टिकोण छ। उनी भन्छन्, “हरेक पेशाले आफ्नो गरिमा र नैतिकता कायम राख्नुपर्छ। म सबैले मेरो जस्तै गर्नुपर्छ भन्ने मान्यता राख्दिनँ, तर म आफू यस्तो गर्नमा सन्तुष्टि र गर्व अनुभव गर्छु।” यही कारण आजको स्वार्थले भरिएको संसारमा उनी एक अपवाद र दुर्लभ व्यक्तित्वका रूपमा उभिन्छन्।
तथापि, आजको नेपालमा मात्र नभई विश्व समुदायले समेत उनको त्याग, योगदान, र मूल्य-मान्यतालाई तत्काल सहजै बुझ्न सकिरहेको छैन। तर उनको वैचारिक दृढता र पेशागत निष्ठाले भावी पुस्तालाई प्रेरणा प्रदान गर्ने निश्चित छ। यसर्थ यो समाचारले शैक्षिक जगतमा आँसु र बिरोधी जगतमा खुसीको वहार ल्याएको छ।




