जेन जी (जेन जेड) का भाइबहिनीहरूलाई ११ बुँदे ध्यानाकर्षण
मिति: २०८२ भदौ २७
आदरणीय जेन जेडका होनहार युवाहरू,
तपाईंहरूले असङ्गठित रूपमा भए पनि सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको नियन्त्रणविरुद्ध गरेको आन्दोलनले नेपालको राजनीतिमा व्याप्त संस्थागत विकृति, विसङ्गति, र भ्रष्टाचारलाई केही हदसम्म सफा गरेको छ। यो कार्यका लागि तपाईंहरूलाई हार्दिक बधाई दिँदै, यो आन्दोलनले देशलाई खरानीको थुप्रोबाट माथि उठाउन कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा निम्न बुँदाहरू मार्फत तपाईंहरूको ध्यानाकर्षण गराउन चाहन्छु:
ध्यानाकर्षणका बुँदाहरू:
- सङ्गठनको एकीकरण: सबै जेन जेडका समूहहरूलाई एकीकृत गरी एउटा केन्द्रीय सङ्गठन निर्माण गर्नुहोस् र यसलाई देशव्यापी बनाउनुहोस्।
- अनुशासन र आचारसंहिता: आफ्नो सङ्गठनभित्र कडा अनुशासन र स्पष्ट आचारसंहिता लागू गर्नुहोस्।
- सल्लाहकार समिति: विज्ञ र अनुभवी व्यक्तिहरू सम्मिलित विश्वसनीय सल्लाहकार समिति गठन गर्नुहोस्।
- मन्त्रिपरिषद् गठनमा सजगता: अन्तरिम प्रधानमन्त्रीको नियुक्तिपछि बन्ने मन्त्रिपरिषद्मा विषयविज्ञ, देशभक्त, र इमानदार व्यक्तिहरूलाई समावेश गराउन जोड दिनुहोस्। मन्त्रिपरिषद् गठनमा राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, र देशभक्तिलाई मुख्य आधार बनाउनुहोस्।
- भ्रष्टाचारविरुद्ध कदम: प्रतिनिधिसभा विघटन गरी शक्तिशाली र स्वतन्त्र भ्रष्टाचार अनुसन्धान तथा कारबाही आयोग गठन गर्नुहोस्। साथै, अनधिकृत सम्पत्तिको राष्ट्रियकरण गर्ने नीति लागू गर्नुहोस्।
- भूभाग फिर्ता: सुगौली सन्धि (१८१६ मार्च ४) पश्चात् र १९४७ अगस्त १४/१५ मा गुमेको नेपालको भूभाग (सुस्ता, लिम्पियाधुरा, कालापानी, र लिपुलेक) फिर्ता लिन शक्तिशाली कार्यदल गठन गर्नुहोस् र तत्काल कदम चाल्नुहोस्।
- रक्षा सुदृढीकरण: नेपाली सेनामा प्रतिरक्षात्मक हवाई सेनाको निर्माणलाई आफ्नो मार्गचित्रमा समावेश गरी तत्काल कार्यान्वयनमा ल्याउनुहोस्।
- जलस्रोत सन्धिको पुनरवलोकन: भारतसँग भएका सबै जलस्रोत सन्धिहरूको गहन समीक्षा गर्नुहोस्। नेपालको हितमा नभएका सन् १९२१ यताका सन्धि-सम्झौताहरू रद्द गर्ने प्रक्रिया अगाडि बढाउनुहोस्।
- खुला सिमाना नियन्त्रण: नेपाल-भारत खुला सिमानालाई तत्काल बन्द गरी राहदानी प्रणाली लागू गर्नुहोस्।
- सन्धि-सम्झौताको संशोधन: भारतसँग भएका सबै सन्धि-सम्झौताहरूको विस्तृत विश्लेषण गरी तिनको संशोधन वा रद्द गर्ने प्रक्रिया सुरु गर्नुहोस्।
- आत्मनिर्भर अर्थतन्त्र: आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि रणनीति बनाई तत्काल कार्यान्वयन गर्नुहोस्। विशेष गरी, तराईका सबै जमिनमा सिँचाइ सुविधा र कृषि मल कारखाना स्थापनाका लागि तत्काल व्यवस्था मिलाउनुहोस्।
तपाईंहरूको उज्ज्वल भविष्य र देशको समृद्धिको शुभकामना सहित,
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ
