मानव शरीरका लागि निदाउनु अपरिहार्य भएपनि कहिलेकाहीं निन्द्रा लाग्दैन । निदाउन अनेक प्रयास गर्दा पनि निदाउन सकिँदैन । अहिले मानिसमा निन्द्रा नलाग्ने समस्या निकै बढेको छ ।
निन्द्रा नलाग्नुका व्यक्तिपिच्छे फरक कारण भएपनि यो आफैंमा एउटा रोग हो, जसलाई इन्सोमेनिया भनिन्छ । निन्द्रा नलाग्नु सामान्य जस्तो देखिएपनि यसले स्वास्थ्यलाई निकै हानी गरिरहेको प्राकृतिक चिकित्सक डा. मनोज ढकाल बताउँछन् ।
‘निन्द्रा नलाग्नुलाई सामान्य रुपमा लिनु हुँदैन, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । शरीरलाई स्वस्थ राख्न निन्द्राको मुख्य भूमिका हुन्छ,’ उनी भन्छन् ।
निन्द्रा मानिसका लागि अति आवश्यक भएपनि अहिले मानसिक तनाव, धुम्रपान तथा मद्यपान सेवन, कफीको सेवन, खानपान तथा अन्य धेरै कारणले मानिसमा निन्द्रा हराउँदै गएको छ । निन्द्रा हराउँदा त्योसँगै उनीहरुको जीवनशैली पनि अस्वस्थ बन्दै गइरहेको छ ।