सिन्धुली, असोज — नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल ‘राजन’ मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।
पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिकातर्फ जाँदै गर्दा मंगलबार उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै उपचारका लागि सिन्धुली अस्पताल ल्याइएका दाहालको उपचार जारी रहेको पत्रकार द्वारिका काफ्लेले बताउनुभयो।
नेकपा सिन्धुली जिल्ला इन्चार्जसमेत रहेका दाहालको दाहिने हातमा गम्भीर चोट लागेपछि सिन्धुली अस्पतालमै सफल शल्यक्रिया (अपरेसन) गरिएको छ। शल्यक्रियापछि अहिले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।
उक्त दुर्घटनामा दाहालसँगै मोटरसाइकलमा सवार पार्टीका मरिण गाउँपालिका इन्चार्ज पदम अस्थानी मगर पनि घाइते भएका थिए। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनाको खबर सार्वजनिक भएसँगै नेता, शुभचिन्तक तथा स्थानीयवासीले कम्युनिस्ट नेता दाहाल र नेता पदम अस्थानीको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।