रतन भण्डारी
राजदूतले नै किताब चोरेपछि…
मुलुकको प्रतिनिधित्व गरेर विदेशमा रहने राजदूत व्यक्ति मात्र नभई समग्र मुलुककै प्रतिनिधि हो। उसको बोली, व्यवहार र आचरणले अन्तर्राष्ट्रिय मञ्चमा देशको छवि प्रतिबिम्बित गर्छ। तर, २०४४ पुस ९ गते अमेरिकाका लागि नेपाली राजदूत विश्व प्रधानले एउटा पुस्तक पसलबाट मेडिकल विषयका दुईवटा पुस्तक चोरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर पछि छाडेको थियो। त्यस घटनापछि तत्कालीन सरकारले उनलाई फिर्ता बोलाएको थियो।
विदेशमा राजदूत नियुक्त व्यक्तिहरूबाट मुलुकको प्रतिष्ठा माटोमा मिलाउने यस्ता हर्कत पञ्चायत, बहुदल र गणतन्त्रकालसम्मै निरन्तर हुँदै आएका छन्। पञ्चायतकालमै जापानका लागि नेपाली राजदूत प्रकाशचन्द ठाकुरका छोरा लागूऔषध काण्डमा मुछिएपछि उनलाई फिर्ता बोलाइएको थियो।
बहुदलकालमा जर्मनीका लागि नेपाली राजदूत नोबेलकिशोर राईले स्थानीय डिपार्टमेन्ट स्टोरमा तिर्नुपर्ने रकम नतिरी फर्किएको भनेर समाचार आए पनि राईले त्यसो नगरेको र प्राविधिक रूपमा मात्रै त्रुटि रहेको दाबी गरिएको थियो।
सन् २००७ देखि २००९ सम्म बेलायतका लागि नेपाली राजदूत रहेका मुरारीराज शर्मा कार्यकाल थप नभएपछि बेलायतमै शरण लिएर बसेका थिए। अर्थात्, राजदूतजस्तो गरिमामय पदमा पुगेको व्यक्ति निर्लज्ज र निर्वस्त्र भएर शरणार्थीमा परिणत भएका थिए।
देवत्वकरणको सूचीमा रहने गरेका संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य पदीय जिम्मेवारी छाडेर संयुक्त राष्ट्रसंघकै जागिर खान पुगेका थिए।
पछिल्लो समय अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि मानव तस्करीको गम्भीर आरोप लागेपछि उनलाई फिर्ता बोलाइएको थियो। कतारका लागि नेपाली राजदूत बनाएर पठाइएकी भटमासविज्ञ मायादेवी शर्माले कतारलाई “खुला जेल” भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई फिर्ता बोलाइयो। त्यसैगरी साउदी अरबका लागि नेपाली राजदूत रहेका हमिद अन्सारीले सडक दुर्घटनामा मृत्यु भएका झापाका रमेश सुवेदीको क्षतिपूर्तिबापत प्राप्त १ लाख साउदी रियाल रकम अपचलन गरेपछि उनलाई पनि फिर्ता बोलाइएको थियो।
(भण्डारीको फेसबुकबाट)
(लेखक तथा देशभक्त विश्लेषकका रूपमा परिचित भण्डारी सीमा तथा इतिहासका विषयमा विशेष कलम चलाउँदै आएका छन्।)