७. काठमाडौं म.न.पा.का तत्कालीन मेयर बालेन्द्र साह (बालेन)को बयान कागज व्यहोरा:
२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ। २३ गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिइनँ। व्यवसायी र ट्रेड युनियनहरूले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका सञ्चार माध्यमबाट थाहा पाएँ। मेरो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो। जनधनको रक्षाका लागि सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेको थिएँ। घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। २४ गतेको घटना दुःखद थियो र २३ गते सरकारको अत्यधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ। २४ गते का.म.न.पा ले समयमा दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो। सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो। तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ। काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बनचरेडाँडा जाँदाखेरि अनावश्यक रोकेपछि विरोधस्वरूप Metaphor को रूपमा फेसबुकमा अभिव्यक्ति दिँदा “जलाइ दिन्छु” शब्द प्रयोग भएको थियो।
जेन जि आन्दोलनको यथार्थ खोज्न शुसिला कार्की (अन्तरिम सरकारले गठन गरेको) गौरी बहादुर कार्की नेतृत्वको छनबिन समितिको लिक भएको प्रतिबेदनको अंश