Kalo Kitab, File Picture
नैतिकता, नीति र उत्पादनमुखी राष्ट्रनिर्माणको बहस : झापा–२ बाट डा. युवराज संग्रौलाको उम्मेदवारी
नेपालको समकालीन राजनीतिमा नैतिकता एउटा भाषणको विषय बनेको छ, अभ्यासको होइन। यस्तो अवस्थामा विश्वविख्यात नेपाली प्राज्ञ विद्वान् डा. युवराज संग्रौलाको झापा क्षेत्र नं. २ बाट उम्मेदवारीले केवल निर्वाचनको प्रतिस्पर्धा होइन, राजनीतिक संस्कारमाथि पुनः बहस सुरु गराएको छ।
नैतिक साहसको ऐतिहासिक उदाहरण
डा. संग्रौला सुशासनविद्, राजनीतिक चिन्तक तथा अन्तर्राष्ट्रिय कानुनका विज्ञ हुन्। नेपालको इतिहासमा उनी एक मात्र त्यस्ता महान्यायाधिवक्ता बने, जसले पदको सुविधा होइन, पदको नैतिक जिम्मेवारी रोजे। महान्यायाधिवक्ता रहँदा तलबबाहेक पाइने सयौँ शीर्षकका भत्ता र नगद सुविधा नलिने सार्वजनिक घोषणा मात्र गरेनन्, कानुनले लिनैपर्ने बाध्यता देखिएपछि कानुन संशोधन गरेर समेत ती सुविधा नलिने उदाहरण स्थापना गरे।
न त त्यसअघि, न त त्यसपछि, कुनै पनि महान्यायाधिवक्ताले यस्तो नैतिक साहस देखाउन सके। यसैले डा. संग्रौला आज पनि निष्ठाको राजनीति गर्ने दुर्लभ उदाहरणका रूपमा स्मरण गरिन्छन्।
न्याय क्षेत्र सुधार : देखिएन तत्काल परिणाम, बसालियो दिगो जग
डा. संग्रौलाको कार्यकाल छोटो भए पनि उनले न्याय क्षेत्र सुधार, पूर्वाधार विकास र सुशासनको संस्थागत जग बसाले। तत्काल परिणाम नदेखिए पनि उनले सुरु गरेका सुधारका कामलाई पछिल्ला महान्यायाधिवक्ताहरूले निरन्तरता दिएका छन्। यसले दीर्घकालीन सोच र नीतिगत दृष्टिको महत्त्वलाई स्पष्ट गर्छ।
कानुनी शिक्षाको क्षेत्रमा उनले स्थापना गरेको काठमाडौँ स्कुल अफ ल ले नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय कानुनी शिक्षा सम्भव छ भन्ने प्रमाणित गर्यो। हाल सामुदायिक व्यवस्थापनमा सञ्चालित उक्त संस्थालाई भविष्यमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने घोषणाले उनको सार्वजनिक निष्ठालाई थप उचाइ दिएको छ।
सभ्यतागत चेतनाबाट उत्पादनमुखी राष्ट्रतर्फ
डा. संग्रौलाको राजनीतिक दृष्टिकोण भावनात्मक राष्ट्रवादमा सीमित छैन। उनी नेपाललाई सभ्यतागत जगमा उभिएको राष्ट्रका रूपमा व्याख्या गर्दै उत्पादन, औद्योगिकीकरण र भू–अर्थनीतिको बाटो समात्नुपर्नेमा जोड दिन्छन्।
उनका अनुसार समृद्धि उत्पादन क्षमतामा आधारित हुनुपर्छ, उत्पादन औद्योगिकीकरणबाट सम्भव हुन्छ, बैंकमा थन्किएको निष्क्रिय पूँजी उद्योग र ऊर्जामा लगाउनुपर्छ, विदेशिएका श्रम र बुद्धिलाई सम्मानपूर्वक स्वदेश फर्काउनुपर्छ, जमिन, जल र जंगललाई औद्योगिक शक्ति बनाउनुपर्छ र भू–राजनीतिलाई भू–अर्थनीतिमा रूपान्तरण गर्नुपर्छ।
झापा–२ : स्थानीय उम्मेदवारी, राष्ट्रिय सन्देश
“झापालाई उद्योग र डिजिटल हब बनाउने” डा. संग्रौलाको घोषणा स्थानीय नारा मात्र होइन, राष्ट्रिय मोडेलको प्रस्ताव हो। ३९ वर्ष शिक्षा क्षेत्रमा काम गरेका उनले झापाबाट मात्रै करिब ५०० कानुनविद उत्पादन गरेका छन्, जो आज न्यायाधीश, कानुन अधिकृत र अधिवक्ताका रूपमा देशसेवामा छन्।
अब आफ्नो आगामी २० वर्षको सक्रिय जीवन अर्थतन्त्रको विकास, परराष्ट्र नीतिको उन्नयन र राष्ट्रिय एकताको सुदृढीकरणका लागि समर्पण गर्ने उनको प्रतिबद्धता व्यक्तिगत महत्वाकांक्षा होइन, सार्वजनिक उत्तरदायित्वको निरन्तरता हो।
निष्कर्ष : लोकतन्त्रलाई निष्ठा चाहिन्छ
आज नेपालको लोकतन्त्रलाई उमेर, अनुहार वा दल परिवर्तनभन्दा बढी निष्ठा, नीति र दृढता आवश्यक छ। डा. युवराज संग्रौलाको उम्मेदवारी यही प्रश्नमाथि जनमत परीक्षण हो—के हामी अझै नारा र भावनामा सीमित रहन्छौँ, कि विचार, नैतिकता र उत्पादनमुखी राजनीतिलाई अवसर दिन तयार छौँ?
किनकि परिवर्तनको विकल्प व्यक्ति होइन। परिवर्तनको विकल्प विचार र दृढता हो। यसर्थ उनी एक जिउदो मान्छे हुन् जो निस्ठा र सुसासनको प्रयाय बनेका छन् ।