Greater Nepal adhyaksha
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालसँग कालो किताब (Kalo Kitab) ले गरेको अन्तर्वार्ता
पत्रकार: सर, आराम हुनुहुन्छ?
फणिन्द्र नेपाल: ठीकै छु।
पत्रकार: नेपालमा भारतको थिचोमिचो र दादागिरीका समाचारहरू निरन्तर बाहिरिरहँदा, ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल आफैँ पक्राउ पर्नुभयो। वास्तवमा कुरा के थियो?
फणिन्द्र नेपाल: हेर्नुस्, प्रतिशोध र षड्यन्त्रका स्वरूपहरू फरक-फरक हुने गर्छन्। यसपटक मलाई ‘अपराधिक विश्वासघात’ र ‘अनुचित लाभ’ लिन खोजेको भन्ने एउटा झूटो उजुरीका आधारमा पक्राउ गरियो। मैले ती व्यक्तिको नाम अहिले यहाँ लिन चाहिनँ। तर, उनले मलाई पहिले नै के भनेका थिए भने, “मलाई भारतीय दूतावासका मान्छेहरूले तपाईंलाई पक्राउ गराउन ५० लाख रुपैयाँ दिइसकेका छन्, मैले पैसा पाइसकेँ।”
ती व्यक्तिले मबाट पनि पहिले पैसा लिइसकेका थिए। मलाई पक्राउ गराउन र चरित्र हत्या गर्न एउटा बहाना चाहिएको थियो। त्यसैले थप आर्थिक प्रलोभन देखाएर ‘दक्षिणको दूतावास’ ले यो खेल खेलेको हो। यो कुरा मलाई अभियुक्त बनाउने व्यक्ति स्वयंले स्वीकार गरेका थिए। यसबाट के पुष्टि हुन्छ भने फणिन्द्र नेपालको चरित्र हत्या गर्न उनलाई प्रयोग गरिएको थियो। म १८ दिन हिरासतमा बसेर निस्किएँ। सुरुमा जिल्हा अदालतबाट मलाई दुई वर्षको कैद सजाय सुनाइएको थियो। त्यसपछि मैले उच्च अदालतमा निवेदन (रिट) दिएँ। व्यावहारिक र कानुनी रूपमा म केही कमजोर देखिए पनि नैतिक र आपसी विश्वासकै आधारमा कारोबार भएको थियो। तर, उनले विश्वासघात गर्दै अनुचित लाभ लिने नियत राखे। मेरो गिरफ्तारीमा उजुरीकर्ता र बाह्य शक्तिको भूमिका स्पष्ट देखिन्छ।
पत्रकार: यसमा तपाईंको आफ्नै कमजोरी वा गल्ती चाहिँ केही थियो कि?
फणिन्द्र नेपाल: मेरो सबैभन्दा ठूलो कमजोरी भनेकै कसैमाथि आँखा चिम्लेर विश्वास गर्नु हो। मैले उनलाई २० लाख रुपैयाँको चेक दिएको थिएँ। पैसाको यस्तो खेल र चेकको विषयमा कानुनी जटिलता आउन सक्छ भन्ने बुझ्दाबुझ्दै पनि अन्धो भएर विश्वास गर्नु नै मेरो कमजोरी भयो।
पत्रकार: उनले कुन बहानामा चेक मागेका थिए?
फणिन्द्र नेपाल: वास्तवमा मैले उनीसँग पैसा सापट लिएको थिएँ। मैले भनेको थिएँ– “तपाईं मलाई २० लाख रुपैयाँ दिनुस्, म धितो स्वरूप २० लाखकै चेक दिन्छु र केही समयपछि पैसा फिर्ता गरेर चेक लिन्छु।” यसरी हाम्रो बीचमा कारोबार भएको हो।
पत्रकार: अर्थात्, तपाईंले धितो स्वरूप २० लाखको चेक दिनुभयो। पछि नगद बुझाउँदा पनि उनले चेक फिर्ता गरेनन्, कुरा यही हो?
फणिन्द्र नेपाल: हो, मैले २० लाखको चेक दिएको थिएँ। तर उनले मलाई पूरै २० लाख दिएनन्, पटक-पटक गरेर मात्र दिए। पछि मैले पैसा फिर्ता लैजान र मेरो चेक फिर्ता गर्न भन्दा मेरो आर्थिक परिस्थिति अलिक अनुकुल थिएन। सोही कमजोरीको फाइदा उठाउँदै आपराधिक मानसिकता भएका ती व्यक्तिले चेक बाउन्स गराए। मैले पैसा फिर्ता गर्छु भन्दा उनले पहिले “चेक हरायो” भने। पछि फेरि “श्रीमतीले कपडा धुँदा गोजीमै परेर चेक पानीले भिज्यो, अब काम नलाग्ने भयो” भन्दै बहाना बनाए। मैले आपसी विश्वासका कारण लिखित भरपाई मागिनँ, जुन मेरो गल्ती भयो। उनले चलाखीपूर्वक २१ महिनापछि जिल्ला अदालतमा मुद्दा दायर गरे।
पत्रकार: २१ महिनापछि? सामान्यतया चेकको वैधता ६ महिना मात्र हुन्छ भनिन्छ नि, होइन र?
फणिन्द्र नेपाल: ६ महिनाभित्रमा चेक बाउन्स गराई सक्नुपर्छ। चेक बाउन्स भइसकेपछि मुद्दा हाल्ने म्याद निश्चित वर्षसम्म रहन्छ। उनले समयमै चेक बाउन्स गराएर राखेका रहेछन्।
पत्रकार: तपाईंले भोग्नुभएको यो दुःखलाई हेर्दा, Nepalको प्रहरी प्रशासन, अदालत र न्यायिक प्रक्रियामा कत्तिको कमजोरी देख्नुहुन्छ?
फणिन्द्र नेपाल: यस्ता मुद्दाहरू विशुद्ध लेनदेनका मुद्दा हुन्। अदालत र प्रहरीले यसलाई लेनदेनकै रूपमा हेर्नुपर्छ। चेक धितो स्वरूप दिइएको हुन्छ। तर, हाम्रो प्रणालीले यसलाई सिधै आपराधिक गतिविधिको रूपमा व्याख्या गर्छ। चेक अनादर (चेक बाउन्स) लाई फौजदारी अपराध मानिन्छ। अदालतले यो पनि हेर्नुपर्छ कि चेक लिने व्यक्तिले त्यसबापत के दियो? कुनै सामान दियो कि, जग्गा दियो कि, या पैसा दियो? त्यसको स्रोत के हो? त्यो नहेरी केवल खातामा पैसा छ कि छैन भन्ने प्राविधिक कुरा मात्र हेरिन्छ। खातामा पैसा नहुने बित्तिकै सिधै दोषी करार गरिन्छ, जुन न्यायसंगत छैन।
पत्रकार: उच्च अदालत पाटनको इजलास नम्बर ५ ले “नेपाललाई थुनामा राख्नु अनावश्यक र गैरकानूनी हो” भन्दै थुनामुक्त गर्ने आदेश दियो। तपाईं १७ दिन हिरासतमा बस्नुभयो। अदालतले तपाईंको थुनालाई गलत भन्नुको मुख्य कानुनी कारण के थियो?
फणिन्द्र नेपाल: अब उजुरीकर्ताको नाम लिनैपर्ने हुन्छ। कालोपुल नजिकै सिफल बस्ने युवराज खत्री भन्ने व्यक्तिले चेक अनादरको मुद्दा हालेका थिए। चेक उनीसँगै थियो, जबकी मैले पैसा फस्र्यौट गरिसकेको थिएँ तर उनले मलाई भरपाई दिएका थिएनन्। उनले थप २० लाख असुल गर्ने नियतले मुद्दा हाले। अदालतले केवल “चेक काटेपछि बैंकमा पैसा हुनुपर्छ” भन्ने प्राविधिक कुरा मात्र हेर्यो। अदालतले ती व्यक्तिलाई सोध्नुपर्थ्यो– “तिमीले फणिन्द्र नेपाललाई २० लाख रुपैयाँ कुन स्रोतबाट दियौ? उनले चेक दिनुको कारण के हो?” तर त्यस्तो केही सोधिएन। हाम्रो न्याय प्रणालीमा खातामा पैसा नभए सिधै थुन्ने परिपाटी छ, जसको शिकार म भएँ। तर पछि उच्च अदालतले मेरो निवेदनउपर सुनुवाइ गर्दै मलाई थुनामा राख्नु गैरकानूनी ठहर गर्यो।
पत्रकार: चेक अनादर वा चेक बाउन्सको मुद्दामा खातामा पैसा छैन भने मान्छे सिधै पक्राउ पर्ने कानुनी व्यवस्था छ। यसमा चेक बाउन्स भए प्रहरीकहाँ र चेक अनादर (चेक मिसम्याच वा अन्य प्राविधिक कारण) भए अदालत जाने प्रक्रिया छ। तपाईंको हकमा फैसला कार्यान्वयनका क्रममा पक्राउ पर्नुभयो। तपाईं त “मैले १० लाखको साटो २० लाखभन्दा बढी तिरिसकेँ, अब फेरि अर्को २० लाख किन तिर्ने? जे गर्छस् गर्” भन्ने अडानमा बस्नुभएको थियो, होइन र? अदालतले त उजुरीकर्ताको निवेदनकै भरमा थुन्ने आदेश दिन मिल्ने अधिकार दिएको देखिन्छ नि?
फणिन्द्र नेपाल: हो, मैले थप पैसा नतिर्नुका पछाडि मेरो आफ्नै नैतिक धरातल (Moral Ground) थियो। मैले उनलाई पैसा बुझाइसकेकाले “तिमीलाई DOUBLE पैसा दिन्नँ” भन्ने मेरो अडान थियो। तर उनले चलाखीपूर्वक “पैसा दिएको प्रमाण वा भरपाई कहाँ छ?” भन्दै कानुनी छिद्रको फाइदा उठाए। अर्कोतर्फ, उनले मलाई पूरै पैसा दिएको प्रमाण पनि अदालतले खोजेन। अदालतले केवल यति हेर्यो कि— फणिन्द्र नेपालले २० लाखको चेक दिएका थिए, जुन खातामा पैसा नभएर बाउन्स भयो, त्यसैले उनलाई पक्राउ गर्नुपर्छ।
हाम्रो न्याय प्रणालीमा जिल्ला, उच्च र सर्वोच्च अदालतको जुन तहगत संरचना छ, त्यो एक हिसाबले निकै राम्रो रहेछ। यदि जिल्ला अदालत मात्रै अन्तिम हुन्थ्यो भने त म जस्ता मान्छेहरू फसेको फसै हुन्थे। उच्च अदालत भएकाले नै ममाथि न्याय हुन सक्यो। मैले उच्च अदालतमा निवेदन दिँदै “मेरो पैतृक सम्पत्ति र अन्य स्रोतहरूबाट कानुनी र प्राविधिक रूपमा मिलाउनुपर्ने रकम व्यवस्थापन गर्छु” भन्दा पनि ती उजुरीकर्ताले “मलाई पैसा चाहिएको होइन, फणिन्द्र नेपाललाई थुनाउनु मात्र मेरो एकमात्र उद्देश्य हो” भनेका थिए। किनभने ग्रेटर नेपालको अध्यक्षलाई थुनाउन सके युवराज खत्रीको नाम पनि मिडियामा आउँछ र सञ्चारमाध्यममा छाइन्छ भन्ने उनको सस्तो लोकप्रियता कमाउने दाउ थियो।
यसले मलाई रुसी साहित्यको एउटा कथा सम्झाउँछ। कथामा एकजना व्यक्ति अत्यधिक मदिरा सेवन गरेर नालीमा लड्छ。 नगर प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पुर्याउँछ। भोलिपल्ट राष्ट्रिय दैनिक पत्रिकामा “एक व्यक्ति नालीमा लडेको अवस्थामा उद्धार” भनेर समाचार छापिन्छ। त्यो समाचार देखेपछि ऊ आफ्नो नाम पत्रिकामा आएकोमा गर्व गर्दै सडकभरि “मेरो नाम पत्रिकामा छापियो” भन्दै खुसी भएर कराउँदै हिँड्छ। कसैले “के विषयमा नाम छापिएछ, हेरौँ त” भन्दा पो थाहा हुन्छ कि ऊ त नालीमा लडेको भनेर बदनाम भएको रहेछ! युवराज खत्रीको मानसिकता पनि त्यस्तै देखियो। फणिन्द्र नेपाललाई थुनाउन पाए आफ्नो नाम पनि चर्चामा आउने र भारतीय दूतावासबाट आर्थिक लाभ मिल्ने उनको दाउ थियो।
हाम्रो समाजमा एउटा प्रवृत्ति छ– अदालतले आफ्नो पक्षमा फैसला दियो भने “अदालतले न्याय गर्यो, अदालत राम्रो” भन्ने र विपक्षमा फैसला आयो भने “न्यायाधीश बिके, घुस खाए, कानुनको रखवालाले नै गैरकानुनी काम गरे” भन्दै गाली गर्ने। तर, म के भन्छु भने उच्च अदालत पाटनले ममाथि न्यायसंगत विवेक प्रयोग गर्यो।
पत्रकार: उच्च अदालतले विवेक प्रयोग गर्यो भनेपछि त जिल्ला अदालतले कतै न कतै गल्ती गरेको देखियो नि? जिल्ला तहका न्यायाधीश र उच्च वा सर्वोच्च तहका न्यायाधीशहरूको सोच्ने दायरा र व्यापकतामा फरक हुने रहेछ, होइन त?
फणिन्द्र नेपाल: हो, घटनाक्रमले त्यही देखायो। जिल्ला अदालतको निर्णय चित्त नबुझेपछि मान्छे उच्च अदालत जाने कारण पनि यही हो। उच्च र सर्वोच्च अदालतका न्यायाधीशहरूको कानुनी दायरा र सोच अलि बढी व्यापक र परिपक्व हुने अनुमान गर्न सकिन्छ।
पत्रकार: तपाईंको गिरफ्तारीको पहिलो दिनको घटना स्मरण गरौँ न। प्रहरीले पक्राउ गर्दा कस्तो व्यवहार गर्यो र पहिलोपटक हिरासत (जेल) प्रवेश गर्दाको अनुभव कस्तो रह्यो?
फणिन्द्र नेपाल: अदालतबाट कैद सजाय तोकिसकेपछि म प्रहरीबाट जोगिन सक्ने अवस्था थिएन। म आफैँ अदालतमा आत्मसमर्पण गर्न जान पनि सक्थेँ, तर उच्च अदालतबाट अन्तरिम आदेश वा न्याय पाउने आशामा भएकाले मैले केही समय पर्खिएँ। तर, म कोसँग सम्पर्कमा छु र कहाँ छु भन्ने कुरा फोन ट्यापिङ र लोकेसन ट्र्याक गरेर प्रहरी मभएको ठाउँमा आइपुगेछ।
म कपन र सुकेधारा चोक तिर जानका लागि मोटरसाइकलमा चढ्न आँट्दै थिएँ। ठ्याक्कै तपाईंको जस्तै उचाइ भएको एकजना युवा सादा पोसाकमा आइपुगे र मलाई सुरुमै अगाँलो हाले। त्यो अगाँलो प्रेम वा सद्भावको नभएर मलाई नियन्त्रणमा लिनका लागि थियो। यद्यपि, उनले मलाई कुनै दुर्व्यवहार गरेनन्। उनले “तपाईं ग्रेटर नेपालका फणिन्द्र नेपाल नै होइन? मास्क खोल्नुस् त” भने। मैले मास्क खोलेपछि “तपाईं नै हुनुहुँदो रहेछ, हामीले तपाईंलाई सिसिटिभी र अन्य माध्यमबाट पछ्याइरहेका थियौँ, आज तपाईं पक्राउ पर्नुभयो” भने। सुरुमा समात्न आउने व्यक्ति एक्लै थिए, तर अलि परका उनका दुईजना साथीहरू गाडी लिएर बसेका रहेछन्। 10 मिनेटजति हिँडाएर मलाई गाडीमा चढाए।
गाडीमा चढाइसकेपछि प्रहरीले मलाई एउटा राम्रो सुविधा दियो। उनीहरूले “तपाईंले अपराध महाशाखा पुग्नुअघि जो-जसलाई फोन करनाुपर्ने हो, गर्नुस्” भने। मैले हतार-हतार कागजमा टिपिएका केही पत्रकार साथीहरूको नम्बरमा फोन गरेर जानकारी गराए म पक्राउ परेको कुरा। पछि मलाई जिल्ला अदालतमा लगेर दुई वर्षको थुनुवा पुर्जी दिइयो।
पत्रकार: त्यसपछि तपाईंलाई टेकु (अपराध महाशाखा) पुर्याइयो। त्यहाँ के भयो?
फणिन्द्र नेपाल: टेकु पुग्दा कार्यालय समय सकिइसकेको थियो। अपराध महाशाखामा थुनुवा राख्ने उपयुक्त व्यवस्था नभएकाले उनीहरूले मलाई जिल्ला प्रहरी परिसर, भद्रकाली (काठमाडौँ) मा बुझाए। त्यहाँ मैले एक रात हिरासतमा बिताउनुपर्यो। यदि मलाई उनीहरूले दिउँसो ११ बजे वा २ बजेतिरै समातेका थिए भने सिधै जिल्ला अदालत हुँदै बेलुकासम्म कारागार (जेल) पुर्याउँथे र मैले हिरासतमा बस्नुपर्ने थिएन। मलाई बेलुका साढे ४ बजेतिर भद्रकाली पुर्याइएको थियो।
भद्रकाली हिरासतमा छिर्ने बेला एकजना प्रहरी कर्मचारीले मलाई चिन्नुभएछ। उहाँले “ओहो सर नमस्कार, आउनुभयो? झोला म राखिदिन्छु, चिन्ता नगर्नुस्” भन्दै सम्मानजनक व्यवहार गर्नुभयो। हिरासतमा चोरी, डकैती, वा अन्य गम्भीर अपराधमा संलग्न विभिन्न प्रकारका अभियुक्तहरू हुन्छन्। मैले ती प्रहरी भाईलाई “भाइ, यहाँ अनेकथरी बन्दीहरू होलान्, मलाई अलिकति सुरक्षित र राम्रो ठाउँमा राखिदिनुस् है” भनेँ। उहाँले “सर, तपाईं चिन्ता नगर्नुस्, म राम्रो ठाउँमा राख्छु” भन्नुभयो।
हिरासतभित्र चेक अनादर वा लेनदेनका मुद्दाका मान्छेहरू अपेक्षाकृत शालीन र भद्र स्वभावका हुँदा रहेछन्। मलाई पहिले तो गम्भीर प्रकृतिका अपराधीहरूको बीचमा राखियो भने रातभरि नसुती बस्नुपर्ला भन्ने डर थियो, तर प्रहरीले व्यवस्थापन राम्रो मिलाइदिएका कारण म ढुक्कसँग सुत्न सकेँ। प्रहरीले मलाई हिरासतभित्रै भए पनि मेरो मर्यादाको ख्याल गर्दै राम्रो र सुरक्षित स्थानमा राखेको थियो।
पत्रकार: भद्रकाली हिरासतको त्यो रातपछि तपाईंलाई डिल्लीबजार कारागार कहिले र कसरी पुर्याइयो? त्यहाँको प्रक्रिया कस्तो हुँदो रहेछ?
फणिन्द्र नेपाल: भोलिपल्ट अपराध महाशाखाबाट प्रक्रिया अघि बढाउन निकै ढिलो गरियो। दिउँसो १ बजेतिर मात्रै मलाई जिल्ला अदालत पुर्याइयो। त्यहाँ आवश्यक कानुनी चिठीपत्रहरू तयार पारियो। अदालतमा एउटा व्यवस्था के रहेछ भने कैदीले कुन जेल जाने भन्ने विकल्प रोज्न पाउँदो रहेछ।
सुरुमा मैले सुन्धारास्थित केन्द्रीय कारागार (सेन्ट्रल जेल) जाने विचार गरेको थिएँ। तर त्यहाँ भएका एकजना शुभचिन्तकले “केन्द्रीय कारागारभन्दा डिल्लीबजार कारागार अलि बढी खुला र सुविधासम्पन्न छ, त्यतै जानुस्” भनेर सुझाव दिएपछि म डिल्लीबजार कारागार गएँ। त्यहाँ पुग्दा बेलुकाको साढे ४ बजिसकेको थियो। डिल्लीबजार कारागारलाई ‘क’ र ‘ख’ गरी दुईवटा ब्लकमा विभाजन गरिएको रहेछ, जसको प्रशासनिक व्यवस्थापन पनि फरक- फरक हुने गर्छ।
पत्रकार: जेलभित्रको आन्तरिक व्यवस्थापन र अनुशासनको पाटो कस्तो हुन्थ्यो? त्यहाँको वातावरण कस्तो पाउनुभयो?
फणिन्द्र नेपाल: कारागारको एउटा चाखलाग्दो पक्ष के रहेछ भने, बाहिरी सुरक्षा प्रहरीले हेरे पनि जेलभित्रको आन्तरिक प्रशासन र व्यवस्थापन त्यहाँका कैदीबन्दीहरू (नाइके, सह-नाइके) ले नै चलाउँदा रहेछन्। म ‘क’ ब्लकमा पुगेपछि त्यहाँका आन्तरिक प्रशासन प्रमुख (जो स्वयं एक कैदी नै हुन्) ले मलाई जेलभित्र गर्न हुने र नहुने कुराहरू, अनुशासन र नियमहरूबारे विस्तृत रूपमा सम्झाए।
उनले मलाई भने, “तपाईंले यहाँ कोहीसँग पनि उत्तेजक कुराहरू गर्न पाउनुहुन्न।” उनी उमेरले मभन्दा निकै कान्छा थिए। मैले उनलाई प्रष्ट पारेँ, “हेर्नुस् भाइ, म ग्रेटर नेपाल आन्दोलनको अभियन्ता हुँ। मलाई मान्छेहरूले चिन्छन् र जिज्ञासा राख्छन्। मैले तिनको जवाफ दिनुपर्ने हुन्छ।” तर उनले अलि कडा रूपमा भने, “तपाईं ग्रेटर नेपालको अभियन्ता हो भन्ने कुरा यहाँ बिर्सिनुस्। तपाईं यहाँ केवल एक कैदी हो, अरू केही होइन।” मैले पनि परिस्थितिको गम्भीरता बुझेँ। जेलभित्र पुगेपछि जबरजस्ती आफ्नो अडान राख्नु मूर्खता हुन्थ्यो, त्यसैले मैले “हस् हजुर” भनेर उनको कुरा स्वीकार गरेँ। तर भोलिपल्टै मलाई ‘ख’ ब्लकमा सारियो।
‘ख’ ब्लकमा मलाई मेरो सुत्ने कक्षमा पुर्याउनुअघि जेलका नियमहरू सिकाउने छुट्टै टोली हुन्थ्यो। उनीहरूले लुगा धुने धारा, शौचालय, चिया र खाना खाने समय (कुन समयदेखि कुन समयसम्म भान्सा खुला रहन्छ), र बिहान नुहाउने समय जस्ता दैनिक जीवनका सबै व्यावहारिक कुराहरू सिकाए। साबुन, स्याम्पूलगायतका व्यक्तिगत सामानहरू आफैँले बोक्नुपर्ने वा जेलभित्रै रहेको पसलबाट किन्नुपर्ने व्यवस्था रहेछ। म तो आफ्नो झोलामा सबै व्यक्तिगत सामान बोकेरै गएको थिएँ।
पत्रकार: डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा तपाईंको पहिलो रातको अनुभव कस्तो रह्यो?
फणिन्द्र नेपाल: मेरो पहिलो रातको अनुभव सुखद नै रह्यो। हाम्रो ग्रेटर नेपाल आन्दोलनलाई नजिकबाट नियालिरहेका र मलाई असाध्यै सम्मान गर्ने केही व्यक्तिहरू पनि संयोगवश त्यहाँ भित्रै रहेछन्। उनीहरू मलाई त्यहाँ देख्दा निकै खुसी र गदगद भए। एकजनाले त “मैले जीवनमा फणिन्द्र नेपाललाई भेट्न पाउँछु भन्ने सोचेकै थिइनँ, आज यहाँ भेट्न पाएँ” भन्दै आफ्नो भावना राखे। कतिपयले “देशमा राष्ट्रवादी आन्दोलनमा लाग्नु कति गाह्रो छ भन्ने कुरा तपाईं यहाँसम्म आइपुग्नुले प्रमाणित गर्छ” भन्दै सहानुभूति प्रकट गरे। यस्तो रेस्पोन्स पाउँदा मन अलिकति प्रफुल्ल भयो।
म त्यहाँ १७ रात र १८ दिन बसेँ। मलाई एक दिन पनि आफू अपमानित कैदी भएको जस्तो महसुस भएन। यद्यपि, त्यहाँको कडा अनुशासन पालना गर्नुपर्ने हुन्थ्यो। जस्तै– राति 10 बजेपछि ठूलो स्वरमा बोल्न पाइँदैनथ्यो, साथीसँग साउती मार्न मात्र पाइन्थ्यो। यदि कसैले नियम उल्लंघन गरेमा कारबाही स्वरूप राम्रो ओछ्यानबाट हटाएर पलङमुनिको साँघुरो ठाउँमा सुताउने वा शौचालय सफा गर्न लगाउने जस्ता सजाय हुन्थे। त्यहाँ कैदी नाइकेहरूको आफ्नै कडा शासन चल्छ। मेरो मधुमेह (डायबिटिज) को समस्या र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर शुभचिन्तकहरूको अनुरोधमा मलाई ‘ख’ ब्लकमा सारिएको थियो, जहाँ मैले बाँकी १६ दिन बिताएँ।
जेल एउटा संरचनात्मक बन्दीगृह तो हो नै, तर त्यहाँभित्र अर्को एउटा ‘मानसिक जेल’ पनि हुँदो रहेछ। त्यहाँ आफ्नो खुसीले केही गर्न पाइँदैन। घण्टी बज्ने बित्तिकै ठ्याक्कै आफ्नो पलङमा पुगिसक्नुपर्sh। थोरै मात्र ढिलाइ भए कारबाही भोग्नुपर्छ।
पत्रकार: जेलभित्रको व्यापार र भेटघाटको प्रक्रिया कस्तो हुन्छ? त्यहाँ होटेल र पसलहरू पनि कैदीहरूले नै चलाउँछन् भनिन्छ नि?
फणिन्द्र नेपाल: हो, जेलभित्र बाह्य मान्छे कोही पनि हुँदैनन्। चिया, तरकारी वा पसल चलाउने सबै कैदीहरू नै हुन्। जस्तै– तपाईं मलाई भेट्न आउनुभयो र मैले तपाईंलाई चिया खुवाउन चाहेँ भने, मैले गेटमा बस्ने मान्छेलाई अर्डर दिन्छु। उसले कुन चिया (कालो वा दुध), कति कप र चिनी कति हाल्ने भन्ने कुरा भित्र माइकबाट भन्दिन्छ र तुरुन्तै चिया तयार भएर हाम्रो अगाडि आइपुग्छ। भित्र रहेका पसलहरूले आवश्यक सामानहरू बाहिरबाट अर्डर गरेर मगाउँछन्।
जहाँसम्म फोन सुविधाको कुरा छ, त्यो सबै कैदीलाई उपलब्ध हुन्छ। तर त्यसको एउटा नियम छ— बिहान ९ देखि १० बजेभित्र आफूले फोन करनाुपर्ने बढीमा तीनवटा नम्बरहरू एउटा बक्समा दर्ता गराउनुपर्छ। त्यो समयमा दर्ता नगराए भोलिपल्ट फोन गर्न पाइँदैन। त्यहाँ मोबाइल फोन वा व्यक्तिगत ल्यान्डलाइन प्रयोग गर्न पूर्ण प्रतिबन्ध छ, केवल जेलकै निश्चित फोन मात्र प्रयोग गर्न पाइन्छ।
सुरक्षाको पाटो निकै संवेदनशील हुन्छ। बिहानै उठेर चिया र तरकारी बनाउन प्रयोग गरिने चक्कु वा हतियारहरू निश्चित समयपछि सुरक्षित रूपमा लक गरेर राखिन्छ, ताकि कसैले त्यसको दुरुपयोग गर्न नसकोस्। यहाँसम्म कि हामीले प्रयोग गर्ने नेल कटरमा हुने सानो चक्कु समेत पहिले नै निकालिएको हुन्छ।
पत्रकार: जेल जीवनका क्रममा तपाईंको सबैभन्दा अविस्मरणीय वा बिझाउने घटना के रह्यो?
फणिन्द्र नेपाल: मेरो लागि सबैभन्दा अविस्मरणीय र अनौठो घटना म निस्किने बेलामा भयो। मैले जेलभित्र एउटा ‘जेल डायरी’ र मेरो ‘आत्मवृत्तान्त’ (Autobiography) लेख्नका लागि कपी किनेको थिएँ। त्यहाँका भाइ नाइकेसँग अनुमति लेकर पुस्तकालयको कुर्सी-टेबलमा बसेर मैले केही थान संस्मरणहरू लेखेको थिएँ। तर, म रिहा हुने बेलामा जेल प्रशासनले “यो डायरी बाहिर लैजान पाइँदैन” भन्यो।
मैले कडा आपत्ति जनाउँदै भनेँ— “यदि मेरो डायरी लैजान पाइँदैन भने म यहीँ अनशन बस्छु। मैले जेल प्रशासन वा यहाँको व्यवस्थाको विरुद्धमा केही लेखेको छैन। यसमा त मैले आफ्नो बाल्यकालका स्मृतिहरू मात्र समेटेको छु।” त्यसपछि जेल प्रमुख र आन्तरिक प्रशासनका मान्छेहरूले मेरो डायरी सरसरती जाँचेर मात्र मलाई फिर्ता दिए। निरंकुश कालमा समेत बन्दीहरूले जेल डायरी लेखेर बाहिर ल्याउन पाउँथे, तर लोकतन्त्रमा यस्तो हुनु अनौठो र दुःखद लाग्यो। कतै लोकतन्त्रको नाममा तानाशाहीको बीजारोपण तो भइरहेको छैन भन्ने प्रश्न उठ्छ। मलाई लाग्छ, फणिन्द्र नेपाल जेलमा छ, उसले केही न केही गर्छ वा लेख्छ भनेर ‘दक्षिणको दूतावास’ को इसारामा मलाई मानसिक रूपमा प्रताडित गर्न यस्तो गरिएको थियो। यद्यपि, पेन र कपी आफ्नो साथमा राख्न र कोठाको भित्तामा झोला झुन्ड्याउन पाइने जस्ता सामान्य सुविधाहरू उपलब्ध थिए।
पत्रकार: तपाईं हिरासतमा रहँदा बाहिरबाट कोही शंकास्पद व्यक्ति वा विदेशी नियोगका मान्छेहरू सोधपुछका लागि आएका थिए कि थिएनन्?
फणिन्द्र नेपाल: बाहिरबाट सिधै कोही आएनन्। तर, जेलभित्रै विदेशी दूतावासहरूले सूचना संकलनका लागि आफ्ना मान्छेहरू वा संयन्त्र पहिलेजस्तै परिचालन गरेका हुन्छन् भन्ने कुरामा म पूर्ण विश्वस्त छु।
पत्रकार: ग्रेटर नेपाल आन्दोलन, तपाईंको यो १७-१८ दिनको जेल बसाइ, र अहिले बाहिर आउँदा पनि अदालती प्रक्रिया जारी रहेको पृष्ठभूमिमा; समग्र भारतीय नाकाबन्दी र सीमा मिचाइका विषयलाई जोडेर नेपाली जनतालाई अन्तिममा के भन्न चाहनुहुन्छ?
फणिन्द्र नेपाल: नेपाली जनतालाई म के भन्न चाहन्छु भने— मुखले राष्ट्रवादी हुन सजिलो छ, तर व्यवहार र कामले राष्ट्रवादी हुन निकै कठिन छ। मुखले ठूला कुरा गर्नेहरू “तपाईं अघि बढ्नुस्, हामी ज्यान दिन तयार छौँ” भन्छन्, तर व्यावहारिक संकट पर्दा सानो सहयोग पनि गर्दैनन्। म पक्राउ पर्दा मलाई भेट्न जम्मा दुईजना मात्र आए— एकजना पत्रकार र अर्को ग्रेटर नेपालका पूर्व सचिव (जो पेशाले वकिल हुन्, यद्यपि मेरो मुद्दा उहाँले हेर्नुभएको होइन)। मेरा आफ्नै अभियन्ता वा आन्दोलनकारी भनिनेहरू कोही देखिएनन्। परिवारभित्र पनि कतिपयले “यसले हाम्रो नाक काट्यो” भनेछन्। म उनीहरूलाई भन्छु— नाक मेरो काटिएको हो, तिमीहरूको होइन। तर म कुन परिबन्धमा पारिएर जेल पुगेँ भन्ने कुरा महत्त्वपूर्ण हो। मेरो लागि यो जेल जीवन राष्ट्रियताको आन्दोलनमा थप एउटा ‘प्रमाणपत्र’ जस्तै बनेको छ।
यदि मैले कसैको पैसा खाएको वा अपराध गरेको भए न्यायाधीशले मलाई १७ दिनमै कैदमुक्त गर्ने आदेश दिने थिएनन्। म अन्यायमा परेको स्पष्ट भएर नै उच्च अदालतबाट न्याय पाएको हुँ। नेपाली जनताले अब असली राष्ट्रवादी को हो र अवसरवादी को हो भन्ने कुरा चिन्न सक्नुपर्छ। देशलाई माया गर्न केवल भाषण होइन, काम चाहिन्छ। केही साथीहरूले मलाई छुटाउन आर्थिक सहयोग संकलन गर्न समिति बनाउने प्रयास गर्दै हुनुहुन्थ्यो, तर मैले पैसा तिरिसकेको र कानुनी लडाइँ लड्न चाहेकाले म त्यसमा त्यति उत्साहित थिइनँ, यद्यपि उनीहरूको सद्भावको मैले विरोध गरिनँ। उनीहरू मलाई दुई वर्ष निष्क्रिय पार्न चाहन्थे, तर न्यायालयले मलाई त्यो षड्यन्त्रबाट जोगायो।
धेरैले भन्छन्— फणिन्द्र नेपाल जेल पर्दा सडकमा मान्छे किन उत्रिएनन्? अरू सामान्य विषयमा त आन्दोलन हुन्छ। वास्तविकता के हो भने, आम जनतामा “फणिन्द्र नेपाल एन्टि-इन्डियन (भारतविरोधी) भएकाले जेल परेका हुन्” भन्ने पर्यो। र, यस्तो चुनौतीपूर्ण र संकटग्रस्त अवस्थामा भारतविरोधी आन्दोलनको समर्थनमा सडकमा आउन मान्छेहरू डराउँछन्। यही नै तीतो सत्य हो।
पत्रकार: ग्रेटर नेपालको यो अभियान अब कसरी अघि बढ्छ त? यसलाई पुनः कसरी जीवन्त बनाउनुहुन्छ?
फणिन्द्र नेपाल: यो मेरो आमरण अभियान हो, म यसलाई निरन्तरता दिन्छु। दुई वर्षअघि क्याम्पसको प्राध्यापनबाट अवकाश पाएपछि मैले केही योजनाहरू बनाएको थिएँ, जुन केही मान्छेहरूलाई सुनाएको पनि थिएँ। मलाई लाग्छ, ती योजनाहरू दक्षिण (भारत) सम्म पुगेपछि मलाई रोक्न यो खेल खेलिएको हो। भारतीय सञ्चारमाध्यम ‘आजतक’ ले एकपटक भनेको थियो— “फणिन्द्र नेपाल भारतका लागि पाकिस्तानका आतंकवादी मसुद अजहरभन्दा पनि खतरनाक व्यक्ति हुन्, तर नेपालका लागि उनी ठूला राष्ट्रवादी हुन्।” हिजोका दिनमा हामी भारतीय दूतावास अगाडि निरन्तर विरोध गर्थ्यौँ, तर अहिले सामाजिक सञ्जालमा राष्ट्रियताभन्दा सस्तो मनोरञ्जन बढी बिक्छ। मान्छेहरू चाँडै बिर्सिन्छन्। त्यसैले मेरो पक्षमा जुलुस ननिस्किनुलाई मैले स्वाभाविक रूपमा लिएको छु।
पत्रकार: सामाजिक र राजनीतिक वृत्तमा एउटा ठूलो आशंका छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा “भारतले नेपालको दशौँ हजार वर्ग किलोमिटर भूमि मिचेको कुरा बिर्सिएर उल्टै नेपालले नै भारतको जग्गा अतिक्रमण गरेको रहेछ” भन्ने जुन अभिव्यक्ति दिए, त्यसको चौतर्फी विरोध भयो। कतिपयले यसलाई राष्ट्रघाती अभिव्यक्ति समेत भनेका छन्। यही बीच ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालको गिरफ्तारीको कुनै संयोग वा सम्बन्ध छ कि?
फणिन्द्र नेपाल: हेर्नुस्, प्रधानमन्त्री बालेन शाहको त्यो अभिव्यक्तिको जब चौतर्फी विरोध र आलोचना भयो, मैले भने उनको बचाउमा लेखेको थिएँ। मान्छेहरू उनी काठमाडौँको मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेकोमा म फुरुङ्ग परेको तर अहिले उनी चिप्लिँदा म मौन बसेको आरोप लगाउँछन्। तर हामीले सतहमा मात्र हेरेर हुँदैन, तथ्यमा पुग्नुपर्छ।
वास्तविक तथ्य के हो भने, नेपाल-भारत सीमा क्षेत्रमा ‘क्रस बोर्डर अकुपेसन’ (Cross Border Occupation) को समस्या छ। नापी र सीमा व्यवस्थापनको भाषामा यसको अर्थ दुवैतर्फका किसानहरूले एकअर्काको भूमिमा खेतीपाती गरिरहेका छन्। भारतीय किसानले नेपाली भूमिमा र नेपाली किसानले भारतीय भूमिमा वर्षौँदेखि बाली लगाउँदै आएका छन्। बालेन शाह आफैँ नापीका विशेषज्ञ होइनन्, प्रधानमन्त्री हुने बित्तिकै सीमाको सबै नक्सा उनको दिमागमा आफैँ छिर्ने पनि होइन। उनले नापी विभागका वर्तमान तथा पूर्व महानिर्देशकहरू र सीमाविद्हरूसँग ब्रिफिङ लिँदा यो जानकारी पाएका हुन्। तथ्यअनुसार, भारतीय किसानले करिब १२ सय हेक्टर नेपाली भूमिमा र नेपाली किसानले करिब १२ सय ५० हेक्टर भारतीय भूमिमा खेती गरिरहेका छन्। यसरी हिसाब गर्दा प्राविधिक रूपमा ५० हेक्टर बढी क्षेत्रमा नेपाली किसानले भारतीय भूमि भोगचलन गरिरहेको देखिन्छ, जुन निर्विवाद सीमा क्षेत्रको कुरा हो।
प्रधानमन्त्री बालेन शाहबाट संसदमा बोल्ने क्रममा ‘टङ स्लिप’ (Tongue Slip) अर्थात् शब्दको त्रुटि (Lacking) भएको हो। त्यसै दिन बेलुका परराष्ट्र मन्त्रालय र पछि परराष्ट्र मन्त्रीले समेत “प्रधानमन्त्रीको आशय सीमा मिचेको भन्ने नभई क्रस बोर्डर अकुपेसन (वारपार भोगचलन) मात्रै हो” भनेर प्रष्ट पारिसकेका छन्।
पत्रकार: तर प्रधानमन्त्री आफैँले संसदमा गएर त्यो गम्भीर शब्दलाई किन सच्याउनुभएन वा स्पष्टीकरण दिनुभएन? देशको प्रधानमन्त्रीको त जनताप्रति उत्तरदायित्व हुन्छ नि। परराष्ट्रले सच्याएर मात्र संसद्को रेकर्ड त सच्चिँदैन नि, होइन र? संसद्मा त “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने कुरा रेकर्ड भयो नि। प्रधानमन्त्री स्वयं आएर स्पष्ट पारेको भए के फरक पर्थ्यो?
फणिन्द्र नेपाल: हो, तपाईंको कुरामा म सहमत छु। प्रधानमन्त्री आफैँ संसद्मा उभिएर “मेरो ‘टङ स्लिप’ भयो, मेरो आशय सीमा मिचेको भन्ने नभई भोगचलनको विषय थियो” भनिदिएको भए धेरै राम्रो र अति उत्तम हुन्थ्यो। त्यो उहाँको कमजोरी नै हो। तर, प्रधानमन्त्रीले संसद्मा नबोले पनि उहाँ मातहतका दुईवटा निकायबाट यसको स्पष्टीकरण आइसकेको छ— पहिलो परराष्ट्र मन्त्रालयको तर्फबाट र दोस्रो परराष्ट्र मन्त्री स्वयंले संसद्मा उभिएर प्रधानमन्त्रीको आशय प्रष्ट पारिसक्नुभएको छ।
परराष्ट्र मन्त्रीले संसद्मा स्पष्ट पारिसकेपछि पनि प्रधानमन्त्रीले आफ्नो भनाइमा अडान लिएका छैनन्। उनले “मैले सीमा मिचेकै कुरा गरेको हुँ, तिमीहरूले मेरो कुरा किन सच्यायौ?” भनेर परराष्ट्र मन्त्रीलाई रोकेका वा स्पष्टीकरण सोधेका छैनन्। यसको अर्थ उनी आफ्नो त्रुटि सुधारप्रति मौन रूपमा सहमत छन्। यद्यपि, संसद्को रेकर्ड सच्याउने प्रक्रिया आफ्नै ठाउँमा होला। तर, राष्ट्रियताको यस्तो संवेदनशील मुद्दामा आफ्नै देशको प्रधानमन्त्रीलाई धकेलेर भारतीय कित्तामा पुर्याउने खेल हामीले खेल्नु हुँदैन। हामीले उनलाई कर्नरमा पार्नुभन्दा राष्ट्रिय हितलाई हेर्नुपर्छ।
पत्रकार: पछिल्लो समय भारतले विगतमा जस्तो सिधै नाकाबन्दी नगरी नेपालबाट बाहिरिने सामानहरू, विशेष गरी चिया र अदुवा जस्ता कृषिजन्य उत्पादनहरू रोकेर आफ्नो स्वार्थ लादिरहेको छ। नेपाली किसानहरू पीडित छन्, तर सरकारको प्रतिरोध कमजोर देखिन्छ। यसको मुख्य कारण के हो?
फणिन्द्र नेपाल: नेपाल सरकारको परराष्ट्र मन्त्रालयले यसबारे भारतीय राजदूतलाई बोलाएर तुरुन्तै स्पष्टीकरण सोध्नुपर्ने हो, तर त्यसो हुन सकेको छैन। मैले पहिले पनि भनेको छु— भारत नेपाललाई आर्थिक रूपमा कमजोर र राजनीतिक रूपमा सधैँ अस्थिर राख्न चाहन्छ। हालैको राजनीतिक समीकरणपछि नेपालमा संसद्बाटै सरकार बन्ने र भत्किने अस्थिर खेल केही हदसम्म रोकिएर राजनीतिक स्थिरताको संकेत देखियो। राजनीतिक रूपमा अस्थिर पार्न नसकेपछि भारतले आर्थिक रूपमा प्रहार गर्न थाल्यो।
चिया क्षेत्रमा नेपालको अर्बौँको लगानी र लाखौँ श्रमिकहरूको रोजीरोटी जोडिएको छ। भारतले कहिले चिया तो कहिले ‘क्वारिन्टाइन’ को बहानामा अदुवा रोकेर नेपाललाई आर्थिक संकटमा पार्ने अमानवीय चरित्र देखाइरहेको छ। अचम्मको कुरा तो के भने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दिल्ली भ्रमणमा रहँदा उहाँलाई त्यहाँ भव्य स्वागत गरियो। तर, त्यही समयमा भारतको विदेश मन्त्रालयले “नेपाली प्रधानमन्त्रीले तेस्रो पक्ष (बेलायत) लाई सीमा विवादमा ल्याउँछु भनेको कुरा हामीलाई मान्य छैन” भन्दै थियो। इतिहासमै कुनै नेपाली दलका नेतालाई नगरिएको स्तरको स्वागतको भ्रम छरेर अर्कोतर्फ भारतले नेपाली उत्पादन रोक्ने, नेपाली आकाशमा आफ्नो सैन्य जहाज उडाउने र सुस्ता क्षेत्रमा सशस्त्र फौज (एसएसबी) प्रवेश गराएर नेपाली जनतालाई आतंकित पार्ने काम एकैसाथ गर्यो।
पत्रकार: भारतीय राजदूतलाई बोलाएर सोधपुछ गर्न नसकेको हाम्रो सरकार जर्मन राजदूतको मामिलामा भने निकै आक्रामक देखियो। जर्मन पक्षले असन्तुष्टि जनाउँदा पनि सरकार पछि हटेन। तर, भारतले सुस्तामा अत्याचार गर्दा, लिपुलेकमा सैन्य सडक बनाउँदा र नेपाली आकाशमा जहाज उडाउँदा पनि सरकार किन नतमस्तक र लाचार बन्छ? यो कस्तो मानसिकता हो?
फणिन्द्र नेपाल: यसलाई मैले ‘दास’ र ‘दासता’ को फरक रूपमा व्याख्या गर्ने गरेको छु। ‘दास’ हुनु भनेको कसैको नोकर हुनु हो, जो भोलि त्यो काम छोडेर मालिक पनि बन्न सक्छ। तर ‘दासता’ भनेको एउटा मानसिकता हो, जहाँ मान्छेले सोच्छ— “म तो दास हुनकै लागि जन्मेको हुँ, मालिकहरूको सेवा गरेर उनीहरूको आशिर्वादमै जीवन जिउनुपर्छ।” दुर्भाग्यवश, नेपालको राजनीतिमा यस्तो मानसिक दासता भएका नेताहरू धेरै भए।
कालापानीको समस्या सन् १९६२ देखि २०२६ सम्म आइपुग्दा ६४ वर्ष भइसक्यो। यो समस्या सुल्झिनुको साटो झन् बल्झिएको छ। सन् २०१९ को नोभेम्बर २ मा भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी सबै समेटेर आफ्नो नयाँ नक्सा जारी गर्यो। हाम्रो भूमिमा २२-२३ किलोमिटर लामो सडक बनाउँदा पनि नेपाल सरकारले “हाम्रो यति जमिन मिचियो” भनेर आधिकारिक रूपमा बोल्न सकेको छैन। यो नै मानसिक दासता हो। आफ्नो भूमिलाई आफ्नो भन्न नसक्नु र छिमेकीले हडप्दा विरोध नगर्नु लाचारी हो। रास्वपा नेतृत्वको नयाँ सरकारले “सीमा विवादलाई एक ठाउँमा राखेर नयाँ सिराबाट आर्थिक सहकार्य अघि बढाउने” नीति लियो। तर व्यापार घाटा ८०–९० प्रतिशत सहेर हामी कुन आर्थिक समृद्धिको कुरा गर्दैछौँ? रास्वपा सभापतिले आर्थिक समृद्धिको कुरा गर्दा उता भारतले हाम्रो चिया रोकिदियो। उहाँले दिल्लीमा भाजपाका नेताहरूलाई “तपाईंहरूले मेरो देशको चिया किन रोक्नुभयो” भनेर सोध्ने आँट समेत गर्नुभएन।
पत्रकार: ग्रेटर नेपालको सन्दर्भमा कतिपयले भ्रम फैलाइरहेका छन् कि ग्रेटर नेपाल भएमा भारतका १२ देखि १८ करोड जनसंख्या नेपालमा थपिन्छन् र यसले उल्टै नेपालको अस्तित्व सिध्याउँछ। भारतीय पक्ष र नेपालकै केही व्यक्तिहरूले फैलाएको यो दाबीमा कत्तिको सत्यता छ? ग्रेटर नेपालको वास्तविक भौगोलिक र रणनीतिक योजना के हो?
फणिन्द्र नेपाल: यो पूर्णतः भारतीय पक्षले फैलाएको भ्रम हो र नेपालमा केही अज्ञानी वा भारतपरस्त मान्छेहरूले त्यही भाषा बोलिरहेका छन्। ग्रेटर नेपाल बन्दा १८ करोड वा १२ करोड जनसंख्या नेपालमा आउँछ भन्नु सरासर झूट हो। ९ करोड वा ६ करोड पनि आउँदैन।
ग्रेटर नेपाल कायम हुँदा नेपाल कहाँदेखि कहाँसम्म हुन्छ र यसको भूगोल कस्तो हुन्छ भन्ने कुरा इतिहासमा जम्मा चारजनालाई मात्र थाहा थियो। पहिलो— योगी नरहरिनाथ, दोस्रो— दार्जीलिङका सुवास घिसिङ, तेस्रो— कुमाउका शमशेर बहादुर थापा, र चौथो व्यक्ति म स्वयं हुँ। अरू तीनैजनाको निधन भइसकेको छ। यो अत्यन्तै संवेदनशील र रणनीतिक (Strategic) विषय भएकाले म यसको विस्तृत विवरण सार्वजनिक मिडियामा खुलासा गर्न सक्दिनँ। यदि मैले आफ्नो रणनीति अहिले नै खोलेँ भने भारतीय पक्षले त्यसलाई असफल बनाइदिन्छ, जसको प्रत्यक्ष असर नेपाल राष्ट्रलाई पर्छ। म ६७ वर्ष पुगिसकेँ, तर म १०० वर्ष बाँच्छु भन्ने संकल्पका साथ हिँडेको छु। मैले यो रणनीति आफ्ना केही अति विश्वासिला मान्छेहरूलाई हस्तान्तरण गरिसकेको छु, समय आएपछि त्यो बाहिर आउने नै छ। नेपाल सरकारका कतिपय उच्च अधिकारीहरूले मलाई गोप्य रूपमा “हामीले सरकारी स्तरबाट गर्न नसकेको काम तपाईंले गर्नुभएको छ, धन्यवाद” सम्म भनेका छन्। त्यसैले जनसंख्याको यो हौवा ग्रेटर नेपालको अभियानलाई रोक्नका लागि मात्र सिर्जना गरिएको हो।
पत्रकार: भारतीय सेनाको जहाज नेपाली आकाशमा अनधिकृत रूपमा उडिरहँदा तपाईं कारागारभित्रै हुनुहुन्थ्यो। एउटा सार्वभौम देशको आकाशमा यसरी विदेशी सैन्य विमान उड्नु र सरकार मौन बस्नुलाई कसरी हेर्नुहुन्छ? हाम्रा रक्षा संयन्त्रहरू किन निष्क्रिय छन्?
फणिन्द्र नेपाल: म जेलमा हुँदा पत्रकारहरू र सञ्चारमाध्यम मार्फत मैले यो खबर थाहा पाएको थिएँ। यो भारतको नाङ्गो ज्यादती र नेपाल सरकारको चरम कमजोरी हो। सन् १९८९ (२०४५ साल) मा राजा वीरेन्द्रले चीनबाट ‘एन्टि-एयरक्राफ्ट’ (विमानभेदी तोप) ल्याएका थिए, जसको उद्देश्य नेपाली आकाशमा विदेशी अनधिकृत विमान प्रवेश गरेमा खसाल्नु थियो। आज ती हतियारहरू खिया परेर बसेका छन्। अहिलेका प्रधानसेनापति अशोक सिग्देललाई गएर सोध्नुस् न— भारतीय हेलिकप्टर र जहाजले हाम्रो हवाई क्षेत्र अतिक्रमण गर्दा हाम्रा ती विमानभेदी हतियारहरू कहाँ छन्? भारतको डरले आफ्नो आकाश मिचिँदा पनि टुलुटुलु हेरेर बस्ने र चिया खाँदै सामान्य विरोध मात्र गर्ने परिपाटी सैन्य र राजनीतिक नेतृत्वको लाचारी हो।
पत्रकार: इतिहासमा सधैँ राष्ट्रियता र सीमाको मुद्दामा कम्युनिस्टका विद्यार्थी संगठनहरू सडकमा उत्रिन्थे। तर यसपटक भारतीय ज्यादती हुँदा पनि सडक शून्य देखियो। सरकारले विद्यार्थी संगठनहरूलाई समेत मर्यादित बनाउने नाममा एक किसिमले निष्क्रिय वा विघटित गराएको छ। यसको पछाडि कसको स्वार्थ देख्नुहुन्छ?
फणिन्द्र नेपाल: जो-जसले भारतको ज्यादती विरुद्ध सशक्त रूपमा सडकमा विरोध गर्थे, उनीहरूलाई संगठित हुनै नदिने वातावरण बनाइयो। यसबाट सिधै भारतीय पक्ष लाभान्वित भएको छ। अर्को एउटा ‘ओपन सेक्रेट’ (खुला रहस्य) के हो भने, यहाँबाट भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन वा विरोध गर्न जाने अधिकांश विद्यार्थी नेताहरूले पहिले नै दूतावासमा फोन गरेर सेटिङ मिलाएका हुन्छन्। उनीहरू भन्छन्— “हजुर, हामी जनतालाई देखाउन मात्र आउँदैछौँ, तपाईंहरूको विरोध गरेको होइन।” हाम्रो राष्ट्रियताको स्तर यस्तो छ। पहिले नै सम्झौता गरेर नक्कली खुट्टा (काठको खुट्टा) लिएर विरोधमा उत्रिएपछि आन्दोलन कसरी सफल हुन्छ? तर केही सच्चा र इमानदार युवाहरू पनि छन्, जसलाई डराएर वा कानुनी त्रास देखाएर रोक्ने प्रयास भइरहेको छ।
पत्रकार: अन्तिममा, यो १७-१८ दिनको जेल बसाइ तपाईंको जीवनको पहिलो अनुभव पनि होला। यो भोगाइलाई संक्षिप्तमा कसरी स्मरण गर्नुहुन्छ? र तपाईंका अन्य आनुषंगिक संगठनहरूको वर्तमान अवस्था के छ?
फणिन्द्र नेपाल: म १७ रात बसेर १८ औँ दिनको साँझ डिल्लीबजार कारागारबाट छुटेँ। एउटा विशाल र शक्तिशाली छिमेकी देशको स्वार्थ र इच्छाविपरीत एउटा व्यक्तिले एक्लै लड्नु निकै चुनौतीपूर्ण कुरा रहेछ। उनीहरूले मलाई दुई वर्ष जेल हालेर मेरा सबै गतिविधि निष्क्रिय पार्न खोजेका थिए। तर उच्च अदालतले मेरो पक्षमा आदेश जारी गरेर मेरो प्रतिष्ठा र आम नेपाली जनतामा “अझै पनि न्यायालयमा विवेकपूर्ण न्याय गर्ने न्यायाधीशहरू जीवितै छन्” भन्ने सकारात्मक सन्देश दियो।
जहाँसम्म हाम्रा अन्य संगठनहरू— ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा बाहेक ‘नागरिक समाज’ र ‘ग्रेटर नेपाल पार्टी’ को कुरा छ; ती संगठनहरू अहिले केही निष्क्रिय (सुतिरहेको) जस्तो देखिएका छन्। हाम्रा धेरै सक्रिय साथीहरू काठमाडौँ बाहिर संगठन निर्माणमा हुनुहुन्छ। संगठनको प्रमुख व्यक्ति नै काठमाडौँमा नहुँदा र अन्य प्राविधिक कारणले कामको गति अलि कम भएको हो। तर हाम्रो सहकार्य र आन्तरिक तयारी राम्रोसँग चलिरहेको छ।
पत्रकार: व्यस्तताका बाबजुद आफ्नो अमूल्य समय दिनुभयो। नेपाल-भारत सम्बन्ध, सीमा विवाद, जेल भोगाइ र वर्तमान राजनीतिक परिवेशबारे प्रष्ट पारिदिनुभयो। यहाँलाई धेरै-धेरै धन्यवाद।
फणिन्द्र नेपाल: हस्, धन्यवाद। म आज यसरी खुला रूपमा बोल्न पाउनु नै उच्च अदालतले न्यायको दियो निभेको छैन है भनी दिएको गवाही हो। नेपाली जनताले सधैँ सकारात्मक सोच्नुपर्छ र देशको माटो जोगाउन मुखले मात्र होइन, कामले राष्ट्रवादी हुनुपर्छ। धन्यवाद।
@kalokitab