ऐतिहासिक रोचकता: सामाजिक सञ्जालमा चर्चामा आएको पूर्वपञ्च नेता विश्वबन्धु थापाको ‘मेजर जनरल’ उपाधि र एउटा पुरानो किस्सा
काठमाडौँ। लेखक, सीमा तथा इतिहासका अध्येता रतन भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली राजनीतिक इतिहासको एउटा रोचक र कमैलाई थाहा भएको प्रसङ्ग सार्वजनिक गर्नुभएको छ। पूर्वपञ्च नेता विश्वबन्धु थापा नेपाली सेनाका मानार्थ ‘मेजर जनरल’ रहेको खुलासा गर्दै उहाँले सोसँग जोडिएको ऐतिहासिक प्रसङ्ग र तस्बिर साझा गर्नुभएको हो।
भण्डारीका अनुसार वि.सं. २०२० पुस ४ गतेको गोरखापत्रमा प्रकाशित एउटा श्यामश्वेत तस्बिरको क्याप्सनमा थापालाई ‘मे.ज.’ अर्थात् मेजर जनरल भनी उल्लेख गरिएको छ। उक्त तस्बिरलाई उहाँले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले रङ्गीन समेत बनाउनुभएको छ।
बिहारमा जन्म, विराटनगर हुँदै राजनीतिमा उदय
ऐतिहासिक भीमसेन थापाको खलकका विश्वबन्धुका पिता सुब्बा पद्मजङ्ग तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सपरिवार भारत निर्वासनमा गएका थिए। सोही क्रममा वि.सं. १९८४ भदौ २४ गते भारतको बिहारस्थित दीपनगरमा विश्वबन्धुको जन्म भएको थियो। पछि जुद्धशमशेरले माफी दिएपछि पद्मजङ्गको परिवार विराटनगर फर्कियो। विश्वबन्धुले विराटनगरमा स्कुल र बनारसमा उच्च शिक्षा हासिल गरेका थिए।
वि.सं. २००७ को क्रान्तिमा थापा विराटनगर जनसरकारका गृहमन्त्री थिए भने केशवप्रसाद कोइराला गभर्नर थिए। वि.सं. २०१५ को आमनिर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट चितवन–चिसापानी क्षेत्रबाट चुनाव जितेका थापा वि.सं. २०१७ को कदमपछि पञ्चायत प्रवेश गरेका थिए। उनी वि.सं. २०२० मा राष्ट्रिय पञ्चायतको अध्यक्ष र लगत्तै अर्को वर्ष मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए।
सोही समयमा तत्कालीन राजा महेन्द्रले थापालाई ‘मानका खातिर मान’ स्वरूप नेपाली सेनाको मानार्थ मेजर जनरलको उपाधि दिएका थिए। तर, थापाले आफ्नो नामको अगाडि कहिल्यै मेजर जनरल लेखेनन्, यद्यपि तत्कालीन पत्रपत्रिकाले भने उनलाई सोही दर्जाले उल्लेख गर्ने गर्थे।
मातृकाप्रसाद कोइराला र टुँडिखेलको त्यो घटना
लेखक भण्डारीका अनुसार विश्वबन्धु थापाभन्दा अघि सेनाको मानार्थ जनरल पद पाउने अर्का नेता मातृकाप्रसाद कोइराला थिए। वि.सं. २००७ को क्रान्तिमा नेपाली काङ्ग्रेसको सुप्रिम कमान्डर रहेका कोइराला दिल्ली सम्झौतापछि मोहनशमशेरको सरकार ढलेपछि प्रधानमन्त्री बनेका थिए। सोही समयमा राजा त्रिभुवनले उनलाई सेनाको मानार्थ ‘ब्रिगेडियर जनरल’ को उपाधि दिएका थिए।
उपाधि पाएपछि कोइराला सैनिक पोसाकमै टुँडिखेलमा आयोजित एक औपचारिक कार्यक्रममा सहभागी हुन पुगे। तर, आफू देशको प्रधानमन्त्री भएको हेक्का नराखी प्रधानसेनापतिभन्दा तल्लो दर्जा (ब्रिगेडियर जनरल) को सैन्य पोसाक लगाएर पुग्दा उनलाई स्वागत गर्न तत्कालीन प्रधानसेनापति किरणशमशेर आएनन्।
यो विषय राजा त्रिभुवनसम्म पुगेपछि प्रधानसेनापति किरणशमशेरले स्पष्टीकरण दिँदै भनेका थिए, “आफूभन्दा तल्लो दर्जाको सैन्य पोसाकमा आएका प्रधानमन्त्रीलाई लिन जाने कुरा भएन। दर्जाअनुसार त उहाँले मकहाँ आएर सलामी दिनुपर्थ्यो। यदि उहाँ प्रधानमन्त्रीको हैसियतमा (दौरासुरुवाल वा औपचारिक राष्ट्रिय पोसाकमा) आएको भए मैले स्वागत गरेर सलामी दिनुपर्थ्यो।”
यस घटनापछि प्रधानमन्त्री कोइरालाले सैन्य पोसाक लगाउने रहर त्यागेका थिए।
थापाले नामको अगाडि दर्जा नलेख्नुको कारण
इतिहासका अध्येता भण्डारीका अनुसार मातृकाप्रसाद कोइरालाको सोही घटनासँग राम्रोसँग परिचित भएकै कारण पनि विश्वबन्धु थापाले राजा महेन्द्रबाट मानार्थ मेजर जनरलको उपाधि पाए तापनि आफूलाई सो उपाधिबाट चिनाउन नखोजेको वा नामको अगाडि दर्जा उल्लेख नगरेको देखिन्छ।