Kalo Kitab, File Picture
संसदमा सहमतिको नेतृत्व गर्न मेरो स्वतन्त्र उम्मेदवारी: प्रा. डा. युवराज संग्रौला
वरिष्ठ कानुनविद् तथा शिक्षाविद् प्रा. डा. युवराज संग्रौलाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी ‘स्वतन्त्र’ रहने घोषणा गर्नुभएको छ। संसदभित्र राष्ट्रिय मुद्दामा दलहरूबीच विमर्श र सहमति निर्माणको भूमिका खेल्न आफू कुनै दलमा आबद्ध नभई स्वतन्त्र रहनुपर्ने उहाँको तर्क छ।
प्रा. डा. संग्रौलाले संसदमा उठाउने चार मुख्य संकल्पहरू यस प्रकार छन्:
१. राज्य संरचनाको पुनर्संरचना:
वर्तमान संघीयता, स्थानीय तह र कार्यकारी प्रधानमन्त्रीको निकायको पुनर्संरचनाका लागि नयाँ मस्यौदामा छलफलको अगुवाइ गर्ने। अब देश विदेशीले बनाइदिएको संविधानको भद्दा स्वरूप बोकेर हिँड्न सक्दैन।
२. थारो अर्थतन्त्रको अन्त्य र रोजगारी:
नेपालमा मौज्दात रहेको करिब १०० खर्ब पुँजीलाई पुँजीकृत गर्दै राज्यको नेतृत्वमा ठूला कृषि फार्म र उद्योग स्थापना गर्ने। अर्थ मन्त्रालयलाई वास्तविक ‘अर्थ’ मन्त्रालयमा बदल्ने र वैदेशिक सहायताको नाममा हुने भ्रष्टाचारको अन्त्य गर्ने।
३. नागरिकका लागि कुटनीति:
भू-राजनीतिको बौद्धिक व्यवस्थापन गर्ने र परराष्ट्र मन्त्रालयको सामर्थ्य वृद्धि गरी ‘नागरिकका लागि कुटनीति’ को अवधारणा संसदमा बहसमा ल्याउने।
४. मौलिक सभ्यताको संरक्षण:
वैदिक सनातन, बौद्ध र मुन्धुम दर्शनको संरक्षण गर्दै नेपालको मौलिक सभ्यतामा आधारित नागरिकतन्त्रीय राजनीतिक प्रणालीको विकास गर्ने।
प्रा. डा. संग्रौलाले भारतका प्रसिद्ध कानुनविद् भेंकटारमनीले पनि आफ्नो मौलिक न्यायप्रणालीको समर्थन गरेको उल्लेख गर्दै राष्ट्रिय एजेन्डामा नागरिक आवाजको प्रतिनिधित्व गर्ने बताउनुभएको छ।