Kalo Kitab, File Picture
चुनाव जागिर होइन, राष्ट्रिय स्वतन्त्रता जोगाउने अभियान हो: प्रा. डा. युवराज संग्रौला
वरिष्ठ कानुनविद् तथा शिक्षाविद् प्रा. डा. युवराज संग्रौलाले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. २ बाट आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले निर्वाचनमा उठ्नु आफ्नो लागि कुनै ‘पेशा’ नभई राष्ट्रिय स्वाधिनता र समृद्धिको लडाइँ भएको स्पष्ट पार्नुभएको छ।
काठमाडौंमा आयोजित एक सन्दर्भमा आफ्ना धारणाहरू राख्दै डा. संग्रौलाले भन्नुभयो, “मैले केही आधारभूत कुराहरू उठाएको छु, जसबारे अहिले नै राष्ट्रभर गम्भीर भएर सोच्न सकिएन भने नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि ठूलो चुनौती खडा हुनेछ।” उहाँले राजनीतिलाई बिर्ता र जागिर सम्झने प्रवृत्तिको कडा आलोचना गर्नुभएको छ।
उहाँले देशको अर्थतन्त्रलाई सुधार गर्न “भू-राजनीतिलाई भू-अर्थनीतिमा” बदल्नुपर्ने र वर्तमानको ‘थारो अर्थतन्त्र’ लाई रोजगारी दिने ‘लैनो अर्थतन्त्र’ मा रूपान्तरण गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ। उहाँका अनुसार मौज्दात पुँजीलाई औद्योगिकीकरणमा लगाएर मात्र यो सम्भव छ, तर नवउदारवादी पुराना र नयाँ नेताहरू यस्तो परिवर्तन गर्न नचाहने उहाँको आरोप छ।
आफ्नो उम्मेदवारीका बारेमा चर्चा गर्दै उहाँले भन्नुभयो, “म एक थान सांसद हुन चाहेको होइन। हारले कद घट्छ भन्ने सुझाव पनि आएका छन्, तर मेरो प्रश्न छ— के विचार बिना राष्ट्र बन्न सक्छ? के केवल कुनै चिह्नमा छाप हान्दैमा देश बन्छ?”
निराशाले विदेश पलायन भइरहेका युवाहरूलाई स्वदेशमै रोक्ने र देशलाई भू-राजनीतिक चपेटाबाट निकाल्ने ठोस मार्गचित्रसहित आफू मतदाताको घरदैलोमा पुगेको उहाँले बताउनुभयो। परिवर्तनको संवाहक सांसद पद केवल जागिर नभई विचार बोक्ने माध्यम हुनुपर्नेमा उहाँको अडान छ।