
उच्च अदालतको आदेशपछि रवि लामिछाने रिहा
काठमाडौं, पुस ४, २०८२ — उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएपछि उनको रिहा प्रक्रिया अघि बढेको छ। अदालतको आदेशअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न लामिछाने रुपन्देही प्रस्थान गरेका छन्।
उच्च अदालतको आदेशप्रति प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले एक विज्ञप्ति जारी गर्दै न्यायालयप्रति सम्मान व्यक्त गरेको छ। पार्टीले विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
रास्वपाको विज्ञप्तिमा सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरिएको छ। तत्कालीन निरंकुश शासनकालमा सुरु गरिएका ती मुद्दाहरू अझै यथावत् रहेकाले अहिलेको नागरिक सरकारले आवश्यक कदम चालेर राजनीतिक प्रतिशोधको श्रृङ्खलालाई अन्त्य गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।
अदालतले तोकेको धरौटी रकम बुझाएपछि लामिछाने थुनाबाट मुक्त हुनेछन्। रिहाइसँगै उनी पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने र संगठनात्मक गतिविधि सक्रिय रूपमा अघि बढाउने तयारीमा रहेको पार्टीले जनाएको छ।
यस क्रममा देश–विदेशमा रहेका न्यायप्रेमी नेपाली नागरिक, पार्टी सदस्य तथा समर्थक–शुभेच्छुकहरूले निरन्तर खबरदारी र समर्थन जनाएप्रति रास्वपाले आभार व्यक्त गरेको छ। विभिन्न अभियान र नागरिक दबाबले न्यायिक प्रक्रियामा सकारात्मक सन्देश गएको पार्टीको ठहर छ।
राजनीतिक विश्लेषकहरूका अनुसार लामिछानेको रिहाइले राष्ट्रिय राजनीतिमा पुनः तरंग ल्याउनेछ। विशेष गरी आगामी निर्वाचनको सन्दर्भमा रास्वपाको भूमिका थप सक्रिय र प्रभावशाली बन्ने संकेत देखिएको छ।
रास्वपाका कार्यबाहक सभापती डोल प्रसाद अर्याल हस्ताक्षरित यो पत्रको बिबरण जस्ताको तस्तै
हेर्नुस्-
विज्ञप्ति
वि.सं. २०८२ पौष ४
ने.सं. ११४६ थिंलागा आमै
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ।
विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको छ। सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको छ।
राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भएर निरन्तर खबरदारी गर्नुहुने देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली तथा विभिन्न अभियानमार्फत् न्यायका पक्षमा उभिएर सन्देश दिनुहुने पार्टी सदस्य एवं समर्थक–शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्दछौँ।
कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरासमेत अवगत गराउँछौं।
डोल प्रसाद अर्याल
कार्यवाहक सभापति
