समृद्धिको यात्रामा बाधा
हाम्रो समृद्धिको यात्रामा बाधा हाल्नेहरू “यो देशका संकीर्ण कर्मचारी र राष्ट्रिय स्वार्थप्रति उदासीन नेता” हुन्।
-
देशको करिब १०० खर्ब रुपैयाँ खर्च गर्ने क्षमता छ। तर विगत ५० वर्षमा नेता र कर्मचारी विदेशी सहयोग, दुर्व्यसन र ऋणको चंगुलमा फसे। देशको अर्थतन्त्र “सुनियो”। यो आफू मोटाइरहेको थारो भैंसीजस्तो भयो। यसले रोजगारीमूलक कृषि र उद्योगमा लगानी नगरी “नवउदारवादी औद्योगिकीकरण निषेधको नीति” ग्रहण गर्यो।
-
रोजगारी निषेध गरेर युवा श्रमशक्ति निर्यात गर्ने राष्ट्रघाती नीति अवलम्बन गरियो।
-
अब देशको जनसंख्या बुढ्यौलीको बाटोमा छ। जन्मदर डरलाग्दो ढंगले घट्दैछ। देखासिकीमा युरोप र अमेरिका बसाइँ सर्ने प्रवृत्तिले जनसंख्या घट्दो छ। अबका १० वर्षमा कलेज पढ्ने विद्यार्थी नै नपाइने अवस्था आउँदैछ।
-
उद्योग खोल्नुभन्दा सियोको प्वालबाट छिर्न सजिलो छ। अहिले उद्यमीहरूमा लगानी गर्ने भयको अवस्था छ, कसले कहिले आगो लगाउँछ थाहा छैन।
-
नयाँ उद्योग खोल्ने चाहना भनेको “भ्रष्टाचारले ग्रस्त कर्मचारीतन्त्रको अहिलेको अवस्थामा हातखुट्टा, शरीर तलदेखि माथिसम्म डोरीले बाँधिएको मानिसले चंगा उडाउने सपना” जस्तै हो।
राजनीतिको कुरा छोडौँ। अब देशको अस्तित्वको चिन्ता गर्ने बेला आएको छ। राजनीतिक दलका नेताले चलाएको देश देखियो। दस वर्षपछि देश चलाउने नेतृत्वको हालत पनि “जेन्जीको दिनैपिच्छेको लडाइँ” ले देखाइसकेको छ।
यति हुँदासमेत शिक्षक, प्राध्यापक, वकिल, चिकित्सक, इन्जिनियर, अडिटरहरूलाई देशको चिन्ता लाग्नुपर्ने हो। तर “उहाँहरू त एक्सप्रेसो, कार्ल्सबर्ग, अन्तर्राष्ट्रिय स्तरका ह्विस्की, आउटिङ र सेमिनारमै व्यस्त हुनुहुन्छ।” चिन्ता छैन।
खोइ के गर्ने हो? “उहाँहरूकै जस्तो चिन्ताहीन जीवन बाँच्न सिक्न पाए, मुटुमा पीडा त हुने थिएन।”
यो मेरो निराशा होइन। यो आजको यथार्थ हो। बौद्धिक दोहोरोपन मेटिएको भए देश मासिने थिएन।