समाजको विकासमा समता (इक्विटी) र निषेधात्मक स्थिरता (रिग्रेसिभ स्ट्याटस को) का बीचमा अन्तर्विरोध धनिभूत रहन्छ। खासगरी सामाजिक संरचनाको उद्विकास भइरहेको समाजमा यो अन्तर्विरोध तीव्र र गहिरो हुन्छ। तर जुन समाजमा निषेधात्मक स्थिरताले अन्तर्विरोधमा समताको मान्यतालाई दमन गर्छ, त्यो समाजको परिवर्तन कुण्ठित हुन्छ। बामपन्थी समाजवादीहरूको राजनीतिमा बाहुल्यता हुँदा हुँदै पनि, नेपाली समाज निरन्तर “समताको विरुद्धमा निषेधात्मक स्थिरताको प्रभुत्व भएको समाज हो।” कसरी राजनीतिले नेपालमा समाजको परिवर्तनलाई निर्देश गर्ने त परै जाओस्, अवरुद्ध गर्यो?
१. राणाशाहीले राजतन्त्रलाई पिँजरामा हाल्यो, र शिक्षा र उद्यममाथि निषेध गर्यो। त्यो समय विश्वमा आधुनिक विकास र औद्योगिक उन्नयनको युग थियो। राणाशाहीले राजतन्त्रलाई कमजोर बनाएर राणा पारिवारिक शासन स्थापित गर्नुलाई नै परिवर्तन ठान्यो। यथार्थमा यो “परिवर्तनलाई निषेध गर्ने निषेधात्मक स्थिरताको संरक्षण थियो, राणाशाहीको हितमा।”
२. २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा राणाशाहीको अन्त्य भयो। तर त्यो परिवर्तनले क्रान्तिका राजनीति सम्भ्रान्तलाई सत्तामा पुर्याउनुलाई नै परिवर्तन ठान्यो। नागरिकको राजनीतिक स्वतन्त्रता, सहभागिता र शासकको उत्तरदायित्व क्रान्तिका सरोकार बनेनन्। यो पनि निषेधात्मक स्थिरतामा समाप्त भयो। २०१७ सालमा राजाले यसलाई समाप्त गरिदिए र पञ्चायत आयो। त्यसको पनि २०४६ सालमा अन्त्य भयो। त्यसपछि दरबारकेन्द्रित पञ्चायत आयो, र २०४६ सालको आन्दोलनबाट बर्खास्त भयो। तर २०४७ सालमा कांग्रेस र कम्युनिस्टको सत्ता निर्माण गर्नु नै परिवर्तन भयो। २०६३ सालमा १७,००० मानिसको मृत्युको पुरस्कारबापत माओवादीले गणतन्त्र नामको व्यवस्था पायो। र, अहिले २०८२ मा एउटा अन्तरिम सरकार बन्नुनै परिवर्तन हुन पुग्यो।
३. नेपाली समाजको यथार्थ क्रूर छ। राज्य व्यवस्थाको आत्मनिर्णयको सामर्थ्य कुण्ठित छ। राज्य व्यवस्थाले स्वाधीनतापूर्वक निर्णय गर्न सक्दैन। अन्तर्राष्ट्रिय संस्थाहरू र विदेशी स्वार्थले हाम्रो राज्य व्यवस्था थिचिएको छ। हाम्रो परराष्ट्र कूटनीतिको धुकधुकी मात्र छ। हाम्रो कृषि, उत्पादन र उत्पादकत्व विसर्जन भएको छ, हाम्रो अर्थतन्त्र माफियाको हातमा छ र देशभक्त उद्यमीहरू क्रमशः टाट पल्टिँदैछन्, हाम्रो शिक्षा नवउपनिवेशवादको शिकार भएको छ, हाम्रो पूर्वाधार निर्माणले वातावरण ध्वस्त पारेको छ। आज ८०% नागरिक सम्पत्तिहीन छन् र सबै सम्पत्ति माथिल्लो २०% मा केन्द्रित छ।
४. यो अवस्था परिवर्तन गर्न हामीले “हाम्रो राजनीतिलाई निषेधात्मक स्थिरता समाप्त गरेर समताको बाटोमा लानुपर्ने हो।” तर आज पनि समाजमा “विचार र पद्धतिले होइन व्यक्तिले दुनियाँ बदल्छ भन्ने विश्वासका पछाडि नेपाली भीड कुदिरहेको छ।” यो भीडले “समताले मात्र परिवर्तनलाई न्यायपूर्ण बनाउँछ भन्ने बुझ्न चाहँदैन।” जबसम्म शिक्षित र बौद्धिक वर्ग अगाडि आएर यो मिथ्या संकथन र विश्वास भत्काउँदैन, नेपाली समाज अब विघटनको बाटोमा जाने खतरा पैदा भएको छ।
५. आज पनि नेपाली समाजमा आफ्नो स्वार्थले प्राथमिकता पाइरहेको छ। हरेक व्यक्तिलाई पदको खोजी छ, उसलाई मन्त्री हुन राजनीतिक दल चाहिएको छ, र ऊ सधैंका लागि प्रधानमन्त्री बन्न चाहन्छ। अहिले त २२ वर्षको जेन्जीलाई पनि प्रधानमन्त्री चाहिएको छ। कसैलाई शिक्षामा आमूल परिवर्तन गरेर “विज्ञान र प्रविधिसम्पन्न राष्ट्र” बनाउने चासो छैन।
६. अब देशले व्यक्तिको नेतृत्व होइन, विचारको नेतृत्व खोजेको छ। विचारवाद होइन, लक्ष्य, रणनीति, कार्यनीति, पद्धति र संस्थाहरूको समन्वयात्मक “क्रियाशीलता” को मार्गचित्र हो। तर अहिले नेपालमा बहस “एउटा त्यस्तो जादुगरको खोजी छ जसले देश बनाओस्।” यसका पछाडि एउटा तत्त्व छ—“त्यो हो पदमा पुगेर सत्ताको स्वाद।” विद्यार्थीले ज्यान दिएर परिवर्तनको ढोका खोले, तर नेता अरुनै बन्दैछन्। उनीहरू पुरानालाई गाली गरेर राजनीतिमा उदाउन चाहन्छन्। तर आवश्यकता “विकासको नेपाली ढाँचाको हो।”
बौद्धिक मित्रहरू, विदेशी विज्ञका उद्धरणले मात्र देश बन्दैन। तपाईं र मेरो विश्वास के हो भन्ने कुरा महत्त्वपूर्ण होइन, महत्त्वपूर्ण कुरा नेपालमा पर्याप्त स्रोत छ, हामी देश बनाउन सक्छौं। तर हामीमा देश बनाउने चाहना होइन, आफ्नो स्वार्थपूर्तिको आकांक्षा प्रमुख छ। त्यसैले अब “निषेधात्मक स्थिरता तोडेर परिवर्तनका लागि समताको सिद्धान्तको अनुसरण गर्नुनै हाम्रो राजनीतिक मार्ग हो।”