कुसासन, विभेद र लुटको साम्राज्यमा जन्मि-हुर्किएका, कमाएर यही स्वर्गको साम्राज्य खडा गरेकाहरु नै आफूलाई सुसासनको नायक भनी प्रचार गर्न लाज मान्दैनन्। उपद्रो गरेको अभियोगमा मुद्दा लागेपछि अदालतमा लोकतान्त्रिक संविधानको मर्म अनुसार थप स्वतन्त्रताको माग गर्ने त्यही व्यक्ति सामाजिक सञ्जालमा लोकतन्त्रको अन्त्य र शाहतन्त्रको माग गर्दछ, उस्ले सारा नेपालिलाई कसरी बसमा राख्न सकेको छ?
यस्को जवाफ हेरौँ –
त्यसो त केपी ओली र आरजु राणा प्रवृत्तिले वाक्क भएका जनताको साथ पाएपछि सुसासनको नारा फलाकेरै आन्दोलनमार्फत प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुसिला कार्कीको सरकार के पूर्ण रूपमा नागरिक अभिमतप्रति उत्तरदायी रह्यो? अनि सेवा प्रवाह चुस्त बनायो त?
अहिले पनि यातायात मन्त्रालयले सवारी नविकरण र कर भुक्तानी प्रणालिलाई अनलाइन मार्फत गर्न नमिल्ने बनाएर वार्षिक खर्बौँको बिचौलिया धन्दा संरक्षण गरिरहेको छ। कारण हो—त्यस काममा लागेका गिरोहले दिने कमिसन वा चुनौती।
हाडिगाउँको जात्रा जारी छ हेरौँ –
दुर्गा प्रसाईँ प्रवृत्तिको बास्तविकता: देशभक्ति कि देशबिक्री गर्ने रिहर्सल? यो प्रश्न आज नेपालमा सबैभन्दा पेचिलो बनेको छ। जो “राष्ट्रवाद” को सबैभन्दा ठूलो झण्डा बोकेर हिँड्छ, ऊ नै “नेपाललाई भारतमा विलय गरौँ” भन्दै खुल्लमखुल्ला आव्हान गर्छ। जसले “राष्ट्रघातीहरूलाई देशनिकाला” को नारा लगाउँछ, ऊ नै रातारात पक्राउ पर्छ अनि बिहान देखि भारत नियन्त्रीत रास्ट्रको ओकालत गर्दछ । त्यसपछी एकाएक राजावादीहरूको काँधमा चढेर “अभियान जारी छ” भन्ने नारा गुन्जिन थाल्छ ।
हो ! यही नै हो—दुर्गा प्रसाईँ प्रवृत्ति !
यो एउटा व्यक्तिको कथा होइन। यो नेपालको दण्डहीनता, भ्रम–उद्योग, उन्मुक्त अराजक र खोक्रो राष्ट्रवादको संयुक्त स्वरूप हो।
१. लोकतन्त्रको नाममा दण्डहीनताको लाइसेन्स !
नेपालमा लोकतन्त्र आयो, तर जिम्मेवारी ठहरै मर्यो । संविधानले मौलिक हक र अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टि गर्यो, तर त्यही संबैधानिक स्वतन्त्रताको ओकालत गर्दै “उद्योग जलाऊ”, “देश ठप्प पारौँ”, “भारतमा विलय गरौँ”, “अब देश खरानी हुँदैछ, आफूलाई चाहिने सामान किनेर राख्नु” भन्नेहरू लगातार उत्साहित भैरहे ।
त्यही व्यक्ति यो संविधानलाई व्यापक बनाई लोकतान्त्रिक अधिकार अझै बढाउनुपर्ने माग गर्दै अराजक अभिव्यक्ति दिन्छ; फेरि उहीँ व्यक्ति लोकतन्त्र मासेर—एक वंशको कुलीनतन्त्र स्थापनाको अभियान पनि चलाउँछ, दुर्भाग्य हैन ?
यस्ता प्रवृत्तिलाई पत्याउने नेपाली समाजको वर्तमान अवस्था पनि अध्ययन गर्न लायक छ ।
दुर्गा प्रसाईँले भाटभटेनी जलाउन उक्साए—के भयो?
उनले नेपाल भारतमा विलय गर्नुपर्ने घोषणा गरे—के भयो?
उनले जातीय–धार्मिक आगो बाल्ने प्रयास गरे—के भयो?
प्रम सुसिला कार्कीलाई लक्षित पिसाबको प्रसंगमार्फत महिला हिंसालाई उत्साहित गरे—के भयो?
आखिर कसैलाई कुनै सजाय भएन। किनकि नेपालको राज्य संयन्त्रले “देखे पनि नदेखेजस्तो गर्ने” रणनीति अवलम्बन गरेको भन्ने आरोप पुस्टि हुँदै आएको छ ।
यो दण्डहीनताले जन्माएका पात्रहरूको व्यापार के?
जसले जति ठूलो अपराध गर्छ, ऊ त्यति नै ठूलो “नेता” बन्छ। जसले जति ठूलो झूट बोल्छ, ऊ त्यति नै ठूलो “राष्ट्रवादी” बन्छ।
भ्रष्टाचारमा अनुसन्धान गरी सजायका लागि प्रमाण पुग्दा पनि दण्डहीनता कायम राख्ने सरकार मात्र होइन; झुटा आरोप र भ्रम फैलाएर समाजलाई अराजक बनाउने दुर्गा प्रसाईँ प्रवृत्ति पनि उत्तिकै राष्ट्रका लागि घातक हो ।
२. भारतमा विलयको प्रस्ताव—राष्ट्रवादको नाङ्गो नाच हैन ?
एकै व्यक्ति। एकै मञ्च। एकै दिन।
बिहान भन्छ—“राष्ट्रघातीलाई गोली हान्नुपर्छ।” बेलुका लगत्तै भन्छ—“नेपाललाई भारतमा विलय गर्दा नै हामिलाई राम्रो हुन्छ।” यो दोहोरो चरित्र मात्र होइन। यो सुनियोजित रुपमा रास्ट्र बिरुद्धको खेलको प्रमाण हो।
राष्ट्रवादको मुखुण्डो लगाएर देश बेच्ने सबैभन्दा ठूलो प्रयास यही हो।
जसले “देशभक्ति” को नारा लगाउँछ, ऊ नै नेपाललाई “भारतको एउटा प्रान्त” बनाउन तयार छ। जसले “मारवाडी भगाऊ” भन्छ, ऊ नै भारतीय गाडीमा चढेर, भारतीय पैसाको गन्ध लिएर हिँड्छ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको आशिर्वादमा आफू सफल हुने घोषणा गर्छ। यो राष्ट्रवाद होइन; यो राष्ट्रबिक्रीको रिहर्सल हो।
३. मारवाडी द्वेष = व्यापारिक स्वार्थको सबैभन्दा सस्तो हतियार
प्रसाईँले भाटभटेनी जलाउन उक्साए। किन? के मीनबहादुर गुरुङ मारवाडी थिए?
देश गरिब भएको र बेरोजगारी बढेको छ। तर देश जलाएर ठप्प पार्ने अभियानले रोजगारी सिर्जना गरेर देश धनी होला त? राजनीतिक लाभसँगै व्यापारमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि उनी यसरी लागे। यसर्थ उनलाई थाहा थियो—“मारवाडी भगाऊ” भन्दा जनताले सघाउछन र समर्थकहरु उफ्रिन्छन् । यो कुरा बुझेरपनि जथाभावी बोल्ने राष्ट्रवाद होइन। यो व्यक्तिगत व्यापारिक बदला भावसहितको स्वार्थ प्रवृत्ति मात्र हो।
नेपालका उद्योगीहरूले रोजगारी दिएका छन्। मारवाडीहरूले यहाँ के कति कर तिरेका छन्,उनिहरुमार्फत कसरी पुजि पलायन भैरहेको छ ? या यहि हल्लामा आफ्ना अभिस्ट पुरागर्नेहरु जुर्मुराएका हुन? अनुसन्धान हुन जरुरी छ ।
अनियमतता, भ्रष्टाचार, करछली, गैरकानुनी रकम स्थानान्तरण जस्ता अपराध भए अनुसन्धान गरी सजाय हुनुपर्छ। तर प्रसाईँ जस्ता पात्रहरूले रास्ट्रीय पुजिपतिलाई “ठोक्नुपर्छ” भन्दै जलाउन उक्साउँछन्।
४. मिडियाका नाममा युट्युब—अराजकताको कारखाना:
आज नेपालको मिडिया तथ्यको थलो नभएर— राजनैतिक रोटि सेक्ने भ्रमपुर्ण उत्तेजनाको बजार बनेको छ। जसले जति अस्लिल गाली गर्छ, जति ठूलो भ्रम–झूट बोल्छ, जति साम्प्रदायिकता भड्काउँछ—ऊ त्यति नै लोकप्रिय हुन्छ। दुर्गा प्रसाईँ जस्ता पात्रहरू बिना नेपालको टिभी र युट्युब चल्दैन।
यहाँ भ्रममार्फत आक्रोसित जनतालाई झूट नै बेचिन्छ। उनीहरूले उत्पादन गर्ने सामान हो—अराजकता, भ्रम र विभाजन।
हामी सबै त्यही भ्रमका ग्राहक हौँ।
५. गएराति पक्राउ परे—तर प्रवृत्ति मरेन
हिजो राति दुर्गा प्रसाईँ पक्राउ परे। तर यो प्रवृत्तिको अन्त्य हुने होइन।
यो प्रवृत्तिको प्रचारले व्यापकता पाएको छ।
ज्ञानेन्द्र शाहका समर्थकहरू सडकमा आउने छन्। र भन्छन्—“हाम्रा नेतालाई तुरुन्त रिहा गर।” “हाम्रो अभियान जारी छ।”
अर्थात् प्रसाईँ जेल गए पनि उनले छरेको आगो बलिरहन्छ।
यो एउटा व्यक्तिको लडाइँ होइन; यो दुईवटा खतरनाक शक्तिको सहकार्य हो:
१. राजावादीहरूको खोक्रो राष्ट्रवाद
२. प्रसाईँ प्रवृतिमा मौलाउदो अराजक लोकप्रियतावाद
दुवैको उद्देश्य एउटै छ—देशलाई खरानी बनाएर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्ने।
हामी कति दिनसम्म यो नाटक हेरिरहने?
कति दिनसम्म राष्ट्रवादको नाममा राष्ट्रबिक्री सहने?
कति दिनसम्म दण्डहीनताको यो महामारी चल्न दिने?
यदि राज्यले आज दुर्गा प्रसाईँलाई मात्र होइन, प्रसाईँ प्रवृत्तिलाई नै सजाय दिएन भने—
भोलि यो देशमा न राष्ट्रवाद बाँकी रहन्छ, न लोकतन्त्र, न स्वतन्त्रता।
बाँकी रहन्छ केवल खरानी।
र त्यो खरानीमाथि बसेर कोही नकोही फेरि भन्छ—
“म नै सबैभन्दा ठूलो देशभक्त हुँ।”
त्यो दिन नआओस्।
हामी सबैको जय होस !