विशेष अदालतको पत्र र गृहमन्त्री लेखकको विवादबारे युबराज सफल लेख्छन् –
विशेष अदालतको पत्रका कारण गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसको नेतृत्व विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाप्रति क्रोधित बने। त्यसपछि कानुनमन्त्री अजयकुमार चौरसियासँगको मिलेमतोमा न्याय सेवाको सहसचिव पदमा दोस्रो वरियतामा रहेका थपलियालाई उच्च अदालतको न्यायाधीश बन्नबाट रोकियो।
जग्गा कौडीको भाउमा फिर्ता गर्न कांग्रेसको लबिङ
नेपाली कांग्रेसका पूर्वनेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का हाल कांग्रेसकै राजनीतिमा सक्रिय छन्। उनी लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य छन्। पार्टीभित्रको दबाबका कारण गृहमन्त्री लेखक खुमबहादुर खड्काको कसुरजन्य सम्पत्ति जोगाउन पक्षमा थिए।
तर, गृहमन्त्री लेखकको यो योजनामा विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलिया बाधक बने। उनले खुमबहादुरको जग्गा कौडीको भाउमा मूल्यांकन गरी फिर्ता गर्ने गृहमन्त्रीको योजना असफल बनाइदिए। फलस्वरूप, उनलाई उच्च अदालतको न्यायाधीश बन्ने अवसरबाट वञ्चित गरियो। नेपाली कांग्रेसका तर्फबाट कानुनमन्त्री बनेका न्याय परिषद्का सदस्य अजयकुमार चौरसिया र नेपाली कांग्रेसनिकट कानुन व्यवसायीको सङ्घबाट राजनीति गरी पछि सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका प्रकाशमान सिंह राउतले उनलाई उच्च अदालतको न्यायाधीश बन्नबाट रोके।
खरिदारबाट सुरु गरी न्याय सेवाको दोस्रो वरियताको सहसचिव बनेका र ३७ वर्षसम्म न्याय सेवामा बिताएका थपलियालाई उच्च अदालतको न्यायाधीशका लागि अयोग्य ठान्नुपर्ने कुनै कारण थिएन। ५८ वर्षको उमेर हदका कारण अबको करिब नौ महिनापछि अनिवार्य अवकाशमा जाँदै गरेका थपलियालाई रोकेर राजनीतिक प्रतिशोध मात्र साँधिएन, उनको आत्मसम्मानमा समेत गम्भीर चोट पुर्याइयो। थपलियाले उच्च अदालतको न्यायाधीश बनाउन गरेको अनुरोधलाई बेवास्ता गरी प्रधानन्यायाधीशसमेत रहेका अभिभावकले आफ्नै कर्मचारीमाथि अन्याय गरे।
न्याय परिषद्का एक सदस्यले लोकपथसँग भने, “थपलियाको हकमा अन्याय भएको हो। उनलाई रोक्नुपर्ने अन्य कुनै कारण थिएन। अध्यक्षज्यूले जेठो र कान्छो छोरालाई अँगालेर माइलो छोरालाई तिरस्कार गरेको जस्तै भयो।”
युवराज सफलको फेसबुकबाट