हामीले गरेको भित्री खबरको उत्खननका कारण तिल्मिलाएका केही पात्रहरू, अलिकति तथ्य-प्रमाण, अलिकति लाज-घीन, अलिकति कानुनी प्रावधानको त ख्याल राख्नुहोस्! तपाईंहरूको समय अलि बढी नै एकपाखे भएर बहकिनमा बर्बाद भयो कि! अघिल्लो शनिबार हामीले नै विस्तृत अनुसन्धानका निम्ति प्रहरीलाई उपलब्ध गराएको सिसिटिभी (CCTV) फुटेज, हामीले नै प्रकाशित गरेको २०५९ असोज ३० गते बसुन्धरा भुसालले जनआस्था बन्द गराउन गृह मन्त्रालयलाई दिएको जाहेरी (त्यो सार्वजनिक अपराधको आरोप थियो, त्यसलाई कसरी ज्यान मुद्दामा परिणत गरियो? यो पनि खोज्नुहोस् है!) तान्दै हामीविरुद्ध भएभरको बल निकालेर सत्तोसराप गर्दै हुनुहुन्छ। आफ्नै हिसाबले पनि मेहनत गरेर केही प्रमाण खोज्दा हुन्न! २३ वर्षसम्म बेखबर बसेर अहिले एक्कासि जनआस्थामा एक से एक ‘स्कुप’ आउन थालेपछि त्यसको प्रतिशोध साँध्ने नाममा अभिनेत्री श्रीषा कार्कीको परिवारलाई न्याय दिएको कि घाउमा नुन-चुक छर्केको?
९ वर्षअगाडि सारा कुरा बकितम गरेर गएका पत्रकार शालिकराम पुडासैनी र ३ वर्षअगाडि बितेका ड्राइभर शम्भु थापाको कथा र परिवारप्रति पनि उत्तिकै चिन्ता जाहेर गर्नुभएको भए तपाईंको निष्पक्षतालाई देश-दुनियाँले सलाम भन्ने मौका पाउने थिए।
४५ जना भीआईपी (VIP) को अनेक चलखेल र उनको फोटो प्रकाशन (खिचेको वा अन्य कुनै गतिविधि) बाहेक उक्त समाचारमा हाम्रो संलग्नता भेटिन्छ भने सरकार तपाईंसँग छ– सख्त अनुसन्धान गरोस्। ठहरिन्छ भने हामीलाई जेल हालोस्। दोषी ठहरिएका जोकोहीले छुट पाउनुहुन्न। भूतप्रभावी कानुन बनाएर भए पनि श्रीषा, शम्भु, शालिकराम, निर्मला– सारा प्रकरणको टुङ्गो लगाइयोस्।
के हाम्रो खोजी पत्रकारितालाई यसरी नै हतोत्साहित गरेर, हामीले नै प्रस्तुत गरेका दस्तावेजहरू हाम्रै साइटबाट तान्दै हामीविरुद्ध तोप हानेर तपाईंहरूको मन शान्त हुन्छ? २३ वर्षअगाडि न्यायिक टुङ्गो लागिसकेको विषय घरिघरि उछालेर तपाईंहरूको खिल निस्कन्छ? त्यसो हो भने हार्दिक निम्तो छ– अलिकति पनि ढिलाइ नगरी आएर हामीलाई झुण्ड्याउनुस् न है! आलोचनाको स्वरलाई गालीले मार्न खोज्ने तपाईंहरूको महान् अभियानमा हामी सुकरात बन्न आतुर छौँ।