Protest
काठमाडौं — संयुक्त जेनजी आन्दोलनले विघठित संसद पुनःस्थापना गर्ने कुनै पनि प्रयासलाई अस्वीकार्य र प्रतिगामी कदमको रूपमा व्याख्या गर्दै त्यसविरुद्ध कडा आन्दोलन हुने चेतावनी दिएको छ। एमाले–कांग्रेसको सहमतिमा संसद पुनःस्थापना गरिए पुनः सडक संघर्षमा उत्रिन बाध्य हुने आन्दोलनले स्पष्ट पारेको छ।
शुक्रबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनका नेताहरूले संसद पुनःस्थापना सम्भव नभएको मात्र होइन, त्यसले जनबलिदानबाट प्राप्त राजनीतिक परिवर्तनमाथि गम्भीर प्रहार गर्ने बताए।
आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले विघठित प्रतिनिधिसभा पुनःस्थापनाको बहसले आफूहरूलाई गम्भीर रूपमा झस्काएको उल्लेख गर्दै भने, “जेनजी आन्दोलन र त्यससँग जोडिएका बलिदानमार्फत स्थापित परिवर्तनलाई संस्थागत गर्नुको सट्टा पुराना शक्ति पुनः सक्रिय हुनु आन्दोलनमाथिको विश्वासघात हो।”
पूर्व देशका सचिवालय सदस्य तथा जेनजी अभियन्ता सुनिल सिंहले संसद पुनःस्थापनाको मागलाई खुला प्रतिगमनको संकेत भन्दै कुनै पनि हालतमा रोक्नुपर्ने धारणा राखे। “विघठित संसद पुनःस्थापना गर्नु भनेको चिहानमा पुगेको कंकाललाई जीवित पार्ने प्रयास जस्तै हो,” उनले भने, “यसका विरुद्ध जेनजी आन्दोलन कडा संघर्षका लागि तयार छ।”
जेनजी नेतृ नर्गिस थापाले आन्दोलन आफ्ना माग पूरा गराउन निरन्तर सडकमा रहेको बताउँदै जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन्। जेनजी अभियन्ता अमृतकुमार बोहोरालगायत वक्ताहरूले नयाँ र पुराना सत्ताशक्तिहरू मिलेर जेनजी आन्दोलनको भावना र उद्देश्यलाई निष्प्रभावी बनाउन खोजेको आरोप लगाए।
संयुक्त जेनजी आन्दोलनले स्पष्ट रूपमा केपी ओलीलगायत जिम्मेवार नेतृत्वमाथि कारबाही नगरी संसद पुनःस्थापनाको माग अघि सारिनु जनआन्दोलनको मर्मविपरीत भएको उल्लेख गर्दै, आवश्यक परे संघर्षको नयाँ चरणमा प्रवेश गर्ने चेतावनी दिएको छ।