
लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माले नेतृत्व गरेको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा गरिएको छ । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखिएको छ । माक्र्सवाद, लेनिनवाद र माओविचारधारालाई मार्गदर्शन बनाएर नयाँ जनवादी क्रान्तिमार्फत समाजवाद र साम्यवाद स्थापना गर्ने उद्देश्य छ ।
२०८२ भदौ ३०, काठमाडौँ । लोकनारायण सुवेदीको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता भई नयाँ ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको छ । सोमबार संवाद डबलीमा आयोजित कार्यक्रममा माक्र्सवाद, लेनिनवाद र माओविचारधारालाई मार्गदर्शन बनाउँदै नयाँ जनवादी क्रान्तिमार्फत समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने उद्देश्य घोषणा गरियो ।
पार्टीले सशस्त्र संघर्ष र जनविद्रोहको संयोजित बाटो अवलम्बन गर्ने जनाएको छ । शोषित, मजदूर, किसान, दलित, महिला, जनजाति, मधेसी, मुस्लिमलाई क्रान्तिको मुख्य शक्तिको रूपमा उभ्याउँदै काँग्रेस, एमाले र माओवादीका कारण जेनजी आन्दोलनमार्फत असन्तुष्टि विस्फोट भएको ठहर गरिएको छ ।
एकीकृत पार्टीको संयोजकमा सुवेदी चयन भएका छन् । १४ सदस्यीय सचिवालय र ३५ सदस्यीय पोलिटब्यूरो गठन गरिएको छ । यो एकताले छरिएका क्रान्तिकारी कम्युनिस्ट समूहहरूलाई एकीकृत गरी वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ ।