अनलाइन मिडियाको दर्ता प्रक्रियामा सरकारको कदमप्रति प्रेस सेन्टरको आपत्ति
काठमाडौँ, साउन २२
प्रेस सेन्टर नेपालले अनलाइन सञ्चारमाध्यमहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता तथा नवीकरण गर्नुपर्ने सरकारी प्रक्रियालाई प्रेस स्वतन्त्रता र संविधानविपरीत भन्दै कडा आपत्ति जनाएको छ।
संगठनले एक विज्ञप्ति जारी गर्दै नेपाल प्रेस परिषद्सम्बन्धी ऐनमा संशोधन नगरी गृह मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागमार्फत अनलाइन सञ्चारमाध्यमहरूलाई नियन्त्रण गर्ने प्रयासप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।
प्रेस स्वतन्त्रता माथि अंकुश
प्रेस सेन्टरका अनुसार, सरकारले सञ्चारमाध्यममाथि अनावश्यक अंकुश लगाउन खोजिरहेको छ। यसले प्रेसको स्वतन्त्रता कुन्ठित गर्न खोजेको र लोकतान्त्रिक मूल्य विपरीत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
संविधानविपरीत सरकारको कदम
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको भए पनि हाल सरकारले संविधानको भावनाविपरीत मिडिया नियमन गर्न खोजेको भन्दै संगठनले गम्भीर आपत्ति जनाएको छ।
एकीकृत छाता ऐनको माग
प्रेस सेन्टरले सबै सञ्चारमाध्यमका लागि एउटै नीति र कानुन बनाइनु पर्नेमा जोड दिएको छ। ‘छाता ऐन’ निर्माण गरी अनलाइन, प्रिन्ट, रेडियो, टेलिभिजन लगायत सबै माध्यमहरूलाई एउटै नीतिगत संरचनामा ल्याउनुपर्नेमा संगठनले जोड दिएको छ।
विज्ञान बोर्डमा मिडियाको नाम समावेशको विरोध
विज्ञप्तिमा केही प्रस्तावित कानून संशोधनहरूमा विज्ञान बोर्ड तथा अनुसन्धानसम्बन्धी संरचनामा मिडियाको नाम समावेश गरिएकोप्रति आपत्ति जनाइएको छ। मिडिया स्वतन्त्र र वैज्ञानिक अनुसन्धानभन्दा फरक क्षेत्र भएकोले त्यस्ता प्रावधान हटाउन माग गरिएको छ।
अन्तर्राष्ट्रिय मान्यता र संवैधानिक मर्मको उल्लङ्घन
संगठनले मिडियासम्बन्धी कुनै पनि नीति संविधान र अन्तर्राष्ट्रिय मान्यताका आधारमा बन्नुपर्ने उल्लेख गर्दै, हाल सरकारको धारणा प्रेस स्वतन्त्रताको विरोधी भएको दाबी गरेको छ।
यसले अभिव्यक्ति स्वतन्त्रता, जनताको जानकारीको हक, र लोकतान्त्रिक शासन प्रणाली माथि असर पार्ने स्पष्ट खतरा रहेको प्रेस सेन्टर नेपालको निष्कर्ष छ।
प्रेस सेन्टर नेपालले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी दिएको छ र छाता ऐन निर्माणको मागसहित अनलाइन मिडियामाथिको भेदभावपूर्ण र असंवैधानिक व्यवहार तत्काल बन्द गर्न आग्रह गरेको छ।
प्रेस सेन्टरका महासचिव मनोज घर्तिमगर द्वारा हस्ताक्षरित बिज्ञप्ति

