नेकपा (माओवादी केन्द्र) सांसद राजन दाहालको एमालेमाथि तीव्र आरोप
नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले नेकपा (एमाले) नेता योगेश भट्टराईको पछिल्लो अभिव्यक्तिको प्रतिवाद गर्दै सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिएका छन्। उनले निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान हटाउने प्रयासमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन्।
सांसद दाहालले आफ्नो फेसबुक वालमा लेखेका छन्, निजामती विधेयकको मस्यौदा तयार गरी सदनमा पेश गर्दा एमालेकै असहमतिको कारण कुलिङ पिरियडको विषय नउठाउनुपरेको बाध्यता योगेशजीलाई थाहा भएकै हो।
उनका अनुसार, यो विषय सचेतपूर्वक समितिमा प्रवेश गराइएको थियो र कांग्रेसलाई विश्वासमा लिएर एमालेलाई दवावमा राख्दै सार्वजनिक बहसको विषय बनाइएको थियो। समितिबाट सर्वसम्मत रुपमा पास गरिएको प्रावधानलाई ओलीजीकै आदेशमा कार्यसूचीबाट हटाउनु र पछि संसदमा ल्याउँदा कुलिङ पिरियडको प्रावधान हटाउने प्रयास हुनु स्पष्ट षड्यन्त्र हो,
दाहालको आरोप छ।
दाहालले राष्ट्रिय सभामा कुलिङ पिरियडको विपक्षमा एमाले सांसदहरूले दर्ता गराएका संशोधनहरू नै एमालेको संस्थागत संलग्नताको प्रमाण भएको जिकिर गरेका छन्। त्यसैले जब पार्टीकै संलग्नता पुष्टि भइसकेको छ भने, सम्माननीय प्रधानमन्त्रीलाई छानबिनको दायरामा ल्याउने माग गर्नु के अन्याय हो?
उनले प्रश्न गरेका छन्।
यो विषयमा एमाले पक्षले आधिकारिक प्रतिक्रिया दिएको छैन।