आत्म रोएको पल,मन पग्लिएको क्षण।
प्रा.डा. युवराज संग्रौला
आत्म भनेको चेतना हो। हामी भन्ने गर्छौं, “मेरो आत्म रोयो।” त्यो भनेको मेरो चेतले “अस्वीकार गर्यो र मेरो मानवता पग्लियो” भनेको हो। मानिसको दिमाग नै समग्र अल्गोरिदम हो। यसमा चिन्तन र मननको असीमित सामर्थ्य छ। यसले मूलतः विज्ञानको सहयोगले “बोधिसत्व” को गवेषण, अन्वेषण, सन्धान, अनुसन्धान, विश्लेषण, र विचारको निर्माण गर्दछ।
यसले (१) यी सबै चिन्तन र मन्थन गर्दा विमर्शवाद (डायलेक्टिकल इन्टर्याक्सन), बोधन्मुख चिन्तन (कग्निसन) र प्रयोगवाद (इम्पिरिसिजम) को उपयोग गर्छ। यो सबै जब चिन्तनका रूपमा क्रियाशील रहन्छ, त्यसलाई आत्म भनिएको हो। जब त्यो प्रक्रिया अति उन्नतशील हुन्छ, त्यसलाई अधि+आत्मिक वा “आध्यात्मिक” भनिन्छ, जसले वस्तुभन्दा मानिसको सोचलाई पर लैजान्छ। यो नै मेटाफिजिक्स हो। चिनियाँ दार्शनिक लाओ त्सु यसका पारङ्गत मानव हुन्। (२) यो चिन्तनलाई जब मनले विज्ञानसँग जोडेर वस्तुगत तथ्ययुक्त निष्कर्ष निकाल्छ र त्यसो गर्दा “एकले अर्कोसँग क्रियात्मक अन्तरक्रिया गर्दछ, त्यो डायलेक्टिकल वा विमर्शजन्य हुन पुग्छ। अतः डायलेक्टिकल भनेको पृथक् गन्तव्यमुखी हो, द्वन्द्वात्मक होइन। यो सिद्धान्तका सूक्ष्म व्याख्याता हुन् मुनि कपिल, जसले साङ्ख्य दर्शनको प्रतिपादन गरे, र उनले “प्रकृति (वस्तु) र पुरुष (सूक्ष्म सामर्थ्य) को योगात्मक अन्तरक्रियाको विज्ञानको सूत्रपात गरे। (३) त्यसलाई अभिव्यक्त गर्ने शैलीका रूपमा गौतमले “न्यायसूत्र” विकास गरे, जसलाई तर्कशास्त्र भनिन्छ। यी दुवै नेपाली दार्शनिक थिए। (४) यी ज्ञानलाई अस्तित्वसँग जोडेर हेर्नुपर्छ भन्ने मान्यता गार्गीको थियो, जो नेपाली थिइन्।
१. यी सबै ज्ञानले विचारको खेतीलाई जमिन प्रदान गर्छन्। र, यिनले विचारका तीन तह प्रकट गर्छन्। (क) वृत्ति (आग्रह वा पूर्वाग्रह) को तह, जहाँ मानिस नितान्त निहित स्वार्थसँग जोडिएको हुन्छ। उसलाई आफ्नो भुँडीबाहेक केही अर्थ छैन। त्यसैले ऊ लोभी हुन्छ, लम्पट हुन्छ, र अपराधी हुन्छ। यस्ता मान्छेको बाहुल्य छ अहिले नेपालमा। जब पूर्वाग्रही मानिस लोभी हुन्छ, र लम्पट्याइँको बाटोमा लाग्छ, त्यसले आफ्नो अस्तित्व बिर्सेर आफ्नो पहिचान गुमाउँछ। हुन त त्यो काग हो, तर आफूलाई कहिले रुक्मिणी र कहिले हाँस ठान्छ। उसको आत्म अँध्यारो हुन्छ र ऊ घृणा र परपीडाको खेतीमा लाग्छ, र अन्तमा पागल हुन्छ।
२. जब मानिस वृत्तिबाट माथि उठेर सत्यको खोजीमा तथ्यलाई हेर्न थाल्छ, तब उसले विज्ञानलाई सत्यको खोजी गर्ने माध्यम बनाउँछ। उसमा आग्रह र पूर्वाग्रह समाप्त हुन्छ। बुद्धले यो बाटो समाते। उनले पहिला आग्रह र पूर्वाग्रह त्यागे र “कारण र परिणाम” को अध्ययनबाट “अस्थायित्वको सिद्धान्त” (थियोरी अफ इम्पर्मानेन्स) को सूत्रपात गरे। अनि बिस्तारै बोधको बाटोमा गए। उनी पनि नेपाली हुन्।
३. कपिलले साङ्ख्यद्वारा भने, “मुनामा हाँगा समाहित छ, बीउमा रूख समाहित छ।” अर्थात्, बीउमा नै रूखको अस्तित्व स्थित भइसकेको छ। यो चेतना बोध हो, यो नै आध्यात्मिक हो। यही आध्यात्मिक व्याख्या कृष्णले अर्जुनलाई बताउँछन्।
हामीले यो ज्ञानलाई बुझ्नु नै दर्शन हो। यो ज्ञानको आलोकमा हेर्दा हामी केही बुद्धि पाउँछौँ।
१. वृत्तिमा बाँच्ने मानिसको आत्ममा कुनै चेतना हुँदैन, केवल स्वार्थ र अहंकार हुन्छ। त्यस्तो मान्छेको आत्म अँध्यारो हुन्छ। त्यसले अरूलाई बिच्छीले डसे झैं डस्छ। यस्ता मानिसले आफ्नो पहिचान के हो थाहा नै पाउँदैनन्। जसरी बिच्छीले डस्दा असल र खराब हेर्दैन, यस्ता मान्छेले अरूलाई त्यसरी नै डस्छन्। तर अन्तमा यिनको अन्त किराको जस्तै हुन्छ। विज्ञानमा आसीन मानिसको मन उज्यालो हुन्छ। उसले राम्रो र नराम्रो चिन्छ। तर, उसले किन राम्रो र नराम्रो हो भन्ने कुरालाई ध्यान दिँदैन। त्यसैकारण वैज्ञानिकले बम बनाए। यो अपराध रोक्न मानिस बोधमा गएर बुद्ध बन्नुपर्छ।
राजनीतिको मूल धरातल यही बोध हो। मार्क्सले पूँजीको वैज्ञानिकता देखे, तर पूँजीमा मानवताको अभाव देखे। अतः वर्गको विश्लेषणको व्याख्याबाट समतावादका लागि समाजवादको परिकल्पना गरे। उनी विज्ञानभन्दा माथि गएर बुद्ध बन्न सकेनन्। त्यसैले आज उदारवादको मुखुण्डो खुल्यो, यो पतनशील छ। तर समाजवादले पनि लक्ष्य पूरा गर्न सकेन। आजको राजनीति रजनको बाटोमा होइन, “पश्चिमको असफल प्रणाली शासनको” बाटोमा छ। रजनको बाटो त समतावाद हो, जहाँ मानिस वृत्ति छोडेर विज्ञानको सहयोगले बोधतर्फ जान्छ। यस्तो राजनीतिले मात्र अँध्यारो आत्म समाप्त गर्छ।
©kalokitab.com:
क्रान्तिकारी धारबाट सुसासन र नागरिक सर्वोच्चताको पक्षमा कलम चलाउदै आएका प्रा.डा. युवराज संग्रौला प्रख्यात लेखक हुन्।