भोटेकोशीको महाविपत्ति र राष्ट्रिय सङ्कटबीच प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण: संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान
काठमाडौँ।
नेपालमा भोटेकोशी नदीमा आएको भीषण हिमपहिरो र त्यसपछिको विनाशकारी बाढीका कारण देशले भयाबहपुर्ण मानवीय, भौतिक तथा आर्थिक क्षतिको सामना गरिरहेका बेला सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो पहिलो विदेश भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ।

आज विक्रम संवत् २०८३ साल असोज ६ गते (तदनुसार सन् २०२६ सेप्टेम्बर २२ तारिख, मङ्गलबार) काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहको यो भ्रमणलाई संयुक्त राष्ट्रसङ्घ जस्तो सर्वोच्च अन्तर्राष्ट्रिय मञ्चको अधिकतम उपयोग नेपालको हितमा कसरी गर्न सकिन्छ भन्ने विषयको केन्द्रमा राखेर हेरिएको छ। विगतमा घरेलु मञ्चहरूमा व्यक्त गरिएका धेरैजसो अभिव्यक्तिहरू लज्जास्पद र विवादास्पद बनेका कारण यसपटक अन्तर्राष्ट्रिय मञ्चमा त्यस्तो नहोस् र प्रधानमन्त्रीले गम्भीर एवं परिपक्व कूटनीतिक कौशल प्रदर्शन गरून् भन्ने आम नेपालिको सर्वोपरि अपेक्षा छ।
भोटेकोशीमा आएको भीषण बाढी र हिमपहिरोले पुर्याएको दशौँ खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति, हजारौँ नागरिकको अकालमा भएको मृत्यु तथा बेपत्ता, हजारौँ बालबालिका तथा वृद्धवृद्धा बेसहारा बनेको दुःखद परिस्थिति र सर्वसाधारणको मानवीय, प्राकृतिक वात्सल्य तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार खोसिएको यो भयावह घडीमा देशका कैयौँ पक्की पुल तथा सयौँ किलोमिटर सडकखण्ड पूर्ण रूपमा भत्किएका छन्। जलविद्युत् गृहहरू ध्वस्त भएका छन् र दूरसञ्चार सेवा विच्छेद भई सम्पूर्ण देश नै एक किसिमले अस्तव्यस्त बनेको छ।
यस्तो विकराल राष्ट्रिय सङ्कटका बीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई नेपालले आफ्नो पीडा र हक स्थापित गराउने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्नेछ। खासगरी जलवायु परिवर्तनमा शून्य योगदान भए पनि त्यसको प्रत्यक्ष मारमा पर्दै आएका नेपालजस्ता अल्पविकसित तथा भूपरिवेष्ठित देशहरूको दयनीय हालत, गरिबी र संवेदनशीलतालाई विश्वसामु छर्लङ्ग पार्न आवश्यक छ। शक्ति राष्ट्रहरूले साना, अल्पविकसित र भूपरिवेष्ठित देशहरूको पीडा, माग र एजेन्डालाई निरन्तर बेवास्ता गर्ने जुन प्रवृत्ति देखाउँदै आएका छन्, त्यसविरुद्ध प्रधानमन्त्री शाहले दृढतापूर्वक प्रश्न उठाउनुपर्छ।
भ्रमणका क्रममा नेपालले जलवायु न्यायको माग गर्दै विपद् व्यवस्थापन र अनुकूलनका लागि क्षतिपूर्ति स्वरूप अनुदान र आधुनिक प्रविधि हस्तान्तरण, भूपरिवेष्ठित राष्ट्रका रूपमा स्वतन्त्र आयात-निर्यातको अधिकार, र अन्तर्राष्ट्रिय जल तथा स्थल मार्गको निर्वाध प्रयोग पाउने अधिकारबारे बुलन्द आवाज उठाउनु अनिवार्य छ। साथै, सिमाना र सुरक्षाका विषयमा छिमेकी भारतजस्ता देशहरूबाट हुने विभिन्न किसिमका हस्तक्षेप र छेडखानीका विरुद्ध नेपालको भूराजनीतिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रसङ्घीय ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सडक सञ्जाल, ऊर्जा तथा यातायातका क्षेत्रमा भएको ध्वस्त संरचनाको पुनःनिर्माण र पुनर्नस्थापनाका लागि विश्व समुदायबाट ठूलो परिमाणको सहयोग जुटाउनु यस भ्रमणको मुख्य लक्ष्य हुनुपर्छ।
यिनै संवेदनशील र दूरगामी महत्त्वका राष्ट्रिय मुद्दाहरू बोकेर प्रधानमन्त्री बालेन्द्र शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज असोज ६ गते (२२ सेप्टेम्बर) १९ः०० बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको हो।
प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ।
प्रधानमन्त्रीज्यू दोहाबाट असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। उहाँलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नुहुनेछ। सोही दिन सम्माननीय प्रधानमन्त्री शाहज्यू संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नुहुनेछ। त्यसलगत्तै प्रधानमन्त्री शाहज्यू उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सरिक हुनुहुने कार्यक्रम छ।
भ्रमणको मुख्य कार्यसूचीअनुसार असोज ८ गते (२४ सेप्टेम्बर) सम्माननीय प्रधानमन्त्रीज्यू र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता हुनेछ। भेटका क्रममा नेपालमा भोटेकोशी बाढीले सिर्जना गरेको जलवायुजन्य विपत्ति, अल्पविकसित देशहरूको सङ्कट, प्रविधि हस्तान्तरण, सुरक्षा तथा सीमा व्यवस्थापन र पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगबारे ठोस छलफल गरियोस् भन्ने अपेक्षा राखिएको छ। त्यसलगत्तै प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै शक्ति राष्ट्रहरूलाई साना देशको संवेदनशीलता बुझ्न ध्यानाकर्षण गराउनुहुनेछ।
महासभाको सम्बोधन एवं अन्य उच्चस्तरीय द्विपक्षीय भेटघाट सम्पन्न गरी प्रधानमन्त्रीज्यू असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्रीज्यूलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाई गर्नुहुनेछ।
प्रधानमन्त्री बालेन्द्र शाह यही असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फिर्ता भई ओर्लिने कार्यतालिका रहेको छ।