नेपालको राजतन्त्र र दरबार हत्याकाण्डको इतिहास
अहिले राजाबादी गतिविधिमा जनजाति देखि दलित सम्मका अनुहार पनि देखिएका छन् किन ? राजतन्त्रकालमा केन्द्रमा हेर्दा ज्ञानेन्द्र शाह राजा थिए भने पृथ्वीनारायण शाह देखि यताका ४ पुस्तेहरु राजपरिवारका सदस्यहरुले राज्यकोषबाट सुबिधा र भत्ता पाउदै आएका थिए। तर यतिमात्र थिएनन -ज्ञानेन्द्र शाहको सहयोगका लागि नियुक्त मुस्ताङ्गे राजा देखि पर्वते राजाहरु गरि देशभरि थप १५ राजाहरु लगायतले राज्यकोषबाट नियमित भत्ता लिदै आएका थिए। तर यो यथार्थ धेरौजसो नेपालीलाई थाहा छैन। यथार्थ बुझ्न त्यसबेलाको कानुनि व्यवस्था हेर्नुपर्ने हुन्छ।
तपाइलाइ थाहा छ ? २०६५ सालमा नेपालमा गणतन्त्र आउनु भन्दा पहिले १५ छोटेराजा सहित १६ वटा राजा थिए। सबैभन्दा ठुलो ज्ञानेन्द्र थिए भने रानो राजा पर्वते थिए।
राजा वीरेन्द्रको वंश हत्या पछिको ज्ञानेन्द्र शाहको शासनकाल। श्री ५ का अतिरिक्त देशका विभिन्न भागमा रहेका अन्य राजाहरूलाई समेत अझै पनि आम जनतालाई भन्दा विशेष व्यवस्था र सुविधा दिनुले नेपाली जनतामाथि विभेद गरेको मात्र होइन-नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८ उपधारा १ र भेदभाव उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि १९६६ को धारा १ विरुद्ध छ भन्दै विक्रम सम्वत २०५९ सालमा सर्वोच्च अदालतमा रिट पर्यो। अन्य विषयहरू पनि छन्-एकजनाले आफूलाई राजा भनी दाबी गरेर निवेदन गरे, अन्ततः उक्त मुद्दाको छिनोफानो गर्न सर्वोच्च अदालतमा पुर्याइयो र रोचक फैसला भयो।
आफूलाई राजा घोषणा गर्न दाबी सहित राजाविरुद्धका २ मुद्दाको सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला। १६ राजाहरूको सूची। दरबार हत्याकाण्डको छानबिनको प्रश्न उठाउने पत्रकारमाथि हमला गर्न निर्मलनिवासको उर्दी। दीपेन्द्रलाई हत्यारा करार गराई आफूखुसी सफाइ लिने ज्ञानेन्द्रको खेलविरुद्ध प्रतिरोध। हिमानीको खेल भन्दै वाइसिएलद्वारा प्रतिकार गर्दा भयावह परिस्थितिका बीच भाग्न उनी सफल भइन्।
नेपालमा गणतन्त्र आएपछि एउटा राजवंशको मात्र अन्त्य भयो भन्ने ठान्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ। राजा वीरेन्द्रको वंश हत्या पछिको कुरा ।छोटेराजालाइ राज्यले सुबिधा दिन जनता माथिको विभेद भन्दै सर्वोच्च अदालतमा मुद्धा पर्यो, यो इतिहासको वास्तविकता बुझ्न राजतन्त्रकालीन संविधान र कानुनका आधारमा अदालतले गरेका २ फैसला हेर्नुपर्ने हुन्छ। आफू राजा हुनुपर्ने दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा पर्यो। त्यसबेलासम्म नेपालमा कायम रहेका १६ वटा राजाहरूको शक्ति र उनीहरूलाई राज्यले दिने मर्यादाक्रमको रोचक तथ्यले सबैलाई चकित बनाएको थियो।
काठमाडौंमा रहेका ठूला शाहवंशीय राजालाई श्री ५ भनिन्थ्यो भने देशका विभिन्न भागमा रहेका अन्य १५ वटालाई चाहिँ राजा मात्र भनिन्थ्यो। गणतन्त्र आएसँगै काठमाडौंमा रहेका श्री ५ ज्ञानेन्द्र र अन्य सबै साना राजाहरूको अस्तित्व अन्त्य भयो। तर त्यसबेला केही रोचक घटनाहरू घटेका थिए। आफूलाई राजा बनाउनुपर्ने दाबी गर्दै – एउटा निवेदन पर्यो भने साना राजाहरूको खारेजीको मागसहित अदालतमा अर्को मुद्दा पर्यो। यी तमाम घटनाको नालीबेली प्रस्तुत गरिरहँदा प्रश्न तेर्सिएको छ – आफ्ना दाजुको वंश हत्यामा ज्ञानेन्द्रको सहभागिता कस्तो छ? यस घटनामा सबैभन्दा केन्द्रमा रहेकी अर्की पात्र हुन् – रत्न शाह। अहिले पनि उनी नारायणहिटी दरबारभित्र बस्दै आएकी छन्। गणतन्त्र आएपछिका यतिका वर्षसम्म पनि प्रहरीले बयान लिन नसकिरहेका बेला उनले – दरबार हत्याकाण्डको बारेमा कहिल्यै नबोल्ने घोषणा गर्नुलाई रहस्यको रूपमा हेरिएको छ। पूर्वघोषित योजना अनुसार दीपेन्द्रलाई हत्यारा करार गरेका ज्ञानेन्द्रले राजा बनेपछि यता बयान दिन किन इन्कार गरे? यी विषयहरू पनि उत्तिकै रोचक छन्। दरबार हत्याकाण्डको अनुसन्धान गरियो भने देशमा आगो लगाइदिने धम्की दिँदै आएको राजावादी राप्रपा समूहको लक्ष्य के हो?
यो घटनाको पृष्ठभूमि
यो घटनाको पृष्ठभूमि बुझ्न – विषय प्रवेश गर्नुभन्दा पहिले – विक्रम सम्वत २०११ साल असार ३१ गतेको सर्वोच्च अदालतको फैसलाको सार हेरौं।
आजभन्दा ७५ वर्ष अगाडिको घटना। विक्रम सम्वत २००७ सालसम्म हालका राप्रपा नेता पशुपति शमशेर राणा सेनाका स्वघोषित जर्नेल थिए। त्यसबेला उनका बुवा विजय शमशेर र हजुरबुवा मोहन शमशेरलगायतका राणा परिवारले नेपालमा शासन गर्थे। सेनापति केशर शमशेर राणा थिए। राणा शासनविरुद्ध बोल्नेलाई मृत्युदण्ड दिइन्थ्यो र गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीलगायत कैयौंलाई मृत्युदण्ड दिइएको थियो। यसरी राणा शासनको अन्त्य भएर नेपालमा राजतन्त्रात्मक प्रजातन्त्र आएको थियो।
आफ्नो सत्ताको विरासत पल्टिएको आक्रोशमा राणाहरूले २००७ को क्रान्तिको उपलब्धि पल्टाएर पुनः राणाशासन स्थापनाको उद्देश्य राखेर काठमाडौंमा भयानक हिंसा गरे। सेनाका लेफ्टिनेन्ट जर्नेल मृगेन्द्र शमशेर, भारत शमशेरलगायतले उक्त आन्दोलनको नेतृत्व गरे। त्यो अराजक र सामन्ती भिडको नाम – राष्ट्रवादी गोर्खा परिषद राखेका थिए। उनीहरूले यति सम्म गरे कि – २०१५ सालको संसदीय चुनावमा उत्साहजनक सिट जितेका थिए। त्यही राणातन्त्र पुनःस्थापनाको रणनीतिमा रहेको राष्ट्रवादी गोर्खा परिषदले गृहमन्त्री बिपी कोइरालाको हत्या गर्न कार्यक्षममा भयानक हमला गर्यो र भाग्यवश उनी बाँच्न सफल भए। २०११ साल फागुनमा राजा त्रिभुवनको मृत्युपछि महेन्द्र शाह नेपालको नयाँ राजा भए। उनले २०१७ सालमा पञ्चायती शाही शासन थालेपछि राणाहरू एकाएक राजाको कित्तामा गए भने बाँकी अरू हराए। यसरी २०४७ मा नेपालमा राजतन्त्रात्मक प्रजातन्त्र पुनःस्थापना भएपछि तिनै कुलीन र शासक घरानाहरूले राप्रपाको नाममा राजनीति थालेका थिए। हाल त्यही पूर्वशासक, कुलीन, सामन्त, रजौटा र दरबारिया पारिवारिक पृष्ठभूमिका व्यक्तिहरूको समूहले गणतन्त्र उल्टाउने अभियान चलाउँदै आएका छन्। तर अहिलेको यो गतिविधि शाहवंशको शासनका लागि हो? वा राणावंशको शासनका लागि हो? गणतन्त्र आउँदाको अन्तिम समयसम्म नेपालमा शाहवंशका अतिरिक्त सल्यान, मुस्ताङ, बझाङ, जाजरकोटलगायतका ४ राजाहरू विशेष सुविधा र अधिकारसहित थिए। भने अन्य ११ राजाका सन्तानलाई ज्ञानेन्द्रले आफ्नो बलियो शक्ति ठानेका थिए। तर पनि राजतन्त्र ढल्यो। यसर्थ आज राजावादीले ल्याउने भनेको तन्त्रले कुन वंशको शासन स्थापना गर्ने हो भन्नेबारे उनीहरू अझै एकमत छैनन्। त्यसमाथि नेपालको इतिहासमा किरातदेखि मल्ल राजाहरूको इतिहासलाई खोज्दा – यो घटनाको रहस्य झन् भयानक बनेको छ।
सर्वोच्च अदालतका दुई मुद्दाहरू
शाह राजाहरूका अतिरिक्त यी १५ वटा साना राजाहरूको विवरणभन्दा पहिले – अदालतमा परेको यी २ मुद्दा हेरौं।
विक्रम सम्वत २०५८ साल जेठ १९ मा श्री ५ वीरेन्द्र र उनको वंशको हत्यापछि – ज्ञानेन्द्र शाह नेपालको राजा भए। नेपालको संविधानले श्री ५ र शाह खलकलाई असीमित अधिकार र विशेष तलब-भत्ता सहित संवैधानिक उन्मुक्तिको व्यवस्था गरेको थियो। तर श्री ५ का अतिरिक्त देशका विभिन्न भागमा रहेका अन्य राजाहरूलाई समेत अझै पनि आम जनतालाई भन्दा विशेष व्यवस्था र सुविधा दिनुले नेपाली जनतामाथि विभेद गरेको मात्र होइन – नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८ उपधारा १ र भेदभाव उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि १९६६ को धारा १ विरुद्ध छ भन्दै विक्रम सम्वत २०५९ सालमा सर्वोच्च अदालतमा रिट पर्यो। यस सम्बन्धमा सबै काम राजाले गरेको भए पनि – राजा र राजपरिवारले गरेका कुनै पनि अपराधमा प्रश्न गर्न नपाइने संवैधानिक व्यवस्थाका कारण – श्री ५ को सरकार, मन्त्रिपरिषद्लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। रिट नम्बर ११६।
यस मुद्दाका सम्बन्धमा – न्यायाधीश मीनबहादुर रायमाझी, शारदाप्रसाद पण्डित र न्यायाधीश परमानन्द झा सम्मिलित ३ सदस्यीय विशेष इजलासले – विक्रम सम्वत २०६१ चैत्र ४ गते विशेष आदेश गर्यो। त्यस फैसलाले नेपालमा ३ प्रकारका मानिसहरू रहेको भनी उल्लेख गरेको छ। सबैभन्दा सर्वोच्च स्थानमा – शाहवंश जसमा श्री ५ र उनको ४ पुस्ताका सन्तानहरू संविधान र कानुनभन्दा माथि छन्। त्यसपछि श्री ५ मातहतका अन्य साना राजाहरू। सबैभन्दा तल्लो तहमा नेपाली जनता रहेका छन्। र देशमा विद्यमान नेपाल अधिराज्यको संविधान २०४७ र संसदले बनाएका कानुनहरू नेपाली जनतालाई मात्र लाग्ने छन्।
“राज्य रजौटा ऐन २०१७ र नियमावली २०४४ अनुसार देशका विभिन्न स्थानमा रहेका विभिन्न राजाहरूको नियुक्तिको काम श्री ५ ले गर्ने भएकाले यसका सम्बन्धमा प्रश्न उठाउन मिल्ने देखिएन। यसर्थ निवेदकको माग बमोजिम आदेश जारी गर्न मिलेन। प्रस्तुत रिट निवेदन खारेज हुने ठहरिन्छ।”
मिति २०६१ चैत्र ४ गते फैसला भएको यो मुद्दामा रिटकर्ताको पक्षबाट – लुमासिंह विश्वकर्मा, रवि खनाल, टीकाराम भट्टराई, पूर्णदेवी महर्जन, चन्द्रकान्त ज्ञवालीलगायतका वकिलहरूले बहस गरेका थिए भने तत्कालीन श्री ५ को सरकारका तर्फबाट – महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठकले बहस गरेका थिए।
यसरी शाह राजाअन्तर्गत देशका विभिन्न भागमा सक्रिय अन्य राजाहरूका सम्बन्धमा विक्रम सम्वत २०६१ सालमा, ज्ञानेन्द्र राजा हुँदाको समय, अदालतले गरेको यो रोचक फैसला पनि हेरियो।
यो मामिला अझ प्रष्ट बुझ्न राज्य रजौटा ऐन २०१७ र नियमावली २०४४ को कानुनी व्यवस्था हेर्नुपर्ने हुन्छ। तर त्यसभन्दा पहिले जयन्द्रबम मल्लले आफू राजा हुनुपर्ने दाबी गरेको विषय र त्यसका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला हेरौं।
पर्वते राजा चन्द्रबहादुरका २ श्रीमतीका फरक-फरक सन्तान हुन् – जयन्द्रबम मल्ल र दुर्गाबहादुर मल्ल। यी दुईबीच राजा हुन घमासान लडाइँ चल्छ। अन्ततः राजा वीरेन्द्रले अदालतमार्फत छिनोफानो गराउने हुकुम गर्छन्। घटना यस्तो छ।
विक्रम सम्वत २०३६ साल मङ्सिर २१ गते शुक्रबार जयन्द्रबम मल्लले आफूलाई पर्वतको राजा घोषणा गरियोस् भनी राजा वीरेन्द्रलाई बिन्तीपत्र चढाएका थिए। भने – उता दुर्गाबहादुर मल्ल विगतदेखि नै पर्वतको राजा घोषित भएर नेपालको सञ्चित कोषबाट नियमित तलब-भत्ता र सुविधा लिँदै आएका थिए। जयन्द्रबम मल्लले पनि दाबी पेस गर्दै राजा वीरेन्द्रलाई बिन्ती चढाएपछि विषय जटिल बन्न पुग्यो। यसरी एउटा राजाको पदमा २ जनाको दाबी आएपछि राजा वीरेन्द्रले यसको छिनोफानो गर्न सर्वोच्च अदालतलाई हुकुम गरे। राजाको हुकुम आएपछि प्रधानन्यायाधीशले यो मुद्दालाई किनारा लगाउन आदेश दिए बमोजिम – न्यायाधीश धनेन्द्रबहादुर सिंह, न्यायाधीश सुरेन्द्रप्रसाद सिंह, र त्रिलोकप्रताप राणा सम्मिलित पूर्ण इजलास गठन गरियो। जयन्द्रबम मल्लले षड्यन्त्रपूर्ण प्रयास गरेको ठहर गर्दै विक्रम सम्वत २०४१ साल चैत्र ९ गते शुक्रबार सर्वोच्च अदालतको पूर्ण इजलासले दुर्गाबहादुर मल्ललाई नै पर्वतको राजा भनी ठहर गरेपछि मुद्दा किनारा लागेको थियो।
तर यो कुरा भने अझ महत्त्वपूर्ण छ।
राजतन्त्रकालमा श्री ५ र शाहवंशका ४ पुस्ताका सन्तानका अतिरिक्त अन्य थप १५ राजाहरूले राज्य कोषबाट तलब-भत्ता र विशेष सुविधा लिने गरेको भए पनि यीहरूको मर्यादाक्रम भने फरक-फरक थियो। नेपालको सबैभन्दा माथिल्लो मर्यादाक्रममा श्री ५ र शाहवंशका ४ पुस्ताका सन्तानहरू रहन्थे भने त्यसभन्दा तलको मर्यादाक्रममा प्रधानमन्त्री रहन्थे। त्यसभन्दा पनि तल्लो मर्यादाक्रममा यी रजौटा राजाहरू रहन्थे। यी साना राजाहरूको काम शाह राजाहरूको पक्षमा माहोल कायम राख्नु रहेको थियो। नेपाल राष्ट्रमा कायम गरिएको राष्ट्रको मर्यादाक्रमको विवरण हेर्नुहोस्।
१५ साना राजाहरूको सूची
सबैभन्दा पहिले ती १५ राजाहरू को-को थिए हेरौं। यस सम्बन्धमा ऐनको दफा ३ को व्यवस्था हेरौं।
- १) सल्यानका राजा
- २) जाजरकोटका राजा
- ३) बझाङका राजा
- ४) मुस्ताङका राजा
- ५) भिर्कोटका राजा
- ६) दार्नाका राजा
- ७) बाजुराका राजा
- ८) थलाहारीका राजा
- ९) गलकोटका राजा
- १०) गुल्मीका राजा
- ११) गह्रौकोटका राजा
- १२) दुल्लुका राजा
- १३) मालनेतीका राजा
- १४) प्युठाना खुम्रिकोटका राजा
- १५) पर्वतका राजा
यी राजाहरू कसरी छानिन्थे?
शाह राजाहरूको उत्तराधिकारी जसरी चुनिन्छन्, त्यसैगरी यी अन्य राजाहरूको उत्तराधिकारी पनि चुनिने गर्दथे। ऐनको दफा ३ मा यो व्यवस्था थियो। उनीहरूले नेपालको सञ्चित कोषबाट अनन्तकालसम्म तलब-भत्ता र सेवा-सुविधा पाउने व्यवस्था थियो भने त्यसबापत उनीहरूले आफ्नो राज्यमा उठाएको कर श्री ५ को सरकारलाई बुझाउनुपर्ने सर्त लगाइएको थियो।
जसरी राजा त्रिभुवनको मृत्युपछि महेन्द्र राजा भए। महेन्द्रको मृत्युपछि उनको जेठो छोरा रवीन्द्र राजा हुनुपर्थ्यो तर गुरुङनीको कोखबाट जन्मिएको हुनाले उनले पाएनन् र राणाको कोखबाट जन्मिएका वीरेन्द्र नेपालको राजा भएका थिए। त्यसपछि वीरेन्द्रको वंश हत्यापछि ज्ञानेन्द्र नेपालको राजा भएका थिए। त्यसैगरी – ती साना राजाहरूको पनि जेठो सन्तान नै राजा हुने र कुनै विवाद भए शाह राजाले टुङ्ग्याउने भनिएको थियो। विक्रम सम्वत २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकले सर्वसहमतिमा नेपालमा २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य गरेसँगै नेपालमा शाहवंशका मात्र राजासँगै तमाम साना राजाहरूको शासन पनि अन्त्य भयो।
विक्रम सम्वत २०१७ मा प्रजातन्त्र हरण गरेर पञ्चायती शाही शासन थालेपछि तत्कालीन राजा महेन्द्रले यी साना राजाहरूको अधिकार आफूमा केन्द्रित गरेर – नगद तलब, भत्ता र सुविधा दिन थालेका थिए। त्यसबापत उनीहरूले शाहवंशीय राजतन्त्रको पक्षमा काम गर्नुपर्ने थियो।
दरबार हत्याकाण्ड र रहस्यहरू
राजा वीरेन्द्रको वंशहत्या कसले गर्यो? युवराज दीपेन्द्रलाई हत्यारा करार गर्न ज्ञानेन्द्र र उनको परिवारले २०६५ सालसम्म लगातार प्रयास गर्यो। युवराज दीपेन्द्रलाई हत्यारा र राजा वीरेन्द्रलाई नालायक राजा भनेर आफ्नो ओज बढाउने ध्याउन्नमा लागेको ज्ञानेन्द्रको परिवारले दरबार हत्याकाण्ड भएको २४ वर्षसम्म त्यो राजपरिवारलाई कहिल्यै सम्झेनन् मात्र होइन – यसबारेमा कसैले प्रश्न उठाए भौतिक कारबाहीका लागि निर्मलनिवासले लगानी गरिरहेको थियो। यो आरोपलाई पुष्टि गर्नेगरी – राजावादीहरूले जेठ १५ को प्रदर्शनमा पत्रकारमाथि अपमान र आक्रमणको दुस्साहस गरेर – लुकाउन हदैसम्मको हर्कत गरेका थिए।
अब दरबार हत्याकाण्डको भित्री कुरा गरौं – २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारभित्रै राजा वीरेन्द्रको वंश हत्या गरियो। भने ज्ञानेन्द्रको परिवारको शङ्कास्पद भूमिका र गतिविधिले घटनालाई अझ रहस्यमय बनाइदियो। उक्त घटनामा सहभागी रहेका व्यक्तिहरूको विवरण दरबारले लुकाइदियो। दीपेन्द्रलाई हत्यारा करार गराइयो तर अनुसन्धान गर्न मात्र होइन – प्रमाण सङ्कलन गर्न समेत रोक लगाइएको थियो। सुरुका समय रानी रत्नको आदेशमा सेनाले रोकेको भनिए पनि – पछि ज्ञानेन्द्रले त्यसैलाई निरन्तरता दिए। भने प्रधानमन्त्री गिरिजाको पनि त्यसमा सहमति रहेको अभिव्यक्ति तारानाथ रानाभाटले नै दिएका छन्। ज्ञानेन्द्र र गिरिजा किन मिले? मिलेका थिएनन् भने हत्याको खेलमा शङ्कास्पद भनिएका तिनै ज्ञानेन्द्रलाई किन राजा बनाइयो?
अन्ततः – ज्ञानेन्द्रलाई राजा नबनाइयोस् भनी खबरदारी गरिरहेका नेपाली जनतालाई अझ आक्रोशित र सशङ्कित तुल्याउँदै राज परिषदले अनौठो निर्णय गरिदियो। बाहिरबाट हेर्दा सोझा र भलाद्मी देखिए पनि गोप्य रूपमा रक्सी र चरेस खाने गरेको भन्ने शङ्कास्पद दाबीलाई आधार मानेरै हत्याको दोष दीपेन्द्रलाई लगाउने हो भने – पैसा र सत्ताका लागि जेसुकै गरेको भनिएका – अपराधिक पृष्ठभूमिका ज्ञानेन्द्र र खुल्लमखुल्ला रक्सी र लागुऔषधको मातमा हत्या र गोलीकाण्ड मच्चाउने पारस त प्रमाणित हत्यारा भए कि होइनन्? पारसले नेपालदेखि थाइल्याण्डसम्म के-के गरे? विगतमा ज्ञानेन्द्रका परिवारका सबै सदस्यले दीपेन्द्रलाई हत्यारा करार गराउन के-के गरे? उनीहरूले चरेस खाएर बेहोशीमा गोली हानेको भने पनि – कुनै लागुऔषध नखाएको भनेर डा. उपेन्द्र देवकोटाले खुलासा गरिदिएका थिए। डा. देवकोटाले भनेका थिए –
“राजपरिवारको आँखा छलेर मैले परीक्षण गरेको थिएँ।”
यसको अर्थ आवश्यक परीक्षण गर्न पनि किन प्रतिबन्ध लगाइयो? प्रतिबन्ध लगाइएको थिएन भने उनले किन गोप्य परीक्षण गर्नुपर्यो? त्यसो त एकजना दीपेन्द्रले आधा दर्जन बन्दुक चलाउँदै सारा वंश हत्या गरुन्जेल सेनाले के हेर्यो? पारस र उनको परिवारले के गर्यो? हत्याकाण्डको भोलिपल्ट – २० गते राज्य सहायक र २२ गते राजा भएपछि ज्ञानेन्द्रले तारानाथ रानाभाट र केशवप्रसाद उपाध्याय सम्मिलित कथित टिपोटकर्ताको समूहलाई छानबिन आयोग भनियो। तर हिमानी र पारस लगायतले भनेका कुरालाई – राजा दरबारले सम्पादन गरेर फेरि पनि दीपेन्द्रलाई हत्यारा करार गराइयो। तर यही काममा लागेका तारानाथ रानाभाट भन्छन् –
“हामीलाई घटनास्थल कस्तो थियो र त्यहाँ भएका भनिएका व्यक्तिहरूको भनाइ मात्र लिनु, अरू कुरामा हात नहाल्नु भन्ने कार्यादेश थियो।”
त्यति मात्र होइन झारा टार्ने खालको भए पनि – ज्ञानेन्द्र र रत्नले बोल्ने इन्कार गरे। यसको कारण के? अर्थात् त्यस दिन झूटो बोल्दा कुनै दिन कुरा बाझिने डरले उनीहरूले आफ्नो धारणा समेत सार्वजनिक गराएनन्। यति वर्षसम्म घटना दबाउन भूमिका खेलेका ज्ञानेन्द्र र हिमानीले आज २४ वर्षपछि राजा वीरेन्द्रको मृत्युमा शोक मनाएका छन्। भने दीपेन्द्रलाई हत्यारा पुष्टि गर्ने दुस्साहस गर्दै – काठमाडौंको कमलादीमा गरिएको भनिएको दीप प्रज्वलन र आत्माको शान्तिको कामना भनिएको कार्यक्रममा दीपेन्द्रको फोटो हटाएका थिए। तर दरबार हत्याकाण्डको सम्बन्धमा आएका तथ्यले दीपेन्द्रलाई हत्यारा भनी करार गर्ने आधार नरहेको बताइन्छ। घटनास्थल त्रिभुवन सदन तत्कालै भत्काउन आदेश दिएपछि ज्ञानेन्द्रमाथि थप आशङ्का बढायो भने – पोस्टमार्टम गर्न रोक्नुलाई अर्को आशङ्का मानिन्छ।
राजनीतिक दलहरूको भूमिका
तत्कालीन समयका पार्टीहरू एमाले र राप्रपाले ज्ञानेन्द्रलाई किन राजा बनाए? साताको नेतृत्व गरेको कांग्रेस र गिरिजाले किन ज्ञानेन्द्रको पक्षपोषण गरे? ज्ञानेन्द्रलाई किन राजा बनाए? ज्ञानेन्द्र राजा हुने बित्तिकै – दरबार हत्याको बाटो नै संविधानले बन्द गरिदिने यथार्थलाई किन मिलाउन सकिएन? ज्ञानेन्द्रको पक्षमा बोल्नेहरू भन्छन् – आफ्नै दाजु-भाउजु, भाइ, भतिजा कसरी मार्न सक्छ? यसर्थ ज्ञानेन्द्रले मारेको होइन। उनीहरूको भनाइ खण्डन गर्न विगतमा राजा र राणाहरूले गद्दी हत्याउन गरेका पारिवारिक हत्यालाई बिर्सने र ज्ञानेन्द्रकै समर्थकहरूले नै भनेको यही कुरा मान्ने हो भने – के दीपेन्द्रले चाहिँ आफ्नै बाउ, आमा, बहिनी र भाइको हत्या गरे? त्यसो त ज्ञानेन्द्र र उनको परिवार अनि काङ्ग्रेसीहरूले हत्याको दोष दीपेन्द्रलाई लगाउने प्रयास गरेको देखिन्छ। तर दीपेन्द्रलाई कन्चट र पछाडी ढाडमा कसले गोली हान्यो? यसको जवाफ दिन सकेका छैनन् किन? यदि दीपेन्द्रको अराजकता नियन्त्रण गर्न सेनाले वा पारसले, कसैले दीपेन्द्रमाथि गोली चलाएको थियो भने – सबैको हत्या गरिसकेपछि मात्र किन? सुरुमै किन नियन्त्रणको प्रयास गरिएन?
त्यसो त बेहोशी र अचेतमा रहेको भनिएका दीपेन्द्रलाई सेनाले तुरुन्त नियन्त्रणमा लिएर राजाको रक्षा गर्न सक्थ्यो। त्यसो त बेहोशीमा रहेको मान्छेले यस्तो सटीक निशाना असम्भव छ। तर पनि दीपेन्द्रलाई हत्यारा पुष्टि गर्न हिमानीले – दीपेन्द्रको फोटो हटाएको तस्बिरमा पूजा गरेर रहस्यहरू थपिदिएकी छिन्।
यति हुँदाहुँदै – ज्ञानेन्द्र र उनको परिवारले भने जस्तै दीपेन्द्रले नै मारेको पत्याइदिने हो भने पनि – के राजावादी, राप्रपा, ज्ञानेन्द्र शाह र उनको परिवारले भन्न सक्छन्? “दरबार हत्याकाण्डको अनुसन्धान नगरेकोमा मलाई पछुतो लागेको छ। विगतमा जेजति कमजोरी भए – त्यसप्रति आज म माफी माग्छु, र अहिलेको सरकारले अनुसन्धान गरोस् भनी जोडदार माग गर्दछु।” तर यसो भन्नु कहाँ हो कहाँ अनुसन्धान गरी देशमा आगो लाग्छ, देशलाई बङ्गलादेश बनाइदिन्छौ, इन्डियामा बिलय हुन्छ आदि, इत्यादि भनेर के सन्देश दिन खोजिएको हो? प्रश्न अनुत्तरित छ। दरबार हत्याकाण्डको अनुसन्धानका लागि राप्रपाले संसदमा माग नगर्ने, ज्ञानेन्द्रले समर्थन नगर्ने, र अनुसन्धानको बारेमा जिज्ञासा गर्दा राजावादीहरू यसैगरी पत्रकारमाथि नै आतङ्ककारी तवरले जाइलाग्नुले स्वतः पुष्टि गरेको त होइन? तपाईं भन्नुहोस् यो हत्या कसले गर्यो? त्यसो भए गिरिजा र ज्ञानेन्द्र मिलेका हुन्? राजपरिवार, सेना र विदेशी शक्ति को-को मिलेर हत्या गरे? ज्ञानेन्द्रको परिवारको संलग्नता छैन भने – कसले गरेको हो? यसबेला राजा हुन यत्रो दुस्साहस गर्ने ज्ञानेन्द्र कति कठोर, आटिलो र भयानक छन् भन्ने कुरा प्रष्ट हुन्छ। इन्डियन पक्षको लगातारको अभिव्यक्तिले इन्डियाको समर्थन प्राप्त रहेको प्रमाणित छ। के ज्ञानेन्द्रको संलग्नताको बचाउमा राजावादीले भने जस्तो – यो हत्या अमेरिकन सीआईए र इन्डियन रअले एक्लै गरेको हो? यदि त्यसो हो भने ज्ञानेन्द्रले सार्वजनिक रूपमा भन्न सक्नुपर्छ। जसरी माओवादी अध्यक्ष प्रचण्डले दरबार हत्याको नाइके ज्ञानेन्द्र हो भनेर कैयौं पटक भन्दै आएका छन्। ज्ञानेन्द्रको धारणा के? दीपेन्द्रलाई हत्यारा करार गर्ने प्रयास प्रमाणले असफल गराएपछि – ज्ञानेन्द्रको नयाँ तर्क र रणनीति के छ?
निष्कर्ष
ज्ञानेन्द्र निर्दोष छन् भने उनले दरबार हत्याकाण्डको अनुसन्धान गर्न माग गर्नुपर्छ। अन्यथा दीपेन्द्रलाई हत्यारा करार गरेर छुट्कारा पाउने सपना – आत्मघाती हुनेछ। त्यसो त ज्ञानेन्द्रले भने जस्तै दीपेन्द्रले बेहोशीमा चलाएको गोलीले वीरेन्द्रको मात्र वंश हत्या गर्यो भनेर पत्याइदिने हो भने पनि – त्यो कस्तो राजतन्त्र? राजाको एकजना छोराले एक दर्जन बन्दुकले – घण्टौंसम्म लखेटी-लखेटी आफ्नै परिवारको हत्या गर्दा समेत सेना वा परिवारका सदस्य कसैले रोक्न सक्दैन? राजतन्त्र यही हो? के वीरेन्द्रका लागि अभिशाप बनेको राजतन्त्र ज्ञानेन्द्रका लागि वरदान हुने रहेछ कि कसो? प्रश्नहरू अनुत्तरित छन्। ज्ञानेन्द्रले क्लिन चिट लिनुभन्दा थप षड्यन्त्र गर्दा आशङ्काहरू बढिरहेका छन्। माओवादीले २०५८ सालमा मुख खोल्यो। त्यसयता दर्जनौं पटक हत्याको नाइके ज्ञानेन्द्र भनेको छ। ज्ञानेन्द्रको जवाफ के? प्रमाण, तथ्य र तर्कलाई पुष्टि गर्ने आधारसहित ज्ञानेन्द्रले आफ्ना भनाइ बाहिर ल्याउनुपर्छ। अन्यथा खै खे भन्नु र खै! दरबार हत्याकाण्डको अनुसन्धानमा अवरोध गर्ने र अनुसन्धान गरिए देशमा आगो लगाइदिने भन्ने हो भने यसमा ज्ञानेन्द्रको र राजावादीको संलग्नता पुष्टि हुने छ।



